: तरकारीको झोलाभित्र लागूऔषध ब्राउन सुगर ल्याउने दुई युवक मेची पुलमा पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा इलामको माई नगरपालिका–५ का अन्दाजी ३३ वर्षीय भूपेन्द्र लावती र बिर्तामोड नगरपालिका–५ का अन्दाजी २३ वर्षीय राजीव चौधरी रहेका छन्।
सोमबार साँझ पौने ७ बजे मे ६ प ९९७७ नम्बरको मोटरसाइकल सवार उनीहरू भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा वडा प्रहरी कार्यालय भद्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भद्रपुर नगरपालिका ५ स्थित मेची पुलमा रोकेर चेकजाँच गरेका थिए।
मोटरसाइकलको पछाडि सवार चौधरीले बोकेको तरकारी झोलाभित्र प्लास्टिकले पोका पारेर लुकाइछिपाई ल्याएको ९ ग्राम १९ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। ब्राउन सुगरसहित पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाही लागि जिल्ला प्रहरी कार्यालय झापा पठाउने जनाइएको छ।