मुख्य समाचार
अमेरिकी प्रशासनले अण्डाको हालसम्मकै उच्च मूल्य घटाउने उद्देश्यले टर्कीए र दक्षिण कोरियाबाट अण्डा आयात गर्ने
अमेरिकी प्रशासनले अण्डाको हालसम्मकै उच्च मूल्य घटाउने उद्देश्यले टर्कीए र दक्षिण कोरियाबाट अण्डा आयात गर्ने

— अमेरिकी प्रशासनले अण्डाको हालसम्मकै उच्च मूल्य घटाउने उद्देश्यले टर्कीए र दक्षिण कोरियाबाट अण्डा आयात गर्ने भएको छ । त्यसका साथै अण्डा भित्र्याउनका लागि अन्य देशहरूसँग पनि वार्ता भइरहेको अमेरिकी अधिकारीहरूले बताएका बीबीसीले जनाएको छ ।

‘हामी छोटो अवधिका लागि करोडौं अण्डा भित्र्याउने कुरा गरिरहेका छौं,’ कृषिमन्त्री ब्रुक रोलिन्सले ह्वाइट हाउसमा पत्रकारहरूसँग भने । बर्डफ्लूको महामारीका कारण पछिल्लो समय अमेरिकी किसानहरूले करोडौं कुखुरा नष्ट गर्न बाध्य भएका छन् । ट्रम्प प्रशासनले बर्डफ्लूको महामारीसँग लड्न गत महिना १ अर्ब अमेरिकी डलरको योजना घोषणा गरेको थियो ।


राष्ट्रपति ट्रम्पले चुनावी अभियानका क्रममा अण्डाको मूल्य घटाउने वाचा गरेका थिए । तर गत वर्ष अण्डाको मूल्य ६५ प्रतिशत भन्दा बढीले बढेको छ । सन् २०२५ मा यो ४१ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

मन्त्रालयले नयाँ आपूर्ति सुरक्षित गर्न अन्य देशहरूसँग पनि वार्ता गरिरहेको कृषिमन्त्री ब्रुक रोलिन्सको भनाइ छ । तर उनले कुन-कुन देशहरूसँग कुरा भइरहेको छ भन्ने उनले प्रस्ट पारिनन् । ‘जब हाम्रो कुखुराको संख्या पुन: बढ्छ र हाम्रा लागि आवश्यक अण्डा उत्पादन देशमै हुन्छ । त्यसपछि हामी आन्तरिक स्रोतमै फर्कनेछौं,’ उनले भनिन् ।

समाचार संस्था एएफपीका अनुसार पोल्याण्ड र लिथुआनियाका कुखुरा संघहरूले सम्भावित अण्डा निर्यातका विषयमा अमेरिकी दूतावासहरूले सम्पर्क गरेका जनाएका छन् ।


‘फेब्रुअरीमा पोल्याण्डको वार्सामा रहेको अमेरिकी दूतावासले पोल्याण्ड अमेरिकी बजारमा अण्डा निर्यात गर्न इच्छुक भए/नभएकोबारे हाम्रो संस्थालाई सोधेको थियो,’ राष्ट्रिय पोल्ट्री र फिड उत्पादकहरूको निर्देशक काटारजिना गावरोन्स्काले एएफपीसँग भनेकी छन् ।

अमेरिकी कृषि मन्त्रालयले फेब्रुअरीमा अण्डाको मूल्य सम्बोधन गर्न १ अर्ब डलरको पाँच-बुँदे योजना अघि सारेको छ । यसमा जैविक सुरक्षा उपायहरूका लागि ५० करोड, खोप अनुसन्धान र विकासका लागि १० करोड र किसानहरूको वित्तीय राहत कार्यक्रमका लागि ४० करोड मिलियन डलर बजेट छुट्याइएको छ । Why did the egg frenzy happen in America?



ट्रम्प प्रशासनले व्यावसायिक अण्डा फार्महरूलाई नि:शुल्क उत्तम अभ्यास र परामर्श सेवाहरू प्रदान गर्ने र बर्डफ्लूको फैलावट रोक्नका लागि कमिकमजोरी सम्बोधन गर्न लागतको ७५ प्रतिशतसम्म भुक्तानी गर्ने जनाएको छ ।

‘हाम्रो योजना देशभरको अवस्थाबारे अध्ययन गर्न उल्लेखनीय रकम लगानी गर्ने छ । त्यसो गर्दा यूएसडीएले अण्डा दिने कम्पनीका खोर सुरक्षित गर्न मद्दत पुगेको छ,’ रोलिन्सले भनिन्, ‘र हामीले त्यसो गर्न थालेदेखि बर्डफ्लूमा उल्लेखनीय गिरावट देखेका छौं ।’

यद्यपि एभियन फ्लू, वा ‘एच५ एन१’ वर्षौंदेखि अमेरिकी कुखुराका बथानमा फैलिएको छ । सन् २०२२ मा सुरू भएको प्रकोपले फार्महरूमा विनाश मच्चाएको छ । जसका कारण १५ करोड ६० लाख भन्दा बढी कुखुरा नष्ट गरिएको छ भने अण्डाको मूल्यले आकाश छोएको छ ।

गत वर्षको राष्ट्रपतीय चुनावमा ट्रम्पले अण्डाको मूल्यलाई मुख्य मुद्दाका रूपमा उठाएका थिए । अभियानमा उनले अत्यावश्यक वस्तुहरूको बढ्दो मूल्यका कारण निराश मतदाताहरूको समर्थन जुटाउन सफल भएका ठानिएको छ ।

यसै महिनाको सुरूमा अमेरिकी कंग्रेसलाई सम्बोधन गर्दै ट्रम्पले अण्डाको बढ्दो मूल्यको दोष आफ्ना पूर्ववर्ती जो बाइडेनलाई लगाएका थिए । ‘जो बाइडेनले विशेष गरी अण्डाको मूल्य नियन्त्रण बाहिर जान दिए । र, हामी यसलाई फेरि घटाउन कडा मेहनत गरिरहेका छौं,’ उनले भनेका थिए ।

बाइडेन प्रशासनले गत वर्ष बर्डफ्लूको प्रकोपबीच अण्डा दिने लाखौं कुखुरालाई मार्ने निर्देशन दिएपछि अण्डाको मूल्य अकासिएको थियो । यद्यपि ट्रम्पको दोस्रो राष्ट्रपतीय कार्यकालको प्रारम्भिक चरणहरूमा मूल्य थप बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानले गाजामा सेना पठाउने चर्चा चलिरहेको छ। बीबीसी उर्दूका अनुसार यस सम्बन्धमा सोधिएको प्रश्नमा पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफले सरकारले कुन संरचनाअन्तर्गत सेना पठाउने भन्ने कुरामा निर्भर हुने बताए। शान्ति सम्झौताअन्तर्गत पाकिस्तानले गाजामा सेना पठाउने कि नपठाउने भन्ने बारेमा मिडियामा बहस चलिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २०-बुँदे शान्ति योजनाले गाजामा स्थिरता र ...
— तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसनले कडा सुरक्षाबीच दोस्रो कार्यकालका लागि शपथ लिएकी छिन् । शनिबार सार्वजनिक मतपरिणामअनुसार ९८ प्रतिशत मत ल्याएर उनी विजयी भएकी हुन् । यद्यपि, विपक्षीहरूले यसलाई झुठो र देखावटी निर्वाचनका रुपमा टिप्पणी गरेका छन् । अधिकांश विपक्षी दलहरूले यस निर्वाचनमा सहभागिता जनाएका थिएनन् । कतिपय विपक्षीलाई सहभागी हुनबाट रोक लगाइएको थियो ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् । उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’ हालैका ...
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...