: संघीय निजामती विधेयकको कुलिङ अफ पिरियडमा भएको छेडखानीको छानबिन गर्न विशेष संसदीय समिति गठन गरिने भएको छ।
शनिबार सभामुख निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकबीच भएको छलफलले कुलिङ अफ पिरियडमा भएको छेडखानीबारे छानबिन गर्न सात सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।
सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुखले विशेष संसदीय समिति गठनको घोषणा गरी अनुमोदन गरिने उनले बताए।
समितिमा कांग्रेस र एमालेबाट २–२ जना तथा माओवादी, रास्वपा र राप्रपाबाट १–१ जना सदस्य रहने र समितिको नेतृत्व कांग्रेसले गर्ने बर्तौलाले जानकारी दिए। उनले संसद्को नियमावलीको नियम १८० बमोजिम गठन हुने समितिलाई छानबिनका लागि १५ दिनको समय दिइने बताए।
त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सोमबार बस्ने प्रतिनिधिसभा बैठक अघि सबै दलले समितिमा रहने सदस्यहरूको नाम उपलब्ध गराउने जानकारी दिए।
त्यस्तै छलफलमा संसद्को आगामी बैठकको क्यालेन्डरका विषयमा समेत छलफल भएको छ। जसअनुसार असार महिनामा २३, २४, २५, २९, ३० र ३१ गते प्रतिनिधिसभाको बैठक बस्ने नेताहरूले जनाएका छन्।