— पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार रुपैयाँ हुण्डीको रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–२ का २६ वर्षीय अनिलकुमार बर्णवाल, वीरगञ्ज महानगरपालिका-३ आदर्श टोलका २३ वर्षीय बिनितकुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका–४ का ४४ वर्षीय दीपककुमार सोनार छन् ।
पर्सा प्रहरीबाट खटिएको टोलीले मंगलबार विभिन्न स्थानबाट उनीहरूलाई नगदसहित पक्राउ गरेको हो । बर्णवाललाई वीरगञ्ज–१० मकालु चोकबाट ९ लाख ४७ हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको थियो। झोलामा लुकाएर उक्त रकम लैजाँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको थियो ।
श्रीवास्तवलाई वीरगञ्ज–८ स्थित लिंक रोडबाट १५ लाख ८१ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको हो। सोनारलाई वीरगञ्ज–१६ रजत जयन्ती चोकबाट पक्राउ गरिएको थियो । ना १६ प २३२८ नम्बरको मोटरसाइकलमा सवार सोनारको खल्तीबाट ३ लाख रुपैयाँ नगद बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।
तीनै जनालाई हुण्डी रकमसहित नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम 'हुण्डीसम्बन्धी कारोबार गर्न नहुने' कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिएका छन् ।