— प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले मुलुकमा काम गर्नका लागि जुनसुकै क्षेत्रमा पनि प्रतिकूलता, असहजता र विघ्नबाधा रहेको अनुभूति भइरहेको बताएका छन् ।
लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको पुस्तक 'सुनेको शासन, भोगेको प्रशासन' विमोचन समारोहमा शनिबार प्रधानन्यायाधीश राउतले कठिन अवस्थामा पनि विचलित नभई अगाडि बढ्नुपर्ने बताए ।
संवैधानिक सीमा र न्यायिक मर्यादको सीमामा रहेकाले आफू धेरै बोल्न नमिल्ने पनि उनको भनाइ थियो । 'म जानकारी गराउन चाहन्छु जुडिसियरीको एउटा पिकुलियर क्यारेक्टर हुन्छ त्यहाँ न्यायाधीश- न्यायाधीशबीचमा बसेर कुनै न्यायिक निराकरण गर्नुपर्यो भने त्यहाँ डिक्टेट गर्न पाइदैन र डिक्टेट गर्न नपाउने भएपछि सबैले आफ्नो सार्वभौमिकताको प्रयोग गरेको हुन्छ । र त्यसलाई सम्मान गर्नुपर्ने ठाउँमा प्रधानन्यायाधीश पनि बस्नुपर्दछ,' उनले भने, 'मेरो दैनिकी कस्तो छ, अनुभवले के देखाएको छ भने मलाई मुलुकमा कुनै काम गर्नलाई जताततै के अनुभूति हुन्छ भने प्रतिकुलता, असहजता, विघ्नबाधा देखिन्छ । प्रतिकूलता, असहजता, विघ्नबाधामा पनि अनुकूलता भेटिन्छ भन्ने मेरो अविचलित विचार र संकल्प बोकेर हिँडेको छु ।'
सर्वोच्च अदालतको संवैधानिक इजलासले असार १८ मा विभिन्न संवैधानिक आयोगहरूमा गरिएको नियुक्ति बहुमतले सदर गरेकोमा सार्वजनिक आलोचना भइरहेका बेला प्रधानन्यायाधीश राउतको उक्त अभिव्यक्ति आएको हो । उनले इजलासमा न्यायाधीशहरू निर्णय गर्न स्वतन्त्र रहेको पनि बताए ।
लोकतन्त्रमा कुनै पनि संस्था सार्वजनिक निगरानीमा हुने र त्यसका कार्यको आलोचना र प्रशंसा हुने गरेको प्रधानन्यायाधीश राउतको भनाइ थियो । 'लोकतन्त्रमा त्यस्तो कुनै व्यक्ति, निकाय वा संस्था अस्तित्वमा हुन सक्दैन जसको कामकारबाही र भूमिका उपर आलोचना र प्रशंसा नहोस् । प्रबुद्ध वर्गले आज हेक्का राखिदिनु पर्ने कुरा के छ भने तपाईहरूले नियतको चाहिँ फरख गर्नैपर्दछ,' उनले भने ।
अदालतको जिम्मा लिन्छु भनेर विगतमा नै आफूले अभिव्यक्ति दिएको बताउँदै उनले त्यसबाट पछि नहट्ने पनि बताए । अहिलेको समय बितृष्णा र निराशामा रहेको पनि उनको भनाइ थियो । 'त्यो वितृष्णा र निराशा चिर्ने अभिभारा पनि हाम्रै हो, हामीले अन्यत्र सुम्पन पाइँदैन,' उनले भने ।