— नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा अरुले फाइदा उठाउन खोजेको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टीनिकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले पूर्वराजा शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको प्रसंग सुनाउँदै यस्तो बताएका हुन् ।
तीनकुने घटनापछि ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकले बीबीसी नेपालीसँगको कुराकानीमा ज्ञानेन्द्र 'गणतन्त्र उल्टाउने' नभनेको बताएका थिए । 'सबै मिलेर देश बनाउन मलाई पनि साथ देऊ भनेको त हो। त्यसको निम्ति म अझैँ त्याग गर्न तयार छु पनि भनेकै छ, वक्तव्यमा आन्दोलन गरौँ, देश बिगारौँ, गणतन्त्र फालौँ त भनेको छैन नि,' पाठकले भनेका थिए । यही प्रसंग उल्लेख गर्दै अध्यक्ष नेपालले पूर्वराजाको नाम लिएर अरुले फाइदा उठाउन खोजेको भन्दै राजनीति गर्ने भए पार्टी खोलेर चुनावमा आउन पूर्वराजालाई सुझाव दिएका हुन् ।
'एउटा राम्रो कुरा मैले सुनेँ । राम्रो कुरा के हो भने त्यो उनको पूर्वराजाको सचिव एक जनाले बोलेको कुरा सही हो भने, मलाई थाहा छैन । अहिले राजा फर्काउने कुरा छैन, राजाको इच्छा पनि होइन । पूर्वराजाको इच्छा पनि होइन । बाहिरको हल्ला मात्रै हो भने पनि अलिकति मन शान्त भएको छ । अरुले पनि फाइदा उठाउन खोजेका रहेछन्,' अध्यक्ष नेपालले भने । जनताको कल्याण गर्नै मन भए पार्टी खोल्न पनि नेपालले सुझाव दिए । 'राजनीति गर्नु छ भने पार्टी खोल्नुस् । राजनीतिक मैदानमा आउनुस् । जनताको बीचमा जानुस् । चुनावमा जितेर बहुमत ल्याउनुस् । देश र जनताको कल्याण गर्नुहुन्छ भने खुसीकै कुरो,' उनले भने ।
गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने पनि अध्यक्ष नेपालको भनाइ छ । अध्यक्ष नेपालले भन्नुभयो, 'राजालाई फर्काउने कोसिस गरिरहेका छन् । राजतन्त्रलाई फेरि नेपालमा फर्काउने कुरा गरिरहेका छन् । राजा आएर हुन्छ के ? राजाहरूले हिजो के काम गरेका थिए र उनलाई ल्याउनुपर्यो ? उनले देशको विकासलाई कुन नयाँ बाटोमा लिएर गएका थिए ?'