— पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको संख्या १९ जना पुगेको छ । शनिबार अपराह्न भग्नावशेषमा थप तीन जनाको शव फेला परेको उद्धार अधिकारीहरूले पुष्टि गरेका छन् ।
कराँचीको लियारीस्थित बग्दादी क्षेत्रमा पाँच तले आवासीय भवन भत्किँदा उक्त विध्वंसकारी घटना भएको हो ।
उद्धार अधिकारीहरूले पाँच महिलासहित नौ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र उनीहरूको उपचार भइरहेको बताएका छन्।
कराँचीका मेयर मुर्तजा वहाबले भग्नावशेषबाट १९ जनाको शव निकालेको पुष्टि गरेको एआरवाई न्यूजले जनाएको छ । कराँचीका नगरप्रमुख ब्यारिस्टर मुर्तजा वहाबले करिब २० देखि २५ जना मानिस भग्नावशेषमा फसेको अनुमान गरिएको र अझै पुरिएकाहरुको उद्धार कार्य जारी रहेको बताएका छन् ।
नगर प्रमुखले भने, 'उद्धार कार्य अझै जारी छ । टोलीहरू अरू कोही पनि भग्नावशेषमा नफसेको सुनिश्चित नहुँदासम्म काम गरिरहने छन् ।'