: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ।
बुधबार रास्वपाका नेताहरू ललितपुरस्थित आयोगको कार्यालय पुगेर सामान्य प्रक्रियासमेत पूरा नगरी लामिछानेलाई ज्यादतीपूर्ण ढंगले पक्राउ गरेको र सो क्रममा मानव अधिकारको गम्भीर उल्लंघन भएको भन्दै निवेदन दर्ता गराएका हुन्।
रास्वपाले लामिछानेलाई पक्राउ गर्दा भएको मानव अधिकारको उल्लंघनको घटनाको छानबिन गर्दै दोषीलाई कारबाही गर्नसमेत माग गरेको छ। रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सामान्य प्रक्रिया पूरा नगरी अभद्र व्यवहार र धरपकडसहित लामिछानेलाई पक्राउ गरेको भन्दै छानबिनका लागि आयोगमा निवेदन दर्ता गरिएको जानकारी दिए।
राज्य संयन्त्रले मानव अधिकार हनन हुनेगरी धरपकड गरेकाले छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिएको उनले बताए। त्यस्तै बिना अनुमति लामिछानेको घर पुगेर अभद्र व्यवहार गरेर प्रहरीले मानव अधिकारको गम्भीर उल्लंघन गरेको रास्वपाले जनाएको छ। रास्वपाको ध्यानाकर्षण र निवदेन बुझ्दै मानवअधिकार आयोगका अध्यक्षले उक्त घटनाको छानबिन गर्ने र आवश्यक कामकारबाही अघि बढाउने प्रतिवद्धता जनाएको बुर्लाकोटीले जानकारी दिए।