मुख्य समाचार
प्रादेशिक अस्पताल जनकपुरमा बिरामीलाई नि:शुल्क उपलब्ध गराउने औषधि महिनौदेखि अभाव
प्रादेशिक अस्पताल जनकपुरमा बिरामीलाई नि:शुल्क उपलब्ध गराउने औषधि महिनौदेखि अभाव

। प्रादेशिक अस्पताल जनकपुरमा बिरामीलाई नि:शुल्क उपलब्ध गराउने औषधि महिनौदेखि अभाव छ । पहिले ७० प्रकारका औषधि नि:शुल्क उपलब्ध हुने प्रादेशिक अस्पतालको नि:शुल्क औषधि शाखामा अहिले २० प्रकारको औषधि छैन । औषधि नपाउँदा दैनिक आउने कम्तिमा ५० जना बिरामीमध्ये धेरै रित्तै फर्किने गरेको शाखामा कार्यरत कर्मचारीहरु बताउँछन् ।

‘औषधि अभावको बारेमा पटक–पटक उपलल्लो निकायमा जानकारी गराएका छौं । तर अहिलेसम्म उपलब्ध भएको छैन’ शाखाका एक कर्मचारीले भने, ‘हामीसँग जेजति औषधि छ । डाक्टरको प्रेस्कृप्सन हेरेर उपलब्ध गराउँछौं । छ्र्रैन भने बिरामी रित्तै फर्किन्छन् ।’




जनकपुर जस्तै अवस्था छ प्रादेशिक अस्पताल मलंगवा, सर्लाहीको पनि । मेडिकल सुपरिटेन्डेन्ट डा.संजिवकुमार सिंहका अनुसार नि:शुल्क उलब्ध गराइने औषधि महिनौंदेखि अस्पतालको स्टोरमा अभाव छ ।

‘औषधि अभाव रहेको महिनौं भयो । ९८ प्रकारका हामीले उपलब्ध गराउने गरिएकोमा अहिले केही औषधि मात्र बाँकी छ । भएको उपलब्ध गराइन्छ । कयौंपटक सम्बन्धित निकायमा भनेका छौं । तर अहिलेसम्म आएको छैन’ उनी भन्छन् ।



प्रादेशिक अस्पताल जनकपुर र प्रादेशिक अस्पताल मलंगवा जस्तै औषधि अभावको अवस्था अन्य अस्पतालको भिन्न छैन । प्रादेशिक अस्पताल जलेश्वर, प्रादेशिक अस्पताल सिरहा, प्रादेशिक अस्पताल गौर, प्रादेशिक अस्पताल कलैया र प्रादेशिक अस्पताल लहानमा समेत महिनौंदेखि नि:शुल्क उपलब्ध गराइने औषधिको अभाव रहेको त्यहाँ कार्यरत कर्मचारीहरु बताउँछन् ।

औषधि खरिदका टेण्डर पटक-पटक रद्द

मनसुनको बेला स्वास्थ्य समस्या झन् बढ्ने बेला नि:शुल्क बाँडिने औषधि नहुँदा खास गरी गरिब र विपन्न परिवार मारमा परेका छन् । उनीहरुले बाहिर चर्को मूल्यमा औषधि खरिद गर्नु पर्ने बाध्यता छ ।

यस आर्थिक वर्षमा नि:शुल्क वितरण गर्ने औषधि ठूलो परिमाणमा खरिद नहुँदा त्यसको मार भने प्रादेशिक अस्पताललाई वर्षैभरि खेप्नुपर्ने देखिन्छ । जसको मार हजारौ गरिब तथा विपन्न बिरामीले खेप्नुपर्ने छ ।

औषधि खरिद गर्न मधेश सरकारले प्रादेशिक अस्पतालहरुलाई नै खासै बजेट विनियोजन गर्दैन । औषधि, स्वास्थ्य उपकरण खरिद तथा व्यवस्थापनको जिम्मा मधेश सरकार मतहत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको छ । ६ वटा प्रादेशिक अस्पतालमा आपूर्तिले नै औषधि तथा उपकरण व्यवस्थापनको काम गर्छ । तर चालु आर्थिक वर्षको असार मसान्त बित्न लाग्दा समेत आपूर्तिले केही बाहेक औषधिहरु खरिद गरेर दिन सकेको छैन ।

आपूर्तिले ठूलो परिमाणमा औषधि खरिदको लागि पुस यता दुईपटक टेण्डर आह्वान गरिसकेको छ । तर दुबै पटकको टेण्डर भने फेल भइसकेको छ ।

गत वैशाखमा दोस्रो पटक झण्डै १० करोडको औषधि खरिद गर्न निकालेको तीनवटा टेण्डर फेल भएको छ ।

औषधि खरिद शाखका अधिकृत रुद्रनारायण महतोका अनुसार ४९ प्रकारको औषधि खरिद गर्न वैशाख १५ मा सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गरिएको थियो । ७ करोड ७३ लाख ८८ हजार ४१९ रुपैयाँ रकममा सो परिमाणमा औषधि आपूर्तिका लागि चारवटा फार्मेसीले प्रस्ताव पेश गरेका थिए । ब्लुमुन मेडिटेक फर्मा, नक्साल, लभ मेडिकल जलेश्वर, जिएच मेडिहेल्थ कन्सल्ट प्रा.लि.मध्यपुर ठिमी र सोहन मेडि हेल्थ भरतपुरको प्रस्ताव परेको थियो । तर ती प्रस्ताव नै त्रुटिपूर्ण रहेको कारण देखाउँदै टेण्डर रद्द भयो ।

यसैगरी नसर्ने रोगका लागि नि:शुल्क वितरण गर्न २९ प्रकारका औषधि २ करोड ६५ लाख ६६ हजार ९९८.५० खरिद गर्न वैशाख ३ मा सूचना प्रकाशन गरी प्रस्ताव आह्वान गरेको थियो । जसमा पाँचवटा प्रस्ताव पेश भएका थिए । मेडिबोल्ट इन्टरनेशनल प्रा. लि. मध्यपुर ठिमी, सोलुसन मेडिटेक प्रा.लि. गैहरी धारा नक्साल, मेडिकार्ड नेपाल प्रा.लि. भरतपुर, लभ मेडिकल जलेश्वर र सोहन मेडि हेल्थ, भक्तपुरको प्रस्ताव परेको थियो । यी प्रस्तावहरुमा पेश भएको प्राविधि प्रस्ताव पनि त्रुटिपूर्ण रहेको भन्दै टेण्डर फेल भएको अधिकृत महतोले बताए ।

जालझेलको कारण आपूर्तिले यस वर्ष ठूलो परिमाणमा औषधि खरिद नगरेको कार्यालयका एक कर्मचारी बताए ।
यस्तै वैशाख ४ गते पनि नसर्ने रोग सम्बन्धी औषधि खरिदका लागि अर्को २९ प्रकारका औषधि खरिद गर्न सूचना प्रकाशन भइ प्रस्ताव आह्वान भएको थियो । ४४ लाख २७ हजार ८३१.११ रकमको खरिद गर्न चारवटा प्रस्ताव परेका थिए । जसमा यसअघिका मेडिकार्ड बाहेक चारवटै फर्मको प्रस्ताव परेको थियो । तर यसमा पनि प्राविधिक प्रस्तावको कागजात त्रुटिपूर्ण रहेको भन्दै प्रस्ताव फेल भएको आपूर्ति केन्द्रले जनाएको छ ।

तीनवटै टेण्डरको प्राविधिक प्रस्ताव फेल हुँदा औषधि खरिद गर्न नसकिएको आपूर्तिका निर्देशक डा. सुनिल कुशवाहा बताउँछन् । ‘दुई–दुईपटक टेण्डर आह्वान भयो । तर परेका प्रस्तावहरुको टेक्निकल प्रस्ताव नै त्रुटिपूर्ण थियो । त्यसकारण खरिद गर्न सकिएन’ उनले भने ।

अब प्राविधिक प्रस्ताव फेल भइसकेकाले यी बजेटहरुबाट औषधि खरिद गर्न नसकिने उनको भनाइ छ ।

तर रद्द भएका टेण्डरहरु भने पहिलो र दोस्रो पटक होइन । गत पुसमा तत्कालीन निर्देशक डा. राजिव झाले टेण्डर आह्वान गरेका थिए । उनको सरुवा भइ कुशवाहा माघमा निर्देशकको जिम्मेवारीमा आएपछि वैशाख र जेठमा गरी दुईपटक टेण्डर आह्वान गरिएको थियो । तर दुबैपटक फेल भइसकेको छ ।

असार १२ गते एक पत्रिकामा चारवटा टेण्डर रद्दको सूचना आपूर्ति केन्द्रले प्रकाशन गराएको छ ।

जालझेलको कारण आपूर्तिले यस वर्ष ठूलो परिमाणमा औषधि खरिद नगरेको कार्यालयका एक कर्मचारी बताए । ठूलो परिमाणमा नि:शुल्क औषधि खरिद सम्बन्धी टेण्डरमा आफ्नो स्वार्थ अनुसारको कम्पनीलाई नपरेपछि विधिसम्मत परेका प्रस्ताव समेत त्रुटिपूर्ण ठहर गरेर रद्द गर्ने गरिएको कार्यालय स्रोतको दावी छ । यो टेण्डर रद्द निर्देशक कुशवाहाले एकल निर्णयमा गरेको कार्यालय स्रोतको दावी छ ।

तर कुशवाहाले प्रक्रिया अनुसार नै खरिद समिति र मूल्यांकन समितिको टिप्पणी अनुसार नै टेण्डर रद्द गरेको दावी गरे । ‘मैले एकल निर्णयबाट होइन । खरिद समिति र मूल्यांकन समितिको टिप्पणी अनुसार टेण्डर रद्द निर्णय गरिएको होे’ निर्देशक कुशवाहाले दावी गरे ।

यद्यपि विभिन्न विज्ञापन मार्फत आपूर्ति केन्द्रले सानो परिमाणमा मात्र औषधि खरिद गरेको छ । जी टु जी मार्फत २६ लाखको सिटामोल र ओआरएस औषधि नेपाल औषधि लिमिटेडबाट खरिद गरेको छ । १ करोड ७३ लाखको औषधि खरिद गरिसकेको र सवा २ करोडकको १५ प्रकारको औषधि खरिदका लागि प्रस्ताव आह्वानमा परेको प्राविधिक प्रस्ताव दुरुस्त रहेको कुशवाहा बताउँछन् ।

कुशवाहाले आफ्नो व्यक्तिगत स्वार्थ पूरा हुने टेण्डरमा शीर्षक नमिलेको १० करोडमा मेमो ग्राफी खरिद गर्न लागरेको आरोप छ । यसैगरी आइरन एण्ड फोलिक एसिडको टेण्डरमा प्रक्रिया नमिलेपनि तीन करोडमा खरिद गर्न सम्झौता गरेको कार्यालय स्रोतको भनाइ छ । तर कुशवाहाले यी कुराहरु विधि प्रक्रिया पूर्वक मात्र खरिद गर्न लागेको दावी गरेका छन् ।

आपूर्ति केन्द्रमा ठूलो परिमाणमा औषधि र उपकरण खरिद गर्ने रकम हुँदा त्यहाँ कार्यालय प्रमुख जान हानथाप हुने गरेको छ

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले जंगली रातो बाँदरलाई पुन: कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले दोस्रो पटक जंगली रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार सूचना प्रकाशन भएको मितिले एक वर्षसम्मका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको हो । कृषि वन्यजन्तु घोषणा भएसँगै जंगली रातो बाँदरले निजी खेत, ...
। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन दिएकी छिन् । मंगलवार काठमाडौंको डिल्लीबजारस्थित पद्यकन्या माविमा सो खोपको उद्घाटन गर्दै उनले महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभाग र सम्बन्धित सबै पक्षलाई सो अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सचेत गराएकी हुन् । सरकारले पाठेघरको मुखको क्यान्सर प्रतिरोधी सो खोप नि:शुल्क ...
: काठमाडौं महानगरपालिकाले महानगरभित्र मंगलबारदेखि एचपीभी विरुद्धको खोप सुरु गरेको छ। कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई दिइने खोप अभियान फागुन ६ गतेसम्म चल्ने महानगरले जनाएको छ। मंगलबार पदमकन्या विद्याश्रम माध्यमिक विद्यालय, डिल्लीबजारमा खोप कार्यक्रम सुरु गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले महिलाहरूमा हुन सक्ने पाठेघरको मुखको ...
: नेपालमा सबैभन्दा बढी नवजात शिशु मृत्यु दर सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षणका अनुसार सुदूरपश्चिम प्रदेशमा एक हजारमा २६ जना नवजात शिशुको मृत्यु हुने गरेको छ। त्यस्तै सबैभन्दा कम बागमती प्रदेशमा प्रतिहजार १० जना छन्। त्यस्तै शिशु मृत्युदर पनि सबैभन्दा धेरै सुदूरपश्चिमै रहेको छ। तथ्यांक कार्यालयका ...
: पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउने उद्देश्यले फागुनको पहिलो साता स्याङ्जाका किशोरीलाई एचपीभी खोप लगाइने भएको छ ।फागुन ४ र ५ गते जिल्लाभरका १,७९१ किशोरीलाई ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप लगाइने भएको जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । खोप लगाउनेमध्ये १,७९० जना विद्यालय जाने किशोरी हुन् भने एक जना विद्यालय नजाने अर्जुनचौपारीका किशोरी रहेको कार्यालयले जनाएको ...