— नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम ठप्प भएको आइतबार २२ दिन पुग्यो । अझै कहिलेबाट निर्माण सुरु हुन्छ, अन्योल कायमै छ । स्थानीयको अवरोधकाकारण सुरुङको निर्माण ठप्प बनेको हो । काम सुरु गर्न न सरकारबाटै कुनै प्रयास भएको छ न स्थानीयले सहजीकरण नै गरेका छन् ।
नेपालकै पहिलो सडक सुरुङमार्ग सञ्चालनमा आउने अन्तिम तयारीमा रहेकै बेला काम रोकिँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्थानीय निकाय उदासिन बनेको छ । सामान्य औपचारिकता पूरा गर्न मात्र समाधानको पहल गरिए पनि दिगो समाधानमा कसैले प्रयत्न नगर्दा मुलुकको पहिलो सडक सुरुङमार्गको काम अघि बढ्न सकेको छैन ।
आयोजनाले प्रायः पुरा गरिसकेका मागहरु दोहोर्याउँदै स्थानीयले काममा अवरोध गरेका हुन् । निर्माणको काम अन्तिम चरणमा रहेका बेला स्थानीयको अवरोधकाकारण निर्माणको समयावधी पछि धकेलिएको आयोजनाले जनायो । स्थानीयले पूरा भइसकेका माग व्यवस्थित गर्नुपर्ने भन्दै चैत ३ देखि काम गर्न दिएका छैनन् । अहिले काठमाडौं र धादिङ दुवैतर्फ काम रोकिएको छ । पटक–पटक वार्तकालागि बोलाउँदा पनि स्थानीयहरु नआएपछि समस्या भएको नागढुंगा–सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए ।
‘हामीले पत्र पठाएरै वार्तामा आउन भन्दा पनि उहाँहरू आउनु भएको छैन, वार्ताबाट समस्याको समाधान गर्ने प्रयास गरीनै रहेका छौं,’ उनले भने, ‘कसरी निर्माणको काम अगाडि बढाउने भन्नेबारे सडक विभागमा छलफलकै क्रममा छौं । माग पूरा गर्नेगरी आयोजनाले सम्बन्धित निकायमा पठाउने भएकाले निर्माणको काम गर्न दिनुभन्दा पनि स्थानीयले नदिएको उनको भनाई छ । स्थानीयले अवरोध गरेको महिना दिन हुन लाग्यो,अहिलेसम्म समाधान निकालिएको छैन ।
पटक–पटक स्थानीयले निर्माणमा अवरोध गर्दा पनि मन्त्रालयले तत्कालको समाधानका लागि पहल गर्ने गरेको पाइएको छैन । यसअघि पनि महिना दिनसम्म काम रोकिँदा सम्बद्ध निकाय उदासिन बनेको थियो । निर्माण व्यवसायीले काम रोकिएको अबधीको क्षतिपूर्ति दाबी गरे दैनिक करिब ५० लाखका दरले सरकारले तिर्नुपर्ने जोखिम छ । आयोजनाले पूरा गर्छु भनेका मागसमेत पूरा नगरिदिएपछि स्थानीयले काम रोकेको दाबी चन्द्रागिरी नगरपालिकास्थित वडा नम्बर २ का वडा सदस्य लवराम सुवेदीको छ ।
‘वडामा भइरहेका समस्याको समाधान नगरिदिँदा यस्तो भएको हो,’ उनले भने, ‘हामीले पत्र पठाएर स्थानीयका मागबारे सम्बन्धित निकायलाई जानकारी पनि गराएका छौं,आयोजना सुरु हुँदादेखि उठाइएका माग निर्माण सम्पन्न हुन लाग्दासम्म पूरा भएका छैनन ।’ छिटो–छिटो मन्त्री फेरिरहँदा स्थानीयको मागकाबारेमा उनीहरू कम जानकार हुँदा पनि समस्या भएको उनको भनाइ छ । खानेपानीका मुहान सुकेर अहिले आयोजनाले पानीको व्यवस्था गरिदिएको छ । तर भोलीका दिनमा त्यसको शुल्क तिर्नुपर्ने र सबैले पानीको पैसा तिर्न सक्ने अवस्था नभएको उनले बताए । ‘सरकार स्थानीयका मागप्रति गम्भीर भएर निर्णय गरिदिए कुनै समस्या हुने थिएन,’ उनले भने ।
छिटोछिटो आयोजना प्रमुख फेरिरहँदा पनि तत्काल आयोजनामा देखिने समस्या समाधान गर्न कठिन हुने गरेको छ । अहिले आयोजना प्रमुखविहीन छ । आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाको सूर्यविनायक–धुलिखेल सडक आयोजनामा सरुवा भएपछि नागढुंगा–सुरुङमार्ग निर्माण आयोजना प्रमुखविहीन बनेको हो ।
२०८२ असोजभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी काम भइरहेको थियो । तर बिचैमा स्थानीयले काममा अवरोध गरिदिएपछि समस्या थपिएको हो । अहिले सुरुङभित्र लाइटिङ, भेन्टिलेसन, कंक्रिट सडक निर्माणलगायत काम अन्तिम चरणमा छन् । बलम्बुस्थित किसिपिडी क्षेत्रमा निर्माणको अन्तिम चरणमा रहेको फ्लाइओभरको काम पनि ठप्प बनेको छ । चन्द्रागिरि–२ टुटीपाखाका स्थानीयले परियोजनामार्फत भइरहेका तथा चालु रहेका कार्यक्रम या परियोजनाबाटै निरन्तर सञ्चालन गर्नुपर्ने वा सडक विभागमार्फत सञ्चालन गरिनुपर्ने माग अघि सारेका छन् ।
स्थानीयले सुरुङ निर्माणमा अवरोध गरेको यो पहिलो घटना भने होइन । निर्माण सुरु भएदेखि धादिङ र काठमाडौं दुवै जिल्लाका स्थानीयले पटक–पटक काममा अवरोध गर्दै आएका छन् । आयोजना सकिएपछि पनि निःशुल्क खानेपानीको व्यवस्था गर्नुपर्ने, चर्किएका घरको उचित क्षतिपूर्ति दिनुपर्ने, योग्यता र क्षमताका आधारमा प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राख्दै स्थानीयले काममा अवरोध गरेका हुन् ।
२०७६ कात्तिक ४ मा सुरु भएको सुरुङमार्गको भौतिक प्रगति ८७ प्रतिशत पुगेको छ । आपतकालीन सुरुङको दूरी २,५५७ मिटर छ भने मुख्य सुरुङ २,६८८ मिटर लामो छ । हाल नागढुंगा सडक खण्ड भएर दैनिक १० हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । परियोजनाको कुल ठेक्का रकम २२ अर्ब रुपैयाँ छ, जसमा जापानको साढे १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।