: सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेको एक ताल र ११ वटा पोखरी ठेक्काको बाँकी रकम बुझाउन ठेकेदारले आनाकानी गरेका छन्।
म्याद सकिए पनि ठेकेदारले बाँकी राखेको रकम बुझाउन आनाकानी गर्दै आएको पालिकाले जनाएको छ। पालिकाले पटक/पटक ताकेता गर्दा पनि ठेकेदारहरूले रकम नबुझाएका हुन्।
ठेकेदारहरूले पालिकालाई करसहित ३ करोड ४१ लाख १४ हजार ६ सय १५ रुपैयाँ बुझाउन बाँकी छ। नाढीमन ताल र विभिन्न वडामा रहेको ११ वटा पोखरी ठेक्काको रकम ठेकेदारहरूले बुझाउन बाँकी राखेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए।
पालिकाको मुख्य आम्दानीको स्रोत नै पोखरी ठेक्काबाट आउने रकम रहेको अध्यक्ष महतोले बताए। ठेक्काको रकम नआउँदा पालिकाको विकास निर्माणदेखि अन्य कामकाज समेत प्रभावित बनेको छ। पैसा उठाउने विषयमा प्रमुख जिल्ला अधिकारीलाई पनि आग्रह गरेको उनको भनाइ छ।
फोनबाट ताकेता ठेकेदारहरूले उल्टै धम्की दिने गरेको महतोले बताए। कोरोनामा व्यापार नभएको र बाढी पसेर माछा बगायो भन्दै ठेकेदारले छुट पाउनु पर्ने माग गर्दै आएका छन्। यता विपक्षीहरूले राजस्व घाटा गरायो भनेर आफूविरुद्ध मुद्दा हालेको महतोले गुनासो गरे।