मुख्य समाचार
फोनवार्ता ‘लिक’ भएपछि थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित
फोनवार्ता ‘लिक’ भएपछि थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्रा निलम्बित

— थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई मंगलबार निलम्बन गरेको छ । पूर्वकम्बोडियाली नेता हुन सेनसँग भएको फोनवार्ता ‘लिक’ भएपछि सिनावात्रालाई पदबाट राजीनामा दिन चर्को दबाब परिरहेका बेला अदालतले निलम्बन गरेको छ ।



सिनावात्राले भने उक्त फोनवार्ताको उद्देश्य ‘देशकै भलाईका लागि भएको’ दाबी गर्दै मंगलबार जनतासमक्ष माफी मागेकी छन् । ‘मेरो आफ्नै स्वार्थका लागि फोन गर्ने कुनै मनसाय नै होइन,’ उनले भनेकी छन्, ‘अराजकताबाट कसरी बच्ने, लडाइँबाट कसरी बच्ने र बढीभन्दा बढी जनताको ज्यान कसरी जोगाउने भन्नेबारेमा मात्र सोचेकी थिएँ, यदि त्यो फोनवार्तालाई ध्यानपूर्वक सुन्ने हो भने त्यसमा मेरो कुनै खराब मनसाय थिएन भन्ने बुझ्न सकिन्छ ।’

थाइल्यान्डको कम्बोडियासँग लामो समयदेखि क्षेत्रीय विवाद चलिरहेको छ । गत मे महिनामा सीमामा झडप हुँदा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो । ‘लिक’ भएको उक्त फोनवार्तामा सिनावात्राले पूर्वकम्बोडियाली नेतालाई ‘काका’ भनेर सम्बोधन गरेको र थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भन्दै आलोचना गरेको पाइएपछि जनस्तरमा आक्रोश बढेको थियो । त्यसपछि उनलाई प्रधानमन्त्री पदबाट बर्खास्त गर्नुपर्ने भन्दै अदालतमा मुद्दा परेको हो ।

रुढिवादी सांसदहरूले उनलाई कम्बोडियासामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाउँदै मन्त्रीहरूमा ‘स्पष्ट इमानदारिता’ र ‘नैतिक मापदण्डहरू’ आवश्यक पर्ने संवैधानिक प्रावधानहरू उल्लंघन गरेको जिकिर गर्दै आएका छन् । संवैधानिक अदालतले सीमा विवादका क्रममा सिनावात्राले मन्त्रिपरिषद्को नैतिकता उल्लंघन गरेको हो वा होइन भन्ने विषय विचाराधीन रहेकाले उक्त मुद्दाको किनारा नलाग्दासम्मका लागि प्रधानमन्त्रीबाट निलम्बनको आदेश दिएको हो । उक्त मुद्दामा उनलाई निलम्बन गर्नुपर्ने रायमा दुईका विरुद्ध सात न्यायाधीशले पक्षमा मतदान गरेका थिए ।


सिनावात्रालाई आफ्नो बचाउ प्रस्तुत गर्न १५ दिनको समय दिइएको छ । यसैबीच उपप्रधानमन्त्रीले देशको कार्यवाहक प्रधानमन्त्रीका रूपमा काम गर्नेछन् । पछिल्लो फोनवार्ता ‘लिक’ भएपछि हजारौं सर्वसाधारणले बैंककमा उनको नेतृत्वविरुद्ध विरोध प्रदर्शन गरेका थिए । त्यसपछि उनका सहयोगीहरूले राजीनामा दिएपछि थाइल्यान्डका राजा माहा भजिरलोङकर्नले मंगलबार सिनावात्राको मन्त्रिमण्डल फेरबदललाई अनुमोदन गरेका छन् । निलम्बनमा पर्नु केही घण्टाअघि फेरबदल गरिएको मन्त्रिमण्डलमा सिनावात्रालाई संस्कृतिमन्त्री बनाइएको छ । बिहीबार उनले शपथग्रहण गर्ने बताइएको छ । तर संवैधानिक अदालतमा मुद्दा चलिरहेका बेला उनले उक्त भूमिका लिन सक्छिन् वा सक्दिनन् भन्नेमा अस्पष्ट नै छ ।

३८ वर्षीया सिनावात्राले २०२४ अगस्टमा सत्ता सम्हाल्दा उनी थाइल्यान्डकी सबैभन्दा कान्छी र दोस्रो महिला प्रधानमन्त्री बनेकी थिइन् । सिनावात्रा परिवारले विगत दुई दशकदेखि थाइल्यान्डको राजनीतिमा प्रभुत्व जमाउँदै आइरहेको छ । तर यो अवधिमा आफ्नो कार्यकाल पूरा गर्नुअघि नै सत्ता गुमाउनेमा पेटोङटार्न सिनावात्रा परिवारकी तेस्रो सदस्य बन्ने सम्भावना बढी देखिएको छ । दुई साताअघि मात्रै सिनावात्राको पार्टी ‘फेउ थाई’ एक काण्डमा मुछिएपछि सत्ता घटक एक प्रमुख रुढिवादी सहयोगीले सरकार छोडेपछि सिनावात्राको सत्ता गठबन्धनको बहुमत कमजोर बनेको थियो ।




मुलुकको राजनीति वर्षौंदेखि रुढिवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग र सिनावात्रा परिवारबीचको संघर्ष हावी भएको छ । सिनावात्रा परिवारलाई रुढिवादी, सैन्य समर्थक र शाही समर्थक अभिजात वर्गले थाइल्यान्डको परम्परागत सामाजिक व्यवस्थाका लागि खतरा मान्छन् । नौ वर्षअघि दक्षिण कोरियाली अखबारलाई दिएको अन्तर्वार्तामा राजतन्त्रको अपमान गरेको आरोपमा राजद्रोह कानुनको उल्लंघनको मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले बैंककको एक फौजदारी अदालतमा उपस्थित भएकै दिन छोरी सिनावात्रालाई पनि अदालतले पदबाट निलम्बन गरेको हो ।

–एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) ले आफूविरुद्धका हजारौं मुद्दा मिलाउनमा ५.५ अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ । कम्पनीको ‘ट्याल्क’युक्त बेबी पाउडर तथा अन्य उत्पादनका कारण डिम्बाशय (ओभेरियन) क्यान्सर भएको भन्दै कम्पनीबिरुद्ध दायर गरिएका मुद्दा मिलाउन उसले पीडितहरूको प्रतिनिधित्व गरेका विभिन्न कानुनी फर्महरूलाई प्रस्ताव गरेको हो । साथै कम्पनीले यो प्रस्तावले वर्षौंदेखि चल्दै आएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘मैत्रीपूर्ण वार्ता’ भइरहेको बताएका छन्। लगातार तेस्रो दिन पनि दुवै पक्षले एक-अर्कामाथि कुनै आक्रमण गरेनन्। एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सोमबार भने, ‘मलाई लाग्छ यो युद्ध अन्त्य हुने राम्रो सम्भावना छ।’ यद्यपि वार्ता असफल भए अमेरिकाले युद्धविराम अघिकै कारबाही पुनः सुरु गर्ने चेतावनी पनि उनले दिए। उता इरानले भने अमेरिकासँग ...
: अमेरिका र इरानबीचको आक्रमणमा विराम लाग्नाले द्वन्द्व समाधानतर्फ मोडिन सक्ने आशाका बीच कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। ग्लोबल बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य एकैपटक ९ प्रतिशतभन्दा बढीले घटेर प्रतिब्यारेल ८८ डलरभन्दा तल झरेको छ। यो गत हप्ताको तुलनामा ठूलो फेरबदल हो, जतिबेला यसको मूल्य १०० डलरभन्दा माथि पुगेको थियो। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनावका बीच दुई देशबीच ‘ मित्रवत कुराकानी’ भइरहेको दाबी गरेका छन् । अमेरिका र इरान दुबै देशले लगातार तेस्रो दिन पनि एक-अर्काविरुद्ध कुनै आक्रमण गरेका छैनन् । एयर फोर्स वानमा पत्रकारहरूसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले इरानसँगको युद्ध अन्त्य हुने राम्रो सम्भावना रहेको बताएका छन् । यद्यपि, ...
: फ्रान्सको दक्षिण-पश्चिमी सहर बोर्दो नजिकै फैलिएको विनाशकारी जङ्गलको डढेलो नियन्त्रणबाहिर पुगेको छ।डढेलो बोर्दो सहरभन्दा १५ किलोमिटर मात्र टाढा पुगेपछि प्रभावित क्षेत्र गिरोन्दको निरीक्षण गर्दै राष्ट्रपति इम्यानुएल म्याक्रोनले यसलाई दोस्रो विश्वयुद्धपछिकै ‘अभूतपूर्व र भीषण संकट’ को संज्ञा दिएका छन्। डढेलोको जोखिम बढेसँगै फ्रान्समा हालसम्म २ लाख २० हजारभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। स्थिति झनै ...