। लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेट बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभाको छैठौं अधिवेशनको १७औं बैठकले बजेट पारित गरेको हो ।
सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा सभामुख तुलाराम घर्ती मगरले गरेका हुन् ।
पारित बजेटमध्ये चालु खर्चतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार रुपैयाँ कुल बजेटको ३०.८८ प्रतिशत र पुँजीगत खर्चतर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँ अर्थात कुल बजेटको ६०.३२ प्रतिशत विनियोजन गरिएको छ ।
बजेटप्रति सत्तारुढ दलहरु नेपाली कांग्रेस एमाले भित्रै सीमित मन्त्रीले बजेटमा एकलौटी गरेको भन्दै चर्को असन्तुष्टि थियो । नेपाली कांग्रेस प्रदेश समितिले संशोधन गरेर पारित गर्न संसदीइ दललाई निर्देशन दिएको थियो । माओवादी केन्द्रसहित विपक्षी दलहरुले बजेट पुनर्लेखनको माग गरेका थिए ।
प्रदेश सभामा सत्ता पक्षको सुविधाजनक बहुमत भएकाले बजेटप्रति चर्को विरोधकै बीचमा वहुमतले पारित भएपनि चरम असन्तुलित र असमावेशी बजेटबारे निरन्तर विरोध र असहमति जारी रहने माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले बताए ।
उनले प्रदेश सरकार स्थापना भए यताकै अवैज्ञानिक र असन्तुलित बजेट बारे आम प्रदेशवासीलाई जानकारी गराउंदै भण्डाफोर गर्ने बताए ।