: चुमनुब्री-७ छेकम्पारबाट तिब्बती क्षेत्र आवतजावत गर्ने ङुइला नाका खुलेको छ । तिब्बती सुरक्षाकर्मीले अंग्रेजी महिना जुलाईको १ तारिखदेखि नाका खुल्ला गरेको निवर्तमान वडाध्यक्ष पासाङफुञ्जो लामाले जानकारी दिए ।
यसअघि द्विपक्षीय सुरक्षाकर्मी र जनप्रतिनिधिहरू सम्मिलित सीमा सुरक्षा बैठक गरेर मात्र नाका खुल्ला गर्ने तयारी भए पनि गृह मन्त्रालयको आदेश आउन ढिला भएपछि बैठक बिनै नाका खुल्ला गरिएको लामाले बताए । ‘यसपटक तीन महिनाका लागि नाका खुल्ला गरिएको छ’, उनले भने, ‘कोरोनाभन्दा पहिले सधैंका लागि खुल्ला थियो । कोरोनापछि ६ वर्षसम्म बन्द भयो र पोहोर साल एक महिनाका लागि खुलेको थियो । यो साल चाहिँ अलि लामो समयका लागि खुल्ला भएको छ ।’
हालसालै संकलन गरिएको यार्सागुम्बा, वनलसुन तिब्बती बजारमा बेचेर त्यहाँबाट खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री ल्याउने भन्दै स्थानीयवासी खुसी भएका छन् ।
चुमनुब्री—१ स्थित रुइला नाका भने हाल खुल्ला भएको छैन । नेपालको गृह मन्त्रालयबाट बैठकका लागि आदेश आए पनि तिब्बती पक्षले बैठक आह्वान गरेका छैनन् । नाका कहिले खुल्ने पनि निश्चित नभएको स्थानीयको भनाइ छ ।