— उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालमा निरंकुश शासनमा भन्दा पनि लोकतान्त्रिक शासन व्यवस्थामा विकासले फड्को मारेको बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नेपालले लोकतन्त्र आएपछि फड्को मारेको बताए । शिक्षा क्षेत्रमा विगतको भन्दा हाल स्थिति राम्रो हुँदै गएको उनको भनाइ थियो ।
नेपालको शिक्षा गुणस्तरीय बन्दै गरेको बताउँदै उपप्रधानमन्त्री सिंहले नेपाली शिक्षाको गुणस्तर कमजोर रहेको भन्ने भाष्यमा कुनै सत्यता नरहेको बताए । सबैले सकारात्मक सोच राखेर अघि बढ्दा सफलता हासिल हुने उनको आग्रह थियो ।
‘नेपालको शिक्षा प्रणालीमा गुणस्तर छैन भनेर हल्ला गरिरहेका छन् । वास्तवमा हामीले बुझ्नुपर्ने भनेको के हो भने नेपालमा पनि राम्रा एजुकेसन इन्स्टिच्युट बनिसकेको छ,' उनले भने । समयको मागबमोजिम शिक्षा दिनुपर्ने उनको भनाइ थियो । 'नेपालको राजनीतिक परिवर्तन हामीले देख्यौँ । डेमोक्रेटिक सिस्टम आइसकेपछि अटोक्रेटिक सिस्टम भन्दा डेमोक्रेटिक सिस्टममा सोसाइटीले धेरै फड्को मारेको छ । एजुकेसनकै कुरा गर्दा ६० वर्ष अघिको नेपालको एजुकेसको स्टाटस र अहिलेको स्टाटसमा धेरै परिवर्तन आएको छ । हेराईमा सकारात्मक कुरा राखेर काम अघि बढाएको खण्डमा राम्रो हुन्छ,’ उनले भने ।
उपप्रधानमन्त्री सिंहले अहिले पाएका अवसर सदुपयोग गरेर अघि बढ्नु नै सबैका लागि हितकारी हुने बताए ।