मुख्य समाचार
बुटवल–नारायणगढ सडक निर्माणले तीव्रता पाएपछि यस क्षेत्रका नागरिक उत्साहित बन्दै
बुटवल–नारायणगढ सडक निर्माणले तीव्रता पाएपछि यस क्षेत्रका नागरिक उत्साहित बन्दै

: पश्चिम नेपालको लाइफलाइनका रूपमा चिनिएको बुटवल–नारायणगढ सडक निर्माणले तीव्रता पाएपछि यस क्षेत्रका नागरिक उत्साहित बन्दै गएका छन्। अब त सडक बन्ने भयो नेर सर्वसाधारण नागरिकमा आशा जागेको छ। कोभिड र विभिन्न सरकारी नीतिगत झमेलाका कारण निर्माणले गति लिन नसकेको यो आयोजना निर्माणका लागि अहिले तेस्रोपटक थपिएको म्यादमा काम भइरहेको छ। तेस्रोपटक थपिएको समयमा पनि सवै काम त सकिने छाँट छैन। तर, हाल भइरहेको निर्माणको गतिअनुसार धेरै काम पूरा हुने देखिएको छ।


दुई खण्डमा काम, दुवैमा उस्तै प्रगति


यो आयोजनालाई दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ। बुटवलदेखि दाउन्नेसम्म पश्चिम खण्ड र दाउन्नेदेखि नारायणगढसम्मको दूरीलाई पूर्वी खण्डको रूपमा विभाजन गरिएको छ। दुवै खण्ड गरेर सडकको कुल लम्वाई १ सय १३ किलोमिटर हो। पश्चिम खण्डमा ४८ र पूर्वीखण्डमा ६५ किलोमिटर दूरी छ।


बुटवलदेखि दाउन्नेसम्मको खण्डमा हालसम्म ६१ प्रतिशत भौतिक र ५४ प्रतिशत आर्थिक प्रगति भएकोे आयोजनाका सूचना अधिकारी इन्जिनियर बेचनकुमार भण्डारीले जानकारी दिए। ‘एकतर्फी मात्र ३२ किलोमिटर र दुईतर्फी गरेर ५० किलोमिटर सडक कालोपत्रे भइसकेको छ’, भण्डारीले भने, ‘यही स्पिडमा काम भयो भने सम्झौता अवधिसम्म धेरै काम सकिन्छ। निर्माण कम्पनीबाट रातदिन काम भइरहेको छ।’ यस खण्डको पूरै काम सम्पन्न गर्न कुल लागत मूल्य अभिवृद्धि कर (भ्याट) सहित ७ अर्ब ८६ करोड रुपैयाँ हो।

बर्खायाम सुरु हुनुभन्दा अघि नै छलफल र दबाबलाई विशेष निगरानी गरिएको छ। पश्चिम दाउन्ने र पूर्वी खण्डको विनयत्रिवेणी गाउँपालिका क्षेत्रको सडक सहज हुनेबित्तिकै नागरिकहरूको पीडा धेरै कम हुन्छ। ठेकेदारले यो क्षेत्रमा बर्खामा बाटो जसरी पनि बनाउने प्रतिबद्धता जनाएका छन्। नागरिक तहबाट हामी निरन्तर रेखदेख गरिरहन्छौं। भगौती यादव रुदल, प्रमुख, जिल्ला समन्वय समिति, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

तेस्रोपटक थपिएको म्यादमा भइरहेको कामसम्म दाउन्ने क्षेत्रमा एकतर्फी सडक कालोपत्रे पूरा गर्ने लक्ष्य लिइएको इन्जिनियर भण्डारीले जानकारी दिए। ‘सरकारी क्षेत्र। नागरिक आवाज र पटक–पटकको संचारमाध्यमको दबाबले गर्दा निर्माण कम्पनीले काम गर्न थालेका हुन्’, भण्डारीले भने, ‘सबैको साथ र चासो हुने हो भने योजना पूरा गर्न सहज हुन्छ।’ बितेको ६ महिनादेखि ठेकेदारले कामलाई तीव्रता दिइरहेको उनको भनाइ छ। त्यस्तै, दाउन्नेदेखि नारायणगढसम्मको ६५ किलोमिटर दूरीमध्ये हालसम्म एकतर्फी ५१ किलोमिटर मात्र सडक कालोपत्रे भइसकेको छ। यस खण्डमा ६१ प्रतिशत भौतिक र ५२ प्रतिशत आर्थिक प्रगति भएको आयोजना प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर अनुक्षा घिमिरेले जानकारी दिइन्। ‘हाम्रो खण्डमा दाउन्ने क्षेत्रको चार किलोमिटर सडक पर्छ’, घिमिरेले भनिन्, ‘अहिले यस खण्डमा केही दिनका लागि यातायातका साधन रोकेर काम भइरहेको छ।’ उनले चौथोपटक म्याद थप्नुपर्ने अवस्था हुनसक्ने जानकारी गराइन्।

दुवै खण्डको निर्माणका लागि चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी–चाइना)सँग सम्झौता भएको छ। सडक निर्माणका लागि एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सडक विभागले आयोजना सञ्चालन गरेको हो। २०८२ साउन ६ गतेसम्म सक्ने गरी तेस्रोपटक म्याद थपिएको छ। वन क्षेत्रमा फोरलेन र बजार क्षेत्रमा ६ लेनको सडक निर्माण गरिएको छ।

निरन्तरको दबाबपछि कामले गति लियो

गत कात्तिक २५ गते रुपन्देही, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका जनप्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए। पटक–पटकको ध्यानाकर्षण गराउँदा पनि सडक निर्माणले गति नलिएपछि जनप्रतिनिधिहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए। त्यसपछि सडक निर्माणले गति लिएको हो।

जिल्ला समन्वय समितिका प्रमुख, स्थानीय तहका प्रमुखसहित रुपन्देहीका संघीय सांसद् एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, सहकारीमन्त्री बलराम अधिकारी, भौतिक मन्त्रालयका सचिव केशव शर्मा, तीनवटै जिल्लाबाट निर्वाचित संघीय एवं प्रदेश सांसदहरू, विभागीय प्रमुख, आयोजना प्रमुख लगायतको उपस्थितिमा प्रधानमन्त्री ओलीले बृहत् छलफल गराएका थिए।

मंसिरभित्र काम नथाले ठेक्का तोड्ने ओलीले निर्माण कम्पनीलाई चेतावनी दिएको जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख भगौती यादव रुदलले जानकारी गराए। रुदलको नेतृत्वमा ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई बुझाइएको थियो। ‘ठेकेदार कम्पनीहरूले काम गर्ने जिम्मा लिएर २८ वर्षदेखि आयोजना ‘होल्ड’ गर्ने प्रवृत्तिबाट बच्नुपर्ने प्रधानमन्त्री ओलीले सुनाउनुभएको थियो’, स्मरण गर्दै रुदलले भने, ‘जुन अपेक्षा र तीव्रताका साथ काम गर्ने सोचेका थियौं, बुटवल नारायणगढ सडक खण्डमा त्यसो हुन सकेन। त्यस क्षेत्रका बासिन्दाहरूले लामो समयदेखि कष्टपूर्णरुपमा धुलोमैलोमा बस्नु परेको छ। आर्थिक विकासका गतिविधिमा पनि असर परेको छ भनेर प्रधानमन्त्रीले भन्नुभएको थियो। सोहीबमोजिम अहिले निर्माण कम्पनीले काम थालिरहेको छ।’

बर्खामा दाउन्नेमा सरर

यसपालिको बर्खायाममा दाउन्नेको सडक खण्डमा सहज तरिकाले सवारी गुड्ने गरी सडक बनाउन दबाब दिइएको जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रमुख भगौती यादव रुदलले जानकारी गराए। यसका लागि सरोकारवाला निकाय र आयोजना कार्यालयबीच बृहत् छलफल गरिएको जानकारी दिए। ‘कम्तीमा पनि दाउन्ने खण्डको १३ किलोमिटरमा एकतर्फी भए पनि सजिलैसँग हिँड्ने गरी बाटो बनाउन दबाब दिएका छांै’, रुदलले भने, ‘यसपालिको बर्खामा दाउन्ने क्षेत्रमा बाटो बन्नेमा पूर्ण विश्वस्त छौं।’

बर्खायाम सुरु हुनुभन्दा अघि नै छलफल र दबाबलाई विशेष निगरानी गरिएको उनले बताए। पश्चिम दाउन्ने र पूर्वीखण्डको विनयत्रिवेणी गाउँपालिका क्षेत्रको सडक सहज हुनेबित्तिकै नागरिकहरूको पीडा धेरै कम हुने उनको भनाइ छ। ‘ठेकेदारले दाउन्ने क्षेत्रमा बर्खामा बाटो जसरी पनि बनाउने प्रतिवद्धता जनाएका छन्’, रुदलले भने, ‘हामी नागरिक तहबाट निरन्तर रेखदेख गर्छौं।’

बुटवलदेखि दाउन्नेसम्मको खण्डमा हालसम्म ६१ प्रतिशत भौतिक र ५४ प्रतिशत आर्थिक प्रगति भएको छ। यही स्पिडमा काम भयो भने सम्झौता अवधिसम्म धेरै काम पूरा हुन्छ। निर्माण कम्पनीबाट रातदिन काम भइरहेको छ। तेस्रोपटक थपिएको म्यादमा भइरहेको कामसम्म दाउन्ने क्षेत्रमा एकतर्फी सडक कालोपत्रे पूरा गर्ने लक्ष्य छ। सरकारी क्षेत्र। नागरिक आवाज र पटक–पटकको सञ्चारमाध्यमको दबाबले गर्दा निर्माण कम्पनीले काम गर्न थालेका हुन्। सबैको साथ र चासो हुने हो भने योजना पूरा गर्न सहज हुन्छ। बितेको ६ महिनादेखि ठेकेदारले कामलाई तीव्रता दिइरहेको उनको भनाइ छ। बेचनकुमार भण्डारी, इन्जिनियर एवं सूचना अधिकारी, बुटवल–नारायणगढ सडक आयोजना (पश्चिम खण्ड)

तड्पाइरहेछ ६ वर्षदेखि

सडक बन्न थालेको ६ वर्षसम्म पनि पूरा नभएपछि पश्चिम नेपालका नागरिकहरू प्रताडित छन्। उनीहरूको दैनिकी तहसनहस भएको छ। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने यो सडक औद्योगिक, व्यापारिक, शैक्षिक र स्वास्थ्य उपचारका लागि नागरिकहरूको दैनिकीसँग जोडिएको छ। पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका सवारीसाधनहरू यसै सडक भएर दिनहुँ ओहोरदोहोर गर्छन्।

निर्माण कम्पनी र कार्यान्वयन गर्ने निकायको ढिलासुस्तीका कारण नै यस सडक निर्माणले चाहेजति गति लिन सकेको थिएन। रुपन्देहीको बुटवलदेखि चितवनको नारायणगढसम्मको दूरी १ सय १३ किलोमिटर हो। अहिले यो दूरी पूरा गर्नका लागि कम्तीमा पनि ५÷६ घण्टा लाग्छ। तर, सडक निर्माण पूरा भएमा बढीमा दुई घण्टामा ओहोरदोहोर गर्न सकिन्छ।

आजदेखि २० दिन दाउन्ने खण्ड बन्द

आयोजना निर्देशनालयका अनुसार बुटवल नारायणगढ सडकअन्तर्गत दाउन्ने खण्डमा बुधबारदेखि सडक अवरुद्ध हुने भएको छ। निर्देशनालयले सूचना जारी गर्दै चैत ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने छ। २०८२ वैशाख १ गतेदेखि १५ गतेसम्म राति ११ देखि बिहान ५ बजेसम्म सडक पूर्णरूपमा बन्द हुने भएको छ।

सडक अवरुद्ध हुने अवधिभर बुटवलतर्फ जाने सवारीसाधनहरूमध्ये बस, मिनिबस, माइक्रोबस र साना सवारी साधनहरू रोकिने स्थानको रूपमा होङ्सी सिमेन्ट गेट दुम्कीबास बजार खण्डलाई तोकिएको छ। नारायणगढतर्फ जाने सवारीसाधनहरूमध्ये बस, मिनिबस, माइक्रो बस, साना सवारी साधनलाई चिसापानी बर्दघाट खण्डमा रोकिन सार्वजनिक सूचना जारी गरिएको छ। त्यस्तै, बुटवलतर्फ जाने सवारी साधनहरूमध्ये ट्रक, लरी, ट्रेलर, टिप्पर, ट्यांकर र भारी सवारी साधनलाई चोरमारा अरुणखोला बजार खण्डमा रोकिने क्षेत्र तोकिएको छ।

नारायणगढतर्फ जाने सवारीसाधनहरूमध्ये ट्रक, लरी, ट्रेलर, टिप्पर, ट्यांकर र भारी सवारी साधनलाई ज्यामिरे हकुई खण्डमा रोक्नका लागि क्षेत्र तोकिएको छ।

यो आयोजनाअन्तर्गत सबैभन्दा कष्टपूर्ण यात्रा दाउन्ने क्षेत्रमा पर्ने गरेको छ। यस क्षेत्रको सडक अहिले पनि अस्तव्यस्त छ। धुलो र हिलोले गन्तव्यमा हिँडेका यात्रुहरूलाई चिन्न सकिँदैन। वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेको सडककै कारण धेरै यातायात व्यवसायीका करोडौंका साधनहरूमा क्षति भएको छ। व्यवसायी धराशायी बनेका छन्।

पटक–पटकको ध्यानाकर्षण गराउँदा पनि सडक निर्माणले गति नलिएपछि जनप्रतिनिधिहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थियौं। त्यसपछि सडक निर्माणले गति लिएको छ। मंसिरभित्र काम नथाले ठेक्का तोड्ने प्रधानमन्त्रीज्यूले निर्माण कम्पनीलाई चेतावनी दिनुभएको थियो। यसपालिको बर्खायाममा दाउन्नेको सडक खण्डमा सहज तरिकाले सवारी गुड्ने गरी सडक बनाउन दबाब दिइएको छ।

६५ किलोमिटर दूरीमध्ये हालसम्म एकतर्फी ५१ किलोमिटर मात्र सडक कालोपत्रे पूरा भयो। ६१ प्रतिशत भौतिक र ५२ प्रतिशत आर्थिक प्रगति भएको छ। हाम्रो खण्डमा दाउन्ने क्षेत्रको चार किलोमिटर सडक पर्छ। अहिले यस खण्डमा केही दिनका लागि यातायातका साधन रोकेर काम भइरहेको छ। चौथोपटक म्याद थप्नुपर्ने अवस्था हुनसक्छ। दुवै खण्डको निर्माणका लागि चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी–चाइना)सँग सम्झौता भएको छ। वन क्षेत्रमा फोरलेन र बजार क्षेत्रमा ६ लेनको सडक निर्माण गरिएको छ। अनुक्षा घिमिरे, आयोजना प्रमुख, बुटवल–नारायणगढ सडक आयोजना (पूर्वीखण्ड)


यी हुन निर्माणले गति नलिनुका कारण

निर्माणको थालनीमै कोभिड
निर्माण कम्पनी चीनको
कोभिडको उत्पत्तिा चीनबाटै
त्यसको असर वर्षौंसम्म
अन्तरसरकारी निकायबीच समन्वय नहुनु
रूख कटानमा ढिलाइ
कोभिड सकियो, बाहना सकिएन
पहिलेको असर भन्दै काममा आनाकानी
बर्खाभरि निर्माण ठप्प
सडक नबन्दा अर्बौं गुमाए यातायात व्यवसायीले
पश्चिम नेपालको अर्थतन्त्र तहसनहस
नागरिक रोगको सिकार
दुई घण्टाको दूरीमा ६ घण्टाको यात्रा
सडक देखेर लगानी गरेकाहरू निरुत्साहित
नयाँ लगानीकर्ताको छैन चासो
तेस्रो पटकको म्याद सकिँदै
६ महिनादेखि कामले तीव्रता पायो
यसपालिको बर्खामा दाउन्नेमा सरर
नागरिक दबाबपछि कामलाई तीव्रता
प्रधानमन्त्रीको विशेष चासो

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धरानवासीलाई निःशुल्क खानेपानी खुवाउने प्रतिबद्धता जनाएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक घरमा जडान गरिएको खानेपानीको धारा काटिदिएका छन्। सूचनाविनै धरान-१५ का इन्द्रबहादुर तामाङको घरमा जडान गरिएको खानेपानीको धारा काटिएको हो। हर्क साम्पाङ मेयर हुनुभन्दा अघि खानेपानी प्राप्तिको आन्दोलन र २०७९ को स्थानीय निर्वाचनमा हर्कलाई जिताउन मुख्य भूमिका खेलेका तामाङको घरमा जडान गरिएको खानेपानीको ...
— जिल्ला सदरमुकाम रुकुमकोटमा ठूला सभा–समारोह र मेला महोत्सव गर्ने स्थान नहुदाँ व्यवस्थापनमा समस्या देखिने गरेको छ । सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा अवस्थित रुकुमकोट भौगोलिक हिसाबले सुन्दर र फराकिलो भए पनि विभिन्न कार्यक्रम गर्न सार्वजनिक स्थानको भने अभाव हुने गरेको हो । ठाउँ नभएपछि हरेक वर्ष आयोजना गरिने ‘पूर्वी रुकुम साँस्कृतिक महोत्सव’ यसपल्ट ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राध्यापक केशरजंग बरालको राजीनामा आफूकहाँ नआएकैले स्वीकृत नभएको बताएका छन् । शुक्रबार एमाले लुम्बिनी प्रदेश कमिटीले बुटवलमा गरेको जागरणसभामा त्रिविका कुलपतिसमेत रहेका ओलीले आफूकहाँ आउँदै नआएको राजीनामा स्वीकृत नगरेको भनेर मिडियामा प्रचार गरिएको गुनासो गरेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार मात्र उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका थिए । ‘राजीनामा ...
: विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले शनिबार ११ औं दिन पनि सडक प्रदर्शनलाई निरन्तरता दिएका छन्। आफूहरूसँग भएका सहमतिका आधारमा यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै शिक्षकहरूले माइतीघर–बबरमहल क्षेत्रमा सडक प्रदर्शन गरेका हुन्। नाचगानसहित उनीहरूले विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। महासंघ र सरकारबीच निरन्तर छलफल भएपनि ...
। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशमा केही भएन भनेर गलत भाष्यको भ्रम फैलाउन खोजिएको भन्दै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् । सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपालको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा मन्त्री दाहालले गफभन्दा तथ्यले भ्रम चिर्नुपर्ने बताए । नेपालमा पूर्वाधार निर्माण तीव्र भइरहेको उल्लेख गर्दै उनले २ दशक अघिसम्म पनि देशको ...