मुख्य समाचार
लगातार दुई खेल जितेपछि एसियन कप पुग्नका लागि उज्बेकिस्तानसँग नेपालको निर्णायक खेल हुने
लगातार दुई खेल जितेपछि एसियन कप पुग्नका लागि उज्बेकिस्तानसँग नेपालको निर्णायक खेल हुने

। एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफमा लगातार दुई खेल जितेपछि एसियन कप पुग्नका लागि उज्बेकिस्तानसँग नेपालको निर्णायक खेल हुने भएको छ ।

उज्बेकिस्तानमै भएको छनोटमा नेपाल र घरेलु टोली दुवैले लगातार दुई खेल जित्दै समान ६ अंक जोडेका छन् । अब यी दुई टोली समूह विजेता बनेर अर्को वर्ष अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुने होडमा छन् ।




लगातार दुई खेल हारेको लाओस र श्रीलंका समूह विजेता बन्ने होडबाट बाहिरिसकेका छन् । नेपाल र उज्बेकिस्तान दुवैले कुनै गोल नखाई लाओस र श्रीलंकालाई पराजित गरेको छ ।

नेपालले पहिलो खेलमा लाओसलाई ९-० ले हराएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ८-० ले पराजित गर्‍यो । उता पहिलो खेलमा श्रीलंकालाई १० गोल हानेको उज्बेकिस्तानले दोस्रो खेलमा लाओसलाई ७-० ले हरायो ।



नयाँ कप्तान सावित्रा भण्डारी र नयाँ प्रशिक्षक प्याट्रिक डि वाइल्डको नेतृत्वको नेपाली महिला टोलीले सुरुवाती दुई खेलमा गज्जबको प्रदर्शन गरेको छ । अब त्यो लय समूहको अन्तिम खेलमा पनि कायम राख्नुपर्ने बेला आएको छ ।

उज्बेकिस्तानले लाओसविरुद्ध अन्तिम समयमा २ गोल गरेपछि अब समूह एफको समिकरण रोचक बनेको छ । किनभने दुई खेलबाट नेपाल र उज्बेकिस्तानले समान १७ गोल गरेका छन् भने कुनै गोल खाएका छैनन् । यस्तोमा दुवैको गोल अन्तर अहिलेसम्म बराबर नै छ ।

यदि उज्बेकिस्तानले लाओसलाई कम गोल गरेको भए अन्तिम खेलमा नेपालले उज्बेकिस्तानसँग बराबरी गरेपनि समूह विजेता बन्न सक्थ्यो । तर अब गोलअन्तर बराबरी हुँदा दुवै टिमलाई अन्तिम खेल महत्वपूर्ण बनेको छ । एसियन कपमा पुग्नका लागि यो खेल अघोषित फाइनल जस्तै बन्नेछ ।

यदि नेपाल र उज्बेकिस्तानबीच समूह चरणको अन्तिम खेल बराबरीमा सकिएमा फेयर प्लेबाट समूह विजेताको टुङ्गो लगाउनुपर्ने स्थिति आउन सक्छ । किनभने बराबरी भएमा हेड टु हेड गोल अन्तर, धेरै गोल गरेको कुनै पनि मापदण्ड लागु हुने छैन । यस्तोका पहेँलो कार्ड कसले बढी पाएको छ हेरिन्छ ।

नेपालकी विमला विकले पहिलो खेलमा पहेँलो कार्ड सामना गरेकी थिइन् । यदि अन्तिम खेल बराबरी नभएर कुनै टोलीले स्पष्ट नतिजा निकालेमा त्यो टोली नै समूह विजेता बनेर महिला एसियन कपमा छनोट हुनेछ ।

लगातार दुई खेलमा क्लिनसिट सहित सानदार जित निकालेपछि नेपाली टिमकी नयाँ कप्तान सावित्रा भण्डारी साम्बाले टिम इफोर्टले गर्दा यो सम्भव भएको बताइन् । ‘समग्रमा राम्रो भयो । टिमवर्कले गर्दा नै राम्रो भएको छ’ उनले भनिन् ।

कप्तान सावित्राले अन्तिम खेलमा उज्बेकिस्तानसँग फाइट गर्न तयार रहेको बताएकी छन् । ‘निश्चय पनि दुई खेल खेलिरहँदा हामीसँग ६ अंक छ । टिममा सबैसँग पोजिटिभ मेन्टालिटी छ’ उनी भन्छिन्, ‘अब मुख्य चुनौती बाँकी छ र त्यो चुनौतीलाई स्वीकार गरेर हामी फाइट गर्न रेडी छौँ ।’

समूह एफमा उज्बेकिस्तान र नेपाल नै समूह विजेता बन्न मुख्य दाबेदारको रुपमा थिए । लगातार दुई खेल जितेर दुवैले त्यसलाई प्रमाणित गरिसकेका छन् । अब नेपाल र उज्बेकिस्तान मध्ये एक टिम मात्र एसियन कपमा पुग्ने भएकोले दुवैलाई अन्तिम खेल महत्वपूर्ण हुनेछ ।

यद्यपी नेपालले अहिलेसम्म उज्बेकिस्तानलाई हराउन नसकेकोले केही दबाब भने हुने सक्छ । अहिलेसम्म नेपाल र उज्वेकिस्तानबीच तीन खेल हुँदा तीनै खेलमा नेपाल पराजित भएको छ ।

सन् १९९९ मा फिलिपिन्समा भएको महिला एसियन कपमा नेपालले पहिलो पटक उज्बेकिस्तानसँग खेलेको थियो । त्यसमा खेलमा नेपाल ६-१ ले पराजित भएको थियो । तर त्यस खेलमा नेपालले ऐतिहासिक गोल गरेको थियो । पेमा डोल्मा लामाले उज्बेकिस्तानविरुद्ध गरेको त्यो गोल नै नेपाली महिला फुटबलमा पहिलो अन्तर्राष्ट्रिय गोल थियो ।

त्यसपछि नेपालले सन् २०१९ मा कीर्गिस्तानमा भएको नादेज्दा कपमा नेपालले उज्बेकिस्तानसँग दुई खेल खेल्दा दुवैमा पराजित भएको थियो । समूह चरणमा २-० ले पराजित भएको नेपाल उज्बेकिस्तानसँग फाइनलमा ३-२ ले पराजित भएको थियो । त्यसबेला फाइनलमा हालका कप्तान सावित्राले उज्वेकिस्तान विरुद्ध २ गोल गरेकी थिइन् । तर त्यो जितका लागि पर्याप्त भएन ।

अहिलेसम्म तीन खेल खेल्दा नेपालबाट उज्बेकिस्तान विरुद्ध गोल गर्दे पेमा र सावित्रा दुई खेलाडी मात्र हुन् । तीन खेलमा उज्बेकिस्तानले ११ गोल गर्दा नेपालले जम्मा ३ गोल मात्र गरेको छ ।

नेपालले उज्बेकिस्तान विरुद्ध पहिलो गोल गर्दा सन् १९९९ मा महिला एसियन कप खेलेको थियो । त्यसको २६ वर्षपछि फेरि एसियन कप पुग्ने लक्ष्यमा रहेको नेपालका लागि अहिले त्यही उज्बेकिस्तान मुख्य चुनौतीको रुपमा रहेको छ ।

उज्बेकिस्तानले १९९९ पछि सन् २००१ र २००३ मा पनि महिला एसियन कप खेलेको थियो । उज्बेकिस्तान पनि २२ वर्षपछि महिला एसिया कपमा छनोट हुने लक्ष्यमा छ ।

घरेलु मैदान र समर्थक हुँदा उज्बेकिस्तानलाई घरेलु मैदानमा खेल्दा फाइदा हुन सक्छ । नेपालले अहिलेसम्म उज्बेकिस्तानलाई हराउन नसकेको इतिहास रहेकोले यस पटक उज्बेकिस्तानलाई हराउँदै एसियन कप पुगेमा महिला फुटबलमा नयाँ उपलब्धि प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एभर्टनले इंग्लिस प्रिमियर लिगमा सोमबार ओल्ड ट्रायफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको छ । दस खेलाडीमा सीमित रहेर एभर्टनले यो जित निकालेको हो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि इड्रिस गुएलाई सिधा रातो कार्ड देखाइएको थियो । यससँगै एभर्टन १३ मिनेटयता दस खेलाडीमा सीमित रहेर खेल्ने बाध्य रहेको थियो । यही ...
: पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ। सोमबार स्वदेश फर्किएको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् र क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरेका थिए। श्रीलंकाको कोलम्बोमा आइतबार भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित भएपछि नेपाल उपविजेतामै रोकिएको थियो। स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै दृष्टिविहीन नेपाली टोलीकी कप्तान गीता ...
: नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आज भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगरले लगातार तेस्रो जित निकालेको हो। योसँगै जनकपुरको दोस्रो हार भएको छ। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १३५ रन बनाएको थियो। विराटनगरले दिएको १३६ रनको विजयी ...
। नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीय पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बल्खुबाट ८ जना भारतीयलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको हो । उनीहरूले अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुनेगरी रकम लगानी गरी सट्टेबाजीमा संलग्न रहेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा भारतको ...
। एबेरेची एजेले ह्‍याट्रिक गरेपछि इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले टोटनहाममाथि सहज जित हासिल गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा आर्सनलले टोटनहाममाथि ४-१ गोलअन्तरलको शानदार जित हासिल गरेको हो । एजेको ह्‍याट्रिकबाहेक लियान्द्रो ट्रोसार्डले पनि आर्सनलका लागि एक गोल गरे । टोटनहामका रिचार्लिसनले सान्त्वना गोल गरे । खेलको ३६औं मिनेटमा ट्रोसार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका ...