— सप्तरीको कञ्चनरूप नगरपालिका-२ महादेवपट्टीमा मंगलबार बसले ठक्कर दिँदा एक जना बालकको मृत्यु भएको छ ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाटो काटिरहेका स्थानीय रोजित शेखका ८ वर्षीय छोरा आर्यन शेखलाई को १ ख ५४३८ नम्बरको बसले ठक्कर दिएको थियो ।
वीरगन्जबाट विराटनगरतर्फ गइरहेको सो बसको ठक्करबाट आर्यनको दुर्घटनास्थलमै मृत्यु भएको डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ भने बस र चालक सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ४५ वर्षीय मनोरथ पोखरेललाई नियन्त्रणमा लिइएको छ ।
दुर्घटनापछि आक्रोशित भएका स्थानीयले केहीबेर पूर्व-पश्चिम राजमार्गमा प्रदर्शनसमेत गरेका थिए ।