— अन्नपूर्ण आधारशिविर (एबीसी)बाट फर्कने क्रममा हिमपहिरोमा बेपत्ता चिनियाँ पदयात्रीको शव फेला परेको छ । चैत ११ मा अन्नपूर्ण गाउँपालिका-११ देउरालीस्थित चुम्रुङमा हिमपहिरामा बेपत्ता २८ वर्षीय चेङ युआनको शव शनिबार फेला परेको हो ।
उनी सम्पर्कमा नआएपछि सुरुमा स्थानीय र नेपाल प्रहरीको टोलीले खोजी गरेको थियो । त्यसपछि चैत १६ मा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका गण पोखराबाट सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा विशेष विपद् उद्धार टोली खोजीमा खटिएको थियो ।
चुम्रुङस्थित मोदी नदी किनारबाट २० मिटर उत्तरतर्फ झोलासहित घोप्टो परेको अवस्थाना शनिबार बिहान शव भेटिएको कालिका गणका गणपति एसपी सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिए । घटनाको जानकारी पाएपछि युआनको परिवार नेपाल आएको छ ।
त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगन्जमा पोस्टमार्टमपछि शवलाई परिवारको जिम्मा लगाउने तयारी छ ।