— नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेल सरकारलाई धम्की दिने सचिवहरुको काम भएको आरोप लगाएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले लामो छलफलपछि ४ जना मन्त्री (रक्षा, गृह, संघीय मामिला र शिक्षा) बसेर दुई वर्षको कुलिङ पिरियडमा सहमति गरिएकोमा एक थरी सचिवहरु प्रधानमन्त्रीलाई संयुक्त रुपमा राजीनामा दिन्छौं भनेर धम्की दिन गएको र उनीहरुकै मिलेमतोमा चलखेल भएको हुनसक्ने आशंका गर्ने ठाउँ प्रशस्त रहेको बताए ।
उनले भने, ‘लामो छलफलपछि ४ जना मन्त्री बसेर रक्षा, गृह, संघीय मामिला र शिक्षामन्त्री बसेर गृहमन्त्रीले नै दुई वर्षको कुलिङ पिरियडमा सहमति भयो भनेर सुनाउनु भएको हो । यो विधेयक त्यसपछि पास भएको हो । एक थरी सचिवहरु प्रधानमन्त्रीलाई संयुक्त रुपमा राजीनामा दिन्छौं भनेर धम्की दिन गए भन्ने सुनेको हो । निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभइ कुनैपनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउनेछैन । हामीले पास गरेको विषय यही हो । अब यसलाई खण्डन हुनेगरी संसदमा पेश भएको जुन पुरानो विधेयक थियो, त्यसैमा बाँकी पनि जोडेर हालिदिएको छ । जुन कुरा चाहिँदैन । यो बनाउनमा जो जो धम्कीपूर्ण ढंगले सचिवहरु लागेका थिए, तिनैको खेल भयो भन्न सकिन्छ ।’
संलग्नहरुलाई कारबाही नगरेसम्म राज्य व्यवस्था समितिको बैठक बस्न नसक्ने उनको भनाइ छ ।