मुख्य समाचार
पूर्वराष्ट्रपति विद्या भण्डारीको नाम उछालेर नेकपा एमालेभित्र विवाद सिर्जना गर्ने नियोजित प्रयास भइरहेको आरोप
पूर्वराष्ट्रपति विद्या भण्डारीको नाम उछालेर नेकपा एमालेभित्र विवाद सिर्जना गर्ने नियोजित प्रयास भइरहेको आरोप

। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको नाम उछालेर नेकपा एमालेभित्र विवाद सिर्जना गर्ने नियोजित प्रयास भइरहेको आरोप लगाएका छन् । उनले यस्ता गतिविधिबाट पार्टीभित्र गलत सन्देश दिन खोजिएको बताए ।

स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बिहीबार साँझ म्याड्रिडस्थित नेपाली राजदूत निवासमा युरोपस्थित नेपाली समुदायका प्रतिनिधिसँगको छलफलमा भने, ‘पछिल्लो समय मेराविरुद्ध विद्या भण्डारी–विद्या भण्डारी भन्ने चर्चा चलाइएको छ । उहाँले आफैं केही भन्नुभएको छैन, अरूले उहाँको नाम अगाडि सारेका छन् ।’




उनले नेकपा एमाले परिपक्व र जिम्मेवार पार्टी भएको उल्लेख गर्दै आन्तरिक विषयहरू समाधान गर्न पार्टी सक्षम रहेको दाबी गरे ।

‘देशबाट गरिबी हटाउनु छ, नेपाललाई आधुनिक र विकसित बनाउनु छ,’ उनले भने, ‘एमालेले विभिन्न उतारचढाव पार गरेको छ र अझ जिम्मेवार भएर अघि बढ्नेछ ।’



प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसभित्र पनि विवादहरू रहेको जनाउँदै ती विषयको पनि समाधान आवश्यक रहेको धारणा राखे ।

‘नयाँ नाममा आएकाहरूको वास्तविकता खुलिसकेको छ’

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत केही समूहले निराशा र भ्रम फैलाउने काम गरिरहेको बताए ।

उनले विदेशमा रहेका नेपालीहरूलाई यस्ता भ्रामक प्रचारबाट प्रभावित नहुन आग्रह गर्दै भने, ‘देशमा सकारात्मक परिवर्तन सम्भव छ भन्ने विश्वासका साथ अघि बढ्नुपर्छ । तपाईंहरू विदेशमा भए पनि मातृभूमिको समृद्धिमा जोडिनु पर्छ ।’

उनले पछिल्लो समय आफूलाई ‘नयाँ शक्ति’ भनेर चिनाउने केही समूहले सहकारीलगायत माध्यमबाट आर्थिक अनियमितता गरिसकेको आरोपसमेत लगाए ।

‘नयाँ नाममा आएका यस्ता शक्तिहरूको वास्तविकता जनतामाझ खुलिसकेको छ,’ उनले भने, ‘हल्ला र प्रचारले मात्रै राजनीति सम्भव छैन । जनताले विश्वास गर्ने आधार ठोस काम र स्पष्ट दृष्टिकोण हो ।’

राम्रो काम नहुने वातावरण बनाइँदैछ : ओली

प्रधानमन्त्री ओलीले नेपालमा राम्रो कामलाई रोक्ने प्रवृत्ति मौलाउँदै गएको पनि बताए । उनले सर्वोच्च अदालतले ५२ संवैधानिक आयोगका पदाधिकारीहरूको नियुक्ति सदर गर्ने निर्णयसँग जोड्दै देशमा विकासका प्रयासहरूविरुद्ध निरन्तर अवरोध सिर्जना गरिएको बताए ।

‘नेपालमा अहिले एउटा माहोल बनेको छ,’ उनले भने, ‘हिजो सर्वोच्च अदालतले एउटा फैसला गर्यो । केही तत्वहरू जमेर उजुरी हाल्न थाले । उनीहरूको उद्देश्य के हो भने राम्रो काम हुन नदिने । मुद्दा हाल्ने, काम रोक्ने प्रवृत्तिले मुलुकको समग्र प्रगति अवरुद्ध बनाउने खतरा छ ।’

प्रधानमन्त्रीले विकास निर्माणका काममा समेत मुद्दा हाल्ने प्रवृत्तिले योजना ठप्प हुने स्थिति बनाएको बताए । ‘बाटो बनाउने काममा मुद्दा दर्ता भइहाल्छ,’ उनले भने, ‘यदि केही गल्ती भएको छ भने काम रोक्न आदेश आउँछ । तर फैसला आउन २–३ वर्ष लाग्छ । त्यो बेलासम्म न त मेसिन रहन्छ, न कामदार। यसले स्रोतको दुरुपयोग मात्रै होइन, कार्यान्वयन प्रक्रिया नै ठप्प बनाउँछ ।’

उनले कानुनी प्रक्रिया आवश्यक भए पनि त्यसलाई ‘काम रोक्ने हतियार’को रूपमा प्रयोग नगर्न आग्रह गरे ।

नेपालीलाई स्वदेश फर्कन आह्वान

उनले युरोपमा रहेका नेपालीहरूको सक्रियता, योगदान र मातृभूमिप्रतिको सम्बन्धलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले विदेशमा रहेका नेपालीहरूलाई स्वदेश फर्केर आफ्नो सीप, श्रम र पुँजी देशको विकासमा लगाउन आग्रह गरे । ‘देश तपाईंहरूको पर्खाइमा छ,’ उनले भने, ‘जे आर्जन गर्नु छ, गरेर चाँडै फर्किनुहोस् । सरकार सहकार्यका लागि तयार छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एकीकृत समाजवादीका सांसद वेदुराम भुसालले प्रतिनिधिसभाबाट पारित भइ राष्ट्रिय सभामा पुगेको संघीय निजामती सेवा सम्बन्धी विधेयकको प्रतिवेदन प्राप्त नभएको बताएका छन् । प्रतिनिधिसभामा विवादमा रहेको उक्त विधेयक गायब पार्न खोजिएको हो कि भन्ने आशंका रहेको पनि भुसालले बताए । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सांसद भुसालले राष्ट्रिय सभामा टेबुल भइसकेको विधेयकको प्रतिवेदन सांसदहरूलाई वितरण नगरिएको बताए । ...
— बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई हात्तीले आक्रमण गरेको हो । गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
— राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन् । सभाको आजको बैठकबाट आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२ पारित भएका हुन् । राष्ट्रियसभाले ती विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयकलाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा ...
— आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सिफारिस गर्ने बेला सांसददेखि प्रदेश र स्थानीय तहबाट आफूहरूका योजना समेटिदिन दबाब बढेपछि सहरी विकास मन्त्रालयले टुक्रे योजना समेट्नुपरेको बताएको छ । त्यस्तै केही सञ्चालनमा रहेका योजना पनि सम्पन्न गर्न हजार र लाखमा बजेट विनियोजन गर्नुपरेको मन्त्रालयले प्रस्ट्याएको छ । संघीय बजेटमा तीन करोड रुपैयाँभन्दा मुनिका टुक्रे योजना समावेश नगर्ने ...
— सर्वोच्च अदालतको अन्तरिम आदेशपछि आंशिक प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला शुक्रबार खोलेको छ । बुधबार सर्वोच्चका न्यायधीश नृपध्वज निरौलाको इजलासले तालाबन्दी नगर्नु/नगराउनु, ताला लगाएको भए खोल्नु/खोलाउनु भनेर अन्तरिम आदेश दिएको थियो । संघले उपकुलपति, रेक्टर, रजिष्ट्रार र सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको थियो । असार २२ गते त्रिवि सभाको आयोजना गरिएकाले त्यसका लागि ताला खोलिएको ...