— स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–साँगा सडकखण्डको काम वर्षाका कारण रोकिएको छ। मनसुन सकिएपछि पुनः काम सुरु गरिने आयोजनाले जनाएको छ।
उक्त सडकखण्डको पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधका कारण चार महिनादेखि काम ठप्प रहेको सडक विभागअन्तर्गत सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ। आयोजनाका अनुसार धुलिखेलमा एक किलोमिटर मुख्य सडक पक्की गरिए पनि वर्षाका कारण थप पक्की गर्न सकिएको छैन।
सबै सामग्री तयारी अवस्थामा रहे पनि वर्षाका कारण धुलिखेलबाट बनेपातर्फको सडक तथा बनेपास्थित जनागाल क्षेत्रमा एक किलोमिटर सडक पक्की गर्न नसकिएको जानकारी आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले दिएका छन्।
खनालका अनुसार सडक विस्तारसँगै बनेपा क्षेत्रमा करिब ५० वटा बिजुलीका पोल हटाउनुपर्ने तथा २८ किलो क्षेत्रमा एक घर हटाउने कामसमेत रोकिएको छ। बनेपा सहरको पूर्वी भाग चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किलोमिटर सडकको ढल निर्माण कार्य भइरहेको भए पनि वर्षाका कारण काम पूर्ण रूपमा ठप्प रहेको छ।
पुलबजार क्षेत्रमा ‘सेन्टर लाइन’ को विषयलाई लिएर स्थानीयको अवरोधका कारण चार महिनादेखि विस्तारकार्य रोकिएको हो। सेन्टर लाइनबाट दायाँबायाँ ७५/७५ फिट (कुल १५० फिट) क्षेत्राधिकार भए पनि १४० फिटमा मात्र काम भइरहेको भन्दै स्थानीयले दुवै तर्फका घरमा बराबरी छुट्टाइनुपर्ने माग राखेका कारण विवाद उत्पन्न भएको हो।
सडकको डिजाइनअनुसार बीच भागबाट बराबरी छुट्टाइनुपर्ने भएकाले निर्माण कार्य अघि बढाइएको भए पनि स्थानीयले दूरीमा बराबरी हुनुपर्ने अडान राखेका कारण निर्माण कार्य रोकिएको खनालले बताए। पटक–पटक सरोकारवालासहित बनेपा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबीच छलफल गरिए पनि निष्कर्षमा पुग्न नसकेको बताइएको छ।
स्थानीयको अवरोधसँगै मापदण्डभित्रका घर–टहरा हटाउनुपर्ने, बिजुलीका पोल स्थानान्तरण, अप्टिकल फाइबर तथा हाइटेन्सन पोल हटाउनुपर्ने कामसमेत रोकिएको जनाइएको छ। यसै कारण बनेपाको मुख्य सहर क्षेत्रमा समेत निर्माण कार्य रोकिएको छ।
यसैबीच अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार गर्ने काम निर्धारित समयमा नसकिने भएको छ। आयोजनाका अनुसार बाँकी करिब छ महिनाको अवधि भित्र कार्य सम्पन्न गर्न नसकिने अवस्था देखिएको हो।
वि.सं. २०७९ पुस २४ गते सुरु गरिएको १६ किलोमिटर लम्बाइको यो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण थालिएको थियो। सडकलाई सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता भएको थियो।
हाल दुवै खण्डको निर्माण कार्य करिब ५० प्रतिशत पूरा भएको जनाइएको छ। पहिलो चरण अन्तर्गत साँगादेखि धुलिखेल ८.४ किलोमिटर सडक विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँ तथा दोस्रो चरण अन्तर्गत सूर्यविनायक–साँगा सडकखण्डका लागि तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँमा सम्झौता भएको हो।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर तथा सूचना अधिकारी सजना अधिकारीका अनुसार समयमै काम सम्पन्न नहुने देखिएकाले समय थप गर्नुपर्ने अवस्था आएको छ। अधिकारीका अनुसार मापदण्डभित्रका घर–टहरा भत्काउने, रुख हटाउने, बिजुलीका पोल तथा अप्टिकल फाइबर केबल प्रतिस्थापनका कारण पनि काम ढिलो भएको हो।
त्यस्तै, साँगा–धुलिखेल खण्डमा पुल तथा व्यक्तिगत घरको विवाद, मापदण्डभित्रका घर हटाउन नसक्दा काममा ढिलाइ भएको जानकारी दिइएको छ। निर्धारित समयभित्र करिब ६५ प्रतिशत भौतिक निर्माण कार्य सम्पन्न हुने अनुमान गरिएको छ।