मुख्य समाचार
योगेश भट्टराईले आन्दोलनरत शिक्षकलाई काममा फर्किन आग्रह
योगेश भट्टराईले आन्दोलनरत शिक्षकलाई काममा फर्किन आग्रह

: नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले आन्दोलनरत शिक्षकलाई काममा फर्किन आग्रह गरेका छन्। आन्दोलन छाडेर विद्यालय फर्किएर काममा लाग्न उनले शिक्षकहरूलाई आग्रह गरेका हुन्।


शिक्षकहरूले राखेका मागमा सरकार र सरकारमा रहेका दलहरू संवेदनशील रहेको स्मरण भट्टराईले गराएका छन्। ‘विद्यालय र आफ्नो गाउँ फर्किएर शैक्षिक क्रियाकलापलाई नियमित रूपमा अघि बढाउन म शिक्षक साथीहरूलाई विनम्रतापूवर्क अपिल गर्दछु,’ उनले भने। विराटनगर विमानस्थलमा सोमबार अन्नपूर्णसँग संक्षिप्त कुराकानी गर्दै भट्टराईले विद्यालय शिक्षा विधेयकलाई संसदको आगामी बर्खे एवं बजेट अधिवेशनमा जसरी पनि अघि बढाइने उल्लेख गरे।




‘संसदको आगामी अधिवेशन सुरु भएको १ हप्ताभित्र विधेयक प्रस्तुत गर्छौं। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट ऐनका रूपमा पारित गराउँछौं,’ उनले भने, ‘अहिले शैक्षिक क्षेत्रलाई अन्योलमा पारेर शिक्षकहरू सडकमा आइरहनुपर्ने अवस्था हैन। उहाँहरू चाँडो गरेर काममा फर्किनुपर्छ।’ एमाले सचिव भट्टराईले लोकतान्त्रिक गणतन्त्र ल्याउन शिक्षकहरूको ठूलो भूमिका रहेको स्मरण गरे।

‘लोकतान्त्रिक गणतन्त्र ल्याउन शिक्षकहरूले ठूलो भूमिका खेल्नुभएको छ। अहिले व्यवस्था र संविधानमाथि धावा बोलिरहेका बेला शिक्षकहरू सडकमा आएर थप दबाब र अन्योलता सिर्जना गर्ने कुरा त्यति उचित हुँदैन। थाइल्याण्ड भ्रमणबाट फर्किने वित्तिकै प्रधानमन्त्रीले शिक्षकहरूको मागप्रति सकारात्मक धारणा दिइसक्नु भएको छ। उहाँहरूको मागमा सबै दलहरू सकारात्मक छन्। छिटोभन्दा छिटो विधेयक पास गर्नुपर्छ भन्नेमा कुनै दुईमत छैन,’ उनले भने।

विधेयकलाई छिटो टुंग्याउँदै संसदबाट पास गराउनुपर्ने लगायतका माग राखेर नेपाल राष्ट्रिय शिक्षक महासंघको आह्वान र विभिन्न शिक्षक संघ संगठनसमेतको सहभागितामा शिक्षकहरूले आन्दोलन अगाडि बढाइरहेका छन्। शिक्षकले गरिरहेको काठमाडौं केन्द्रित आन्दोलनप्रति सरकार र सरकारमा रहेका दलहरू संवेदनशील रहेको भट्टराईले बताए।
‘शिक्षकको आन्दोलतप्रति सरकार र विभिन्न पार्टीहरूको गम्भीर ध्यानाकर्षण भएको छ। उहाँहरूको माग जायज छन्। ऐन चाँडै बनाउनुपर्ने थियो। ढिलाइ भएकाले प्रदेश र स्थानीय तहले पनि ऐन बनाउन पाएनन्। शिक्षकहरूको वृत्ति विकास र पदोन्नतिका कुराहरु छन्,’ उनी भन्छन्। उनले सत्तारुढ दलका तर्फबाट शिक्षकहरूसँग पटक-पटक अनौपचारिक संवाद गरिएको जानकारी दिए।

भट्टराईले वार्ताबाट समस्याको समाधान खोज्न पनि शिक्षकहरूलाई आग्रह गरे। ‘सरकारले उहाँहरूलाई छलफलमा बोलाएको छ। तर, छलफलमा आउन मानिरहनुभएको छैन। यस्तो बेलामा सरकारसँग संवाद र कुराकानी नगर्ने भन्ने कुरा राम्रो हैन। हामीले अनौपचारिक च्यानलबाट उहाँहरूलाई त्यो सन्देश पठाइसकेका छौं। जेसुकै कारणले भए पनि विद्यालय शिक्षा विधेयक पास गर्न ढिला भइसक्यो। अहिलेसम्म विभिन्न सरकारले त्यो कमीकमजोरीको जिम्मा लिनुपर्छ। अब विधेयक अघि बढाउने कुरामा कुनै ढिला हुने छैन,’ उनी भन्छन्।

सरकारले पेस गरेको विधेयक सैद्धान्तिक छलफल भएर शिक्षा समितिमा गइसकेको र समितिमा दफावार छलफल चलिरहेको जानकारी उनले दिए। ‘अहिले संसद चलेको छैन । संसद सुरु भएको १ हप्ताभित्र विधेयक अघि बढ्छ । यो हाम्रो प्रतिबद्धता भयो,’ भट्टराईले भने।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले धरानको खानेपानी समस्याको स्थायी समाधान गरिदिन माग गरेका छन् । उनले आगामी बजेटमा धरानको खानेपानी समस्याको स्थायी समाधानको योजना माग गरेका हुन् । खानेपानीमन्त्री प्रदीप यादवले धरानका नागरिकको वर्षैंदेखिको खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको बताएका थिए । सोमबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा धरान उपमहानगरपालिकाका मेयर राई नेतृत्वको एक प्रतिनिधिमण्डलले ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादी आन्दोलनमा भारतको कुनै समर्थन नरहेको बताएका छन्। गणेशमान सिंह फाउण्डेशनले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले पुर्‍याएको योगदान विषयक गोष्ठीमा देउवाले राजावादी आन्दोलनमा योगी आदित्यनाथको फोटो प्रदर्शन भएपनि भारतीय नेताहरूको राजावादी आन्दोलनमा कुनै समर्थन नरहेको बताए। नेपालको गणतन्त्रमा आफ्नो पूर्ण समर्थन रहेको ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राईसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 'धरानवासीले खानेपानी पिउन पाउनुपर्छ । यो प्रक्रिया आजैबाट अघि बढ्यो । यसका लागि सङ्घीय सरकारले बजेटको प्रबन्धलगायत अन्य विषयमा आवश्यक सहजीकरण गर्नेछ । यो ...
: विराटनगरका २ वटा घरमा भण्डारण गरेर राखिएको लागुऔषध गाँजा प्रहरीले सोमबार बिहानका राति बरामद गरेको छ। विराटनगर महानगरपालिका–१४ जतुवाका अलगअलग घरबाट ४५ किलोग्राम गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। विराटनगर–१४ जतुवाका १९ वर्षीय भूपेन यादव र ६० वर्षीय छटु यादवको घरबाट गाँजा फेला परेको उनको भनाइ छ। उनका अनुसार ...
: आठबिसकोट नगरपालिका–१२ ठुलीबार्खुमा अवैध रुपमा लगाइएको अफिमका बोटहरू नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार ठुलीबार्खुका आठ स्थानमा फैलिएको करिब पाँच रोपनी क्षेत्रफलमा अवैध रूपमा रोपिएको अफिम खेती नष्ट गरिएको हो। फूल फुलेको अवस्थामा रहेका अफिमका बोटहरू नष्ट गरेको प्रहरीले जनाएको छ। ती बोटहरू गहुँखेतीको बीचमा र ...