। नेकपा एकीकृत समाजवादीका उपमहासचिव राजेन्द्र राईले पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधिएकाले प्रतिवादमा उत्रनुपर्ने बताएका छन् ।
केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा पूर्वमुख्यमन्त्री राईले माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधिएकोबारे प्रष्ट हुनुपर्ने तर्क गरेका थिए ।
‘केपी ओली प्रधानमन्त्री छन्, उनको नेतृत्वमा यस्तो काम (प्रतिशोध साँध्ने) हुन्छ भन्नेमा हामी प्रष्ट हुनुपर्छ, भ्रममा पर्नु हुँदैन’, राईले बैठकमा भनेका छन् ।
राजनीतिक प्रतिशोध कसरी साँधिन्छ भन्ने बुझाउन राईले पञ्चायतकालीन समय सम्झिएका थिए । ‘पञ्चायतकालमा हामी भन्ने गर्थ्यौं– क्रान्तिकारीहरू बस्ने ठाउँ जेलमा हो । किनकि प्रतिक्रियावादी सत्ताले क्रान्तिकारीहरूलाई अभियोग लगाउन कुनै कसर बाँकी राख्थेनन्, यसबारे हामी अवगत नै छौं’, राईले बैठकमा भनेका थिए ।
अहिले ओली नेतृत्वमा पनि क्रान्तिकारीहरूलाई आरोप लगाउने र मुद्दा चलाउने काम हुन थालेको उनले बताएका थिए । ‘अझै धेरै यस्तो हुन सक्छ । किनकि हामी क्रान्तिको कित्तामा उभिएका छौं’, राईले भनेका थिए ।