— सशस्त्र प्रहरी बलले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ। खोटाङ लामिडाँडा-७ का २१ वर्षीय सागर श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका-५ खोलेसिमलका ४५ वर्षीय लक्ष्मी परियारलाई करिब ७ किलोग्राम पोलाइन्ड नामक लागूऔषधसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।
लागूऔषध किनबेच गरिरहेको भन्ने सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा बिहीबार काठमाडौं महानगरपालिका-९, सिनामंगलबाट उनीहरूलाई पक्राउ गरिएको डीएसपी थापाले बताए।
थापाका अनुसार पक्राउ गरिएका व्यक्तिले प्रयोग गरिरहेका दुईवटा मोटरसाइकल, छवटा मोबाइल फोन र नगदसमेत बरामद गरिएको छ। यसअघि, सशस्त्र प्रहरीले १ फागुनमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ जोरपाटीस्थित नयाँ बस्ती र भदौ २२ गते काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट ५/५ किलोग्राम पोलाइन्डसहित तीनजनालाई नियन्त्रणमा लिएको थियो।