— जिल्लाको राजापुर हुँदै कैलाली जोड्ने कर्णाली नदीस्थित सत्तीघाटमा निर्मित पुल जोगाउने तटबन्धको काम भइरहेको छ । नदी कटानले पुलको पूर्वतर्फ तीव्र कटान हुने गरेकाले यसलाई रोकथाम गर्न कैलाली हुँदै ल्याएको बोल्डर(ठूला ढुंगा) बाट नदी किनारमा तटबन्ध गरिएको छ ।
पाँच वर्ष अघि नदी कटान रोक्न निर्माण गरिएको गेभिन पानीको बहाव बढ्दै गएपछि खस्किएर पुल जोखिममा परेको थियो । पुलको पूर्वपट्टी कटान रोक्न बनाइएको तटबन्धको ग्याभिन भासिएको ठाउँमा तटबन्ध गरिएको हो ।
तटबन्धसँगै ग्याभिन भासिए पुलसँग जोडिएको हुलाकी सडक कटान भई किनारबाट नदी बग्न सक्ने भन्दै गत वर्ष ढुंगा खसालेर रोकथाम गरिएको थियो । राजापुर नगरपालिकास्थित उक्त ठाउँ आसपासमा नदीको तीव्र बहाव छ । ठूलो बाढी आए संर्घषनगर, मुक्तकमैया बस्ती, छेदिया लगायत दर्जन बढी गाउँ उच्च जोखिममा छन् ।
जलस्तर बढ्दै गएपछि कर्णाली नदी तटीय क्षेत्रमा कटानको जोखिम हुन्छ । पूर्व पटिट पानीको बहाव बढी भएकोले ठूलो बाढी आउना साथ पुलको अन्तिम स्पान छेउको हुलाकी सडक कटान हुने भएकोले तटबन्धका लागि बोल्डर खसालेर तटबन्ध गरिएको हुलाकी आयोजनाले जनायो ।
विगत दुई वर्षदेखि कर्णालीमा ठूलो बाढी आएको छैन । यसवर्ष भिषण वर्षा सँगै बाढी आउने आकलन गरिएको छ । चार वर्षअघि उक्त पुलमा भ्वाङ परेको थियो । भ्वाङ परेसँगै दक्षिण पूर्व पुल जोखिममा परेको थियो । भ्वाङ परेको पुल टालटुल पारेर बनाए पनि सुरक्षित नभएको स्थानीयले बताए ।
सात वर्षअघि ५ सय ३१ मिटर लामो उक्त पुल ४६ करोडको लागतमा निर्माण भएको थियो । हुलाकी सडक आयोजना अन्तर्गत यस पुलमा १४ वटा पिलर छन् । कर्णाली नदीले पश्चिमतर्फ धार परिवर्तन गर्दै पूर्व तर्फ बग्न थालेको हो । हुलाकी आयोजना प्रमुख लिला बहादुर भण्डारीले पुल र आसपासका कटान क्षेत्रमा १ करोड ८० लाखमा तटबन्धको काम भएको बताए ।
पानीको बहाव बढी भएकोले ठूला ढुंगा खसालेर नदी नियन्त्रणको काम भई रहेको छ । तटबन्धले पुल र आसपासका क्षेत्र सुरक्षित हुने छ । बर्दियामा ठूला ढुंगा नपाएपछि कैलालीबाट ल्याइएको छ ।