: सर्लाहीको हरिपूर्वा नगरपालिका–९ मिर्चैयामा शुक्रवार बिहान ट्रकले किचेर एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा मृतककी बहिनी घाइते भएकी छन् ।
बाँके–संग्रामपुर सडकअन्तर्गत श्रीनगरबाट धनकौलतर्फ जाँदै गरेको ना. ५ ख ३८५८ नम्बरको ट्रकले किच्दा साइकल हाकिरहेकी ईश्वरपुर नगरपालिका–१३, श्रीनगरका रामदुलार महतोकी १७ वर्षीया छोरी अन्जली कुमारी महतोको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रकले किचेर साइकल पछाडि चढेकी अञ्जलीकी बहिनी १५ वर्षीया पूजा कुमारी महतो घाइते भएकी छन् । उनको श्रीनगरस्थित एक निजी क्लिनिकमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।
मृतक अञ्जलीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन् । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय केशरगन्जको नियन्त्रणमा रहेको जनाएका छन् ।