— प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मिँदै राजा र रैती हुने व्यवस्था कुनै पनि हालतमा नआउने बताएका छन् । उनले दुई-चार हजारको हुलले सरकारी सम्पत्ति आगजनी, निजी घरमा आगजनी, तोडफोड र मान्छे मार्नेसम्मको काम गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई हल्लाउन नसक्ने बताए ।
‘प्रतिगामी सोच भएका व्यक्ति राजतन्त्र फेरि ल्याउन बितन्डा मच्चाउने काम गरेको छ,’ मधेश प्रदेशसभालाई मंगलबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘नयाँ जेनेरेसनले त राजतन्त्र भोगेका छैनन् । उनीहरूमा राजतन्त्र के हो भन्ने लागेको हुनसक्छ । नयाँ जेनेरेसनलाई पनि हामीले सचेतना जगाउनेछौं ।’ करिब डेढ घण्टा प्रदेशसभालाई सम्बोधन गरेका प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रमा दल एकसाथ रहेको पनि बताए ।
‘२१औं शताब्दीमा राजतन्त्र स्वीकार्न सकिन्न,’ ओलीले भने,‘कोही जन्मिँदै राजा हुने र अरु रैती हुने व्यवस्था मानिँदैन । सचेत राजनीतिक दलले त झन् मान्ने कुरा नै भएन ।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्र लडेर र बलिदानीबाट आएको भन्दै यो प्रणालीलाई सुव्यवस्थित तरिकाले अगाडि बढाउन राजनीति दल अग्रसर हुनुपर्ने बताए । ‘राम्रो जति मेरो, नराम्रो जति सबै तेरो गाउँ खाने कथाजस्तो मात्र भनेर पनि अगाडि जाने स्थिति छैन,’ प्रधानमन्त्री ओलीले भने,‘विविधताका बीचमा एकता गर्दै र समाजिक न्याय र समानताको सिद्धान्तमा आधारित भएर संघीय लोकतान्त्रिक गणतन्त्र प्रणालीमा गएका हौं । यो प्रणाली नै श्रेष्ठ र उत्तम हो ।’
प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र स्पीडमा रहेकाले दु:खी हुनुभन्दा खुसी मनाउनुपर्ने पनि बताए । प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा बनेको सरकार आजै–भोलिमा ढल्ने कुप्रचार समयसमयमा भइरहेको पनि बताए । ‘सरकार ढल्ने त कुरा छोडदिनु । यो हल्लिँदैन पनि । हल्लिँदै हल्लिँदैन,’ उनले भने,‘सरकार गठन भएकै दिनदेखि आज कि भोलि ढल्छ भनेर इच्छा राख्नेलाई म भन्न चाहन्छु, यो सरकार हल्लिँदैन पनि ।’
साढे १० बजे बस्ने प्रदेशसभाको बैठक प्रधानमन्त्री ओली काठमाडौंबाट आउन ढिलाइ भएपछि पौने १ बजे मात्र सुरु भएको थियो । प्रधानमन्त्री ओली हेलिकप्टरबाट जनकपुर आएका हुन् । प्रधानमन्त्री ओलीले मधेश प्रदेशसभामा विशेष सम्बोधन गरेको यो यो दोस्रो पटक हो । मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतको पालामा पनि प्रधानमन्त्री रहेका ओलीले मधेश प्रदेशसभामा विशेष सम्बोधन गरेका थिए । मधेश प्रदेशसभाको विशेष सम्बोधन सकेपछि प्रधानमन्त्री ओली हेलिकप्टरमा नै सिरहा पुग्नेछन् । त्यहाँ उनी दुईवटा कार्यक्रममा सहभागी भएर अपराह्न काठमाडौं फर्किनेछन् ।