: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा प्रयोग हुने यन्त्र तथा उपकरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था नरहेको बताएका छन्।
ललितपुरमा आज आयोजित नेपाल कृषि मेशिनरी व्यवसायी संघको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषिलाई यन्त्रीकरण गर्दै जानुपर्ने आवश्यकता रहेको तर उपकरणको गुणस्तरीयतामा विश्वस्त हुने अवस्था नरहेको बताएका हुन्।
‘आफू स्वयमले किनेको हाते ट्याक्टर बिग्रिएर प्रत्येक वर्ष १० हजारभन्दा बढी खर्च गर्नु परेको वास्तविकता छ,’ ५० हजार हालेर किनेको मेसिन मर्मत गरिरहन किसानले खर्च धेरै गर्न परिरहेको छ यो अवस्थाको अन्त्य हुनुपर्छ,’ मन्त्री अधिकारीले भने।
किसानहरूलाई कृषि उपकरण खरिद गर्दा गुणस्तरमा निश्चिन्त भएर गर्न मन्त्री अधिकारीले आग्रह गरे। कृषि यान्त्रिकीकरणको प्रवर्द्धनमा व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको र अव यस्ता यन्त्र उपकरण स्वदेशमै बनाउन पहल गर्न व्यवसायीहरूलाई मन्त्री अधिकारीले आग्रह गरे।
उत्पादन लागत घटाउन, उत्पादकत्व बढाउन र दिगो कृषि प्रणाली सुनिश्चित गर्न यान्त्रिकीकरणलाई प्राथमिकता दिँदै सरकार अघि बढेको मन्त्री अधिकारीको भनाइ छ। आधुनिक कृषि यन्त्र तथा उपकरणहरूमा अनुदानका कार्यक्रमहरू निरन्तर सञ्चालनमा ल्याएका कारण उत्पादन वृद्धि भइरहेको उनले बताए।