मुख्य समाचार
बुटवल–नारायणगढ खण्डको दुम्कीबासस्थित विनयी खोला पुल ५ महिनामै तयार
बुटवल–नारायणगढ खण्डको दुम्कीबासस्थित विनयी खोला पुल ५ महिनामै तयार

। नेपालमा पुल निर्माणमा नयाँ कीर्तिमान बनेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ खण्डको दुम्कीबासस्थित विनयी खोला पुल ५ महिनामै तयार पारी बिहीबारदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको छ ।

नारायणगढ–बुटवल सडक योजना (पूर्वी खण्ड) का सूचना अधिकारी इन्जिनियर शिव खनाल यसलाई अभूतपूर्व उपलब्धि ठान्छन् । ‘५ वर्षदेखि घस्रिँदै हिँडिरहेको नारायणगढ–बुटवल सडक योजना अन्तर्गत ५ महिनाको छोटो अवधिमा २ सय ४५ मिटर लामो पुल सञ्चालन आफैंमा एक अभूतपूर्व उपलब्धि हो ।’




यो पुल यति छिटो बन्नुमा भने विनयी खोलाको ५० वर्ष पुराना पुल भाँच्चिनु मुख्य कारण हो । २६ पुस २०८१ मा अधिक भारबहन गरेको ७२ चक्के मालवाहक सवारीका कारण नारायणगढतर्फको एक स्पान पूर्णरूपमा र सँगैको अर्को स्पानमा आंशिक क्षति पुगेको थियो ।

‘पुरानो पुल नभाँच्चिएको भए नयाँ पुल बन्न कति वर्ष लाग्थ्यो, यसै भन्न सकिँदैन,’ खनालले अनलाइनखबरसँग भने, ‘त्यसपछि त कामलाई गति दिनुको विकल्पै भएन नि !’



विनयी खोलामा ५ दशक अगाडि बेलायती सहयोगमा पुल बनेको थियो । यो पुल कति भारबहन क्षमताको हो निश्चित थिएन । पुलको डिजाइन डेटा, ड्रइङ र अन्य कुनै रेकर्ड नभएको सूचना अधिकारी खनालले जानकारी दिए ।

पुल भाँच्चिएपछि सोही पुलको तलतिर रातिको समयमा चार घण्टासम्म लगातार काम गरी डाइभर्सन सडक तयार पारी यातायात खुलाइएको थियो । पुलको माथितर्फ भने २४ घण्टाभित्र १.३० किलोमिटर लामो डाइभर्सन सडक तयार पारेर यातायात सञ्चालनमा ल्याइएको थियो ।

त्यो बेला तत्कालका लागि सडक खुलाइए पनि पुरानो पुल मर्मत गरेर वर्षा अगाडि सञ्चालनमा ल्याउने वा नयाँ पुल बनाउने भन्ने चुनौती खडा भएको उनले स्मरण गरे ।

त्यसपछि सडक विभागले पुरानो पुल मर्मत गरेर सवारी सुचारु गर्न नसकिने निष्कर्ष निकाल्यो । यो निष्कर्षसँगै वर्षाअघि नै नयाँ पुल बनाएर सञ्चालन गर्ने चुनौती स्वीकार गरिएको उनले बताए ।

‘नयाँ पुल केवल एक पुलमात्र थिएन, आफैंमा एउटा सपना थियो, चुनौती थियो, बाध्यता थियो र एक दृढ अठोट पनि,’ उनले भने ।

नेपालमा ३०/४० मिटर लामो पुल निर्माणमा वर्षौं लाग्ने गरेको र कतिपय पुल निर्माणकै चरणमा ढलिसक्ने अवस्थाबीच यो पुल निर्माणको गतिलाई उनी ठूलो उपलब्धि मान्छन् ।



पुरानो पुल भाँच्चिनु अघि कुन हालतमा थियो नयाँ पुल ?

यस पुलका कुल ८ मध्ये २ वटा स्पानमा मात्र सुपरस्ट्रक्चरको काम सकिएको थियो । २ वटा स्पानमा ‘गर्डर लन्चिङ’ को काम सम्पन्न भएको थियो । बाँकी ४ वटा स्पानलाई आवश्यक २० वटा गर्डरको भने सुरसार नै थिएन ।

५ वर्षदेखि निकै सुस्त गतिमा काम गरेको चिनियाँ निर्माण व्यवसायी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कोअपरेसनले समेत काममा गति दियो । वर्षाअघि बाँकी रहेको ६ स्पानको सुपरस्ट्रक्चर र दायाँ–बायाँको एप्रोच सडकसमेत बनाउन निर्माण व्यवसायीकै सक्रियताले भूमिका खेलेको उनले बताए ।

उनका अनुसार ६ माघ २०८१ देखि निर्माण व्यवसायीले २० वटा प्रिकास्ट गर्डरको कास्टिङको काम थाल्यो । अघिल्लो वर्ष नै गर्डर लन्चिङको काम सम्पन्न भएका दुई स्पानको डेस्क स्ल्याब बनाउने काम चैत २०८१ भित्रै सम्पन्न भयो ।

सोही अवधिमा २० गर्डरको कंक्रिटिङ गर्ने कामसमेत सम्पन्न गरी प्रिस्ट्रेसिङ र ग्राउन्डिङको काम सम्पन्न गरिएको थियो । नेपालमा भारी क्षमताका क्रेन नभएका कारण १ सय २० टन क्षमताका २ वटा क्रेन भारतबाट ल्याई ९ वैशाखदेखि नयाँ गर्डर लन्चिङको काम थालिएको थियो ।



चार वटा स्पानलाई २३ वैशाखदेखि डेस्क स्ल्याब कंक्रिटिङको काम सुरु गरी २१ जेठमा सम्पन्न गरियो । अन्तिम स्पानको कंक्रिटिङ २१ जेठमा सकिएको थियो । त्यसपछि एप्रोच सडक समेत तयार पारी पुल निर्माणको काम १८ असार २०८२ मा सम्पन्न भयो ।

‘सबै काम योजना अनुसार नै अगाडि बढ्यो, कुनै एक गतिविधिमा मात्र असर भएको भए पनि आजको दिनमा यो पुल खोल्न सम्भव थिएन,’ उनी भन्छन् ।

यस अवधिमा डाइभर्सन सडकमात्र ९ पटक बग्यो । त्यसबेला पुन: मर्मत गरी सडक चलाइयो । यात्रुलाई होङ्सी सिमेन्ट–सर्दी–ज्यामिरे–दुम्कीबासको २२ किलोमिटर लामो सडक प्रयोग गर्न भनियो ।

सास्ती अब हट्ला ?

अहिले नारायणगढ–बुटवल सडक खण्डको सबैभन्दा सास्ती भएको पुल विनयी खोला नै थियो । यो आयोजनामा अझै दुई वटा पुल पुराना र जीर्ण छन् । अरुण खोला पुल र चोरमारा पुल । यी पुलमा अहिले मान्छे खटाएर अधिक भारका सवारीसाधन एकसाथ पुलमा चल्न रोकिएको छ ।

‘यी पुल नयाँ नबनेसम्म जोगाउनु छ, त्यसकारण मान्छे खटाएका छौं,’ सूचना अधिकारी खनाल भन्छन्, ‘अन्य स्थानमा भने जोखिम छैन ।’

विनयी खोलामा पुल बनेसँगै अब जोखिम र सास्ती दाउन्ने सडक खण्डमा केन्द्रित भएको छ । उक्त खण्डमा ठूलो पानी पर्दा हिलोले यात्रा जोखिमपूर्ण हुने अवस्था अझै छ । तर, लगातार पानी पर्दा हिलो पखालिने र त्यसपछि ढलान भेटिसकेपछि गाडी चिप्लिने समस्या कम हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्यार्थी संघले ‘विद्यालय शिक्षा विधेयक, २०८०’ तत्काल ऐनको रूपमा जारी गर्न माग गरेको छ। संघले हालै जारी गरेको विज्ञप्तिमा सरकार र राजनीतिक दलहरूले शिक्षाजस्तो संवेदनशील विषयमा गैरजिम्मेवार व्यवहार देखाएको भन्दै आपत्ति जनाएको छ। शिक्षक छनोट योग्यताको आधारमा १०० प्रतिशत खुला प्रतिस्पर्धाबाट मात्र गर्नुपर्ने, शिक्षालाई युगसापेक्ष, प्रविधिमैत्री र गुणस्तरीय बनाउनु पर्ने, साथै राहत शिक्षक र अस्थायी ...
चोभार गल्छीबाट ऐतिहासिक चट्टान हटाउने कुनै योजना छैन : शहरी विकास मन्त्रालय
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली विद्यालय खडा गरी भ्रष्टाचार गर्ने चार जनाविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले डोल्पाका जिल्ला प्राविधिक कार्यालय दुनैका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, तत्कालीन लेखापाल मुनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र उपभोक्ता समितिका कोषाध्यक्ष संगीता बुढाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। डोल्पाको तत्कालीन दुनै गाविसमा हुँदै नभएको ...
। पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो शालिग्राम शिला विगत एक महिना यता डुबानमा परेको छ । मनसुन सुरु भएसँगै कालीगण्डकी नदीको सतह बढेका कारण शालिग्राम शिला डुबानमा पर्नुका साथै आसपासका संरचनासमेत भत्किएर जोखिममा परेको छ । शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमा स्थल डुबिसकेको शालिग्राम विद्याश्रमका संरक्षक कुलराज तिवारीले जानकारी ...
: मोरङमा ट्याक्टर चालकको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको छ। गम्भीर घाइते भएका ट्रक चालकको बिहीबार दिउँसो मृत्यु भएको हो। ट्रकका चालक सर्लाहीको धुर्कैली घर भएका ५६ वर्षीय गोर्खबहादुर दोङको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए। उनका अनुसार दोङले ना ५ ख ५६१६ नम्बरको ट्रक चलाउँथे। उनीमाथि कटहरी गाउँपालिका–३ स्थित इको पावर ...