— नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले सत्ता गठबन्धनले समानुपातिक समावेशी व्यवस्था हटाउन खोजेको आरोप लगाएका छन् ।
समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा गरेको सभामा उनले सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने बताए । ‘अहिले सरकारबाट समानुपातिक समावेशी हटाउन खोजिँदै छ । एउटा घर भत्कियो भने संविधान अपुरो हुनेछ । समाजवादतिर देशलाई अगाडि बढाउने हो,' उनले भने, 'नेपाली जनतालाई सम्पन्नतामा अघि बढाउने हो ।'
संविधान संशोधनमा केके विषय राख्ने भन्नेमा सरकारको ध्यान नरहेको उनले बताए । सहमतिका आधारमा संविधान संशोधनको बाटोमा अघि बढ्न पनि उनले आग्रह गरे ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर आउन पनि चेतावनी दिएका छन् । ‘पार्टी खोलेर पूर्वराजा आए हुन्छ । प्रतिगामी शक्तिले संविधानमाथि हमला गरिरहेका छन्,’ उनले भने ।