: तस्करी समूहले रुट परिवर्तन गरी गाँजा तस्करी गरिरहेको खुलासा भएको छ। तस्कर समूहले धनकुटाबाट सुनसरी धरानको बाटो हुँदै मोरङ नाकाहरूबाट भारत पठाउँदै आइरहेको गाँजा अहिले इलामको रुट बनाएर झापाको बाटो प्रयोग गरी लैजान थालेको पाइएको छ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले शुक्रबार दिउँसो ४:२० बजेको समयमा झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गबाट करिब १६ सय ३६ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएपछि यस्तो खुलासा भएको हो।
इलामबाट झापातर्फ आउँदै गरेका को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरको मिनी ट्रकलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालयबाट खटिएका एसपी विक्रम होमागाईको कमान्डमा खटिएको ६ जनाको विशेष अनुगमन टोली र नम्बर २ गण झापा मातहत सुरक्षा वेश टिमाईबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा ५७ वटा बोरा गाँजा बरामद गरेको छ।
सशस्त्रले ट्रकसहित दुईजना पक्राउ समेत गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटाको शहिदभूमि गाउँपालिका–४ का २८ वर्षीय महेश राई र इलाम माईजोगमाई गाउँपालिका–२ का ३७ वर्षीय गंगाबहादुर बस्नेत रहेका छन्।
ट्रकहरूलाई नियन्त्रणमा लिने क्रममा ४ जनामध्ये दुई जना फरार भएको जनाइएको छ। पक्राउ परेकाहरूको साथबाट नेपाली ८७ हजार ८ सय ८० रुपैयाँ र ५ थान मोबाइल सेट बरामद भएको छ। पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा बुझाइसकेको जनाइएको छ।
सुनसरी प्रहरीले सयौँ केजी गाँजासहित दर्जनौँ बढी सवारी साधन नियन्त्रणमा लिएपछि तस्कर समूहले नयाँ योजना बनाएर गाँजा तस्करी गरिरहेको स्रोतको दाबी छ। सोही योजना अनुरूप तस्कर समूहले धनकुटाको गाँजा इलाम हुँदै झापाबाट लगिरहेका थिए। सोही सूचना सशस्त्रले पाएपछि बाहिनीबाट खटिएका टोलीले झापामा आएर दुई ट्रकसहित ठूलो मात्रामा गाँजा बरामद गर्न सफल भएको हो।