: बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना लाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट जिल्ला, ककनी गाउँपालिका-४ स्थायी ठेगाना भई हाल काठमाडौं, नागार्जुन नगरपालिका-६ रामकोट बस्दै आएका ३६ वर्षीय बिराज तामाङलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार इन्दिरा खड्का लगायतका व्यक्तिहरूको जाहेरीका आधारमा दायर भएको बैकिङ कसुर मुद्दामा उनी फरार रहेका थिए। उनीविरूद्ध एक करोड ४६ लाख ४४ हजार रुपैयाँ बराबरको बिगो रहेको आचार्यले बताए।
उनलाई अनुसन्धानका लागि महाराजगन्ज प्रहरी वृत्तमा पठाइएको छ। तामाङको नाममा अन्य प्रहरी कार्यालयहरुमा समेत नौ वटा मुद्दा दर्ता भई फरार रहेको अभिलेखबाट देखिन आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।