— गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २४० वर्षसम्म रहँदा केही नगर्ने राजसंस्थाले अब केही गर्ला कि भनेर लहैलहैमा नलाग्न आग्रह गरेका छन्। सोमबार गोरखा नगरपालिका–१३ को वडा कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले नकारात्मक सोचाइ मात्र राखेर मुलुक गन्तव्यमा पुग्न नसक्ने बताए ।
‘हामीले २४० वर्षसम्म राजसंस्था भोगेकै हो, बहुदलीय ब्यवस्था आएपछि पनि संवैधानिक राजतन्त्र भनेर राखेकै हो, तर राजा संवैधानिक भएर बस्न चाहनुभएन, राजा मात्र नपुगेर प्रधानमन्त्री पनि बन्न खोजेपछि राजसंस्था गएको अवस्था हो,’ उनले भने, ‘२४० वर्ष केही नगरेर अब गर्छु भन्दा कति पत्याउने ? यस्तो विश्लेषण हामी आफैँले गर्नुपर्छ ।’
लहैलहैमा लाग्नु भन्दा तथ्यमा आधारित भएर अघि बढ्नुपर्ने उनले बताए । ‘२०४८ साल अघिको अवस्था के थियो, विकास निर्माण र मान्छेको आर्थिक अवस्था के थियो ? त्यसपछिको अवस्था के छ, यो बीचमा सशस्त्र द्वन्द्व भयो। राजनीतिक व्यवस्थापनका लागि पनि ध्यान दिनुपर्ने अवस्था रह्यो,’ उनले भने, ‘तथ्यमा आधारित भएर बोल्नुपर्यो, लहैलहैका भरमा हावाको भरमा हिड्ने हो भने सधैँ नकारात्मक सोचाइले मात्र मुलुक गन्तव्यमा पुग्न सक्दैन।’
उनले राजनीतिक दलहरूले आफ्ना कमजोरी र गल्तीहरूलाई सुधार गरेर अघि बढ्न सक्नुपर्ने बताए। ‘केही नभएको होइन, केही भएको छ, जति हुनुपर्थ्यो त्यति भएन भन्ने कुरामा हामीहरू पनि सहमत छौँ,’ उनले भने, ‘भएका कुरालाई पनि केही भएन भनेर जनतालाई निराश बनाएर राजनीतिक खेलमा मात्र लागिरहने हो भने उन्नतिको बाटोमा धेरै पछाडि परेका छौँ, अझै पछाडि पर्छौँ।’
राजनीतिक परिवर्तनको कुरा मात्र गरेर गन्तब्यमा पुग्न नसकिने उनले बताए।