— नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले गणतन्त्रका कमीकमजोरी सच्याउँदै नेपाली विशेषताको समाजवादमा जान चाहेको बताएका छन् ।
समाजवादी मोर्चाले काठमाडौंमा शुक्रबार गरेको शक्ति प्रदर्शनसभामा उनले मुलुक अब प्रतिगमनतिर फर्कन नसक्ने बताए । ‘गणतन्त्र नेपाली जनताका लागि पर्याप्त छैन, केही कमजोरी छन् । हामी अघि जान खोजेका छौं,' उनले भने, 'इतिहासले ढोका खोल्दै छ । अब गणतन्त्रको समीक्षा गर्नुपर्छ । इतिहास फेरि फर्किंदैन ।’
इतिहासमा कहिलेकाहीँ ठूला गल्ती हुने भन्दै उनले नेपाल षडयन्त्रमा पर्ने देश पनि भएको बताए । 'यहाँ कुन प्रवृत्ति घुसेका छन्, नेपाली जनताले बुझ्नुपर्छ । शक्ति केन्द्रको दबाबमा साना देश पर्दै गएका छन्,’ उनले भने, ‘अग्रगामी शक्तिले नयाँ ढंगले सोच्नुपर्छ । समाधान खोजेर अघि बढ्नुपर्छ । अबको आवश्यकता नेपाली विशेषताको समाजवाद नै हो ।’