: सुर्खेतको भेरीगंगा नगरपालिका–८ कुइरेमा रोपाइँको क्रममा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो करिब ३ बजे वीरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा चट्याङ पर्दा डिल बहादुर शाही गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि मेहलकुना अस्पताल लगिएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त घटनामा चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा पर्वत विक, हुम बहादुर थापा, नविन विक र सुनिता गिरी रहेका छन्।
उनीहरु सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको मेहलकुना अस्पतालमै उपचार भइरहेको छ। घटनापछि इलाका प्रहरी कार्यालय छिन्चुबाट प्रहरी निरीक्षक पदमबहादुर खत्रीको नेतृत्वमा १० जना र अस्थायी प्रहरी पोस्ट जहरेबाट प्रहरी सह–निरीक्षक खगेन्द्र सुनारको नेतृत्वमा ५ जना प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।