— सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएको छ।
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ मा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने, १ सय वटा झोलुङ्गे पुल मर्मत गर्ने, ४०वटा नयाँ सडक पुल निर्माण गर्ने र ३०वटा सडक पुल मर्मत गर्ने योजना सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद मैनालीले २ सय ४९वटा सिँचाइ आयोजना सम्पन्न भई ३ हजार ७ सय हेक्टर जमिन सिँचाइयोग्य हुने जानकारी दिए। उनले १ सय किलोमिटर सडक निर्माण हुने र ३ सय किलोमिटर सडक कालोपत्रे हुने समेत बताए। उनका अनुसार सरकारले ६०वटा स्थानीय प्रशासकीय भवन निर्माण गर्नेछ।
त्यसैगरी, सरकारले उपत्यकाका नदी तथा खोला करिडोरमा १० किलोमिटर सडक स्तरोन्नति गर्ने, उपत्यकाका २६ स्थानमा सार्वजनिक जग्गा संरक्षण तथा पार्क निर्माण गर्ने, जितपुर फेदी, डुकु छाप, ईशान नयाँ सहर, ताथली चलावुमा जग्गा एकीकरणको भौतिक विकास योजना स्वीकृति भई विकास कार्य सुरु गर्ने योजना बनाएको छ। साथै, सार्वजनिक जग्गा अतिक्रमण रोक्ने र अवैध संरचना हटाउने कार्यलाई पनि प्राथमिकता दिने बताइएको छ।
उपत्यकाको व्यवस्थित सहरीकरणका लागि हरियाली प्रवर्द्धन, जनचेतना अभिवृद्धि, आकाशे पानी संकलन, वन तथा पोखरी संरक्षण गर्ने योजना पनि मन्त्रालयले अघि सारेको छ।
सरकारले कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको रंगशालाको दोस्रो चरणको निर्माण सुरु गर्नेछ। सिंहदरबार परिसरको स्वीकृत गुरुयोजना अन्तर्गत सहरी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको नयाँ भवन निर्माण कार्य सुरु गर्ने योजना पनि सार्वजनिक गरिएको छ। अति विशिष्ट पदाधिकारी आवास निर्माण अन्तर्गत सभामुख र प्रधानन्यायाधीशको आवास निर्माण सुरु गरिने बताइएको छ।
त्यस्तै, मन्त्रालयले भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल तथा मनोरञ्जन पार्क निर्माण कार्य अघि बढाउने जनाएको छ।
सरकारले वागमती, विष्णुमती, मनोहरा र नख्खु खोलामा २०८१ सालको बाढीबाट क्षतिग्रस्त संरचना पुनः निर्माण गर्ने, ऐतिहासिक मठ, मन्दिर, पाटी, पौवा पुनर्निर्माण तथा जीर्णोद्धार र मर्मत सुधार गर्ने, उपत्यकाका नदी तथा खोलाको सरसफाइ कार्य अघि बढाउने लक्ष्य राखेको छ।
सहरी विकास मन्त्रालयअन्तर्गत फोहोर मैला व्यवस्थापन, सहरी विकास, नगर विकास कोष, बागमती सभ्यता, र बस्ती विकाससम्बन्धी विधेयकहरू र तिनका नियमावली तयारीको क्रममा रहेको मन्त्रालयले जानकारी दिएको छ।