: प्रहरीले भारतीय एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध लागूऔषध बरामद गरेको छ।
गएराति १ बजेर ५५ मिनेटमा ललितपुरको बागमती गाउँपालिका–३ छपेलीमा रहेको चेकपोष्टमा चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौंतर्फ आइरहेको भारतीय एम्बुलेन्सबाट ठूलो परिमाणमा अवैध लागूऔषध बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।
मकवानपुरबाट कान्तिलोकपथ हुँदै काठमाडौं आउँदै गरेको बिआर ०५ प ०४२१ नम्बरको एम्बुलेन्समा लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए।
एम्बुलेन्समा ९४ हजार ८० वटा ट्याब्लेट ट्रामाडोल बरामद गरिएको हो। लागूऔषध कारोबारमा संलग्न चार जनालाई पक्राउ गरिएको उनले जानकारी गराए।
पक्राउ पर्ने सबै भारतीय नागरिक हुन्। एम्बुलेन्समा एक बालक र एक बालिका समेत रहेका थिए। बिरामीलाई उपयोग गरेर लागुऔषध ओसारपसार भएको देखिएको प्रहरीले जनाएको छ।