मुख्य समाचार
विश्व बैंकले अफगानिस्तान र पाकिस्तानलाई दक्षिण एसिया समूहबाट हटाएर अर्कै समूहमा
विश्व बैंकले अफगानिस्तान र पाकिस्तानलाई दक्षिण एसिया समूहबाट हटाएर अर्कै समूहमा

। विश्व बैंकले अफगानिस्तान र पाकिस्तानलाई दक्षिण एसिया समूहबाट हटाएर अर्कै समूहमा लगेको छ । भारत र पाकिस्तानबीचको पछिल्लो तनावपछि विश्व बैंकले आफ्नो अफगानिस्तान र पाकिस्तानलाई दक्षिण एसियाली क्षेत्रबाट मध्यपूर्व तथा उत्तरी अफ्रिका क्षेत्रमा लगेको हो ।

यससँगै विश्वबैंकले उक्त क्षेत्रको नै परिवर्तन गरी ‘मध्यपूर्व, उत्तरी अफ्रिका, अफगानिस्तान र पाकिस्तान’ राखेको छ । यी दुई मुलुकलाई किन दक्षिण एसियाबाट अलग गरेर यसअघिको मध्यपूर्व र उत्तरी अफ्रिका (मेना) क्षेत्रमा राखिएको भन्ने विषयमा विश्वबैंकले केही उल्लेख गरेका छैन ।




तर, केही जानकार स्रोतहरुलाई भारतको एचटी मिन्टले जनाएअनुसार पाकिस्तानलाई विश्वबैंकले दिने ऋण रोक्नुपर्ने भन्दै भारतले दबाब दिएपछि विश्वबंैंकले यी दुई मुलुकलाई भारतभन्दा अलग समूहमा राखेको हो ।

विश्वबैंकले आफ्नो कार्यसञ्चालन, ऋण प्रवाह तथा तथ्यांकको विश्लेषणलगायत कामका लागि विश्वका देशहरुलाई विभिन्न समूहमा राख्ने गरेको छ । अन्तर्राष्ट्रिय मुद्राकोष, एसियाली विकास निगमलगायतले पनि देशहरुको यस्तै समूह बनाएर काम गर्ने गर्छन् । यस्ता समूहरुलाई उनीहरुले विशेषगरी आफ्नो संस्थागत कामको प्रयोजनका लागि मात्रै प्रयोग गर्छन् ।



यसअघि दक्षिण एसिया क्षेत्रमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका गरी ८ देश थिए । अफगानिस्तान र पाकिस्तानलाई अलग गरेपछि अब यो क्षेत्रमा पाकिस्तान र अफगानिस्तानबाहेकका ६ मुलुकमात्रै रहेका छन् ।

विश्वबैंकले दक्षिण एसिया क्षेत्रको उपाध्यक्षका रुपमा जोहान्स जुटलाई नियुक्त गरेकोसम्बन्धी विज्ञप्तिमा दक्षिण एसियाली क्षेत्रका देशमा पाकिस्तान र अफगानिस्तानको नाम थिएन । अब भने उसले आफ्नो वेबसाइट अपडेट गरेर यी दुई मुलुकहरु मध्यपूर्व र उत्तरी अफ्रिकी मुलुकसँगै रहने गरी नयाँ क्षेत्र बनाएको उल्लेख गरेको हो ।

अफगानिस्तान र पाकिस्तानलाई अलग गरेपछि अब यो क्षेत्रमा पाकिस्तान र अफगानिस्तानबाहेकका ६ मुलुकमात्रै रहेका छन् ।
पहिला मेना भनिने मध्यपूर्व, उत्तरी अफ्रिका अफगानिस्तान र पाकिस्तान भन्ने समूहमा भने यी दुई देशलाई मिसाइनुअघि अल्जेरिया, बहराइन, जिबौटी, इजिप्ट, इरान, इराक, इजरायल, जोर्डन, कुवेत, लेबनान, लिब्या, माल्टा, मोरक्को, ओमान, कतार, साउदी अरेबिया, सिरिया, ट्युनिसिया, यूएई, वेस्ट ब्यांक तथा गाजा (प्यालेन्टाइन) र येमन थिए ।

अफगानिस्तान र पाकिस्तानको विशेषता मेना मुलुकहरुसँग धेरै हदसम्म मिल्दा विकास चुनौतीहरु सामना गरिरहेकाले त्यो समूहमा राखिएको कतिपय स्रोतहरु बताउँछन् । ‘विश्व बैंकको मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रमा अस्थिरता र द्वन्द्व, खाद्य सुरक्षा, जलवायु कार्य र हरित रूपान्तरण, समष्टिगत आर्थिक स्थिरता, रोजगारी, डिजिटल रूपान्तरण, मानव पूँजी विकास, निजी क्षेत्रको विकास, र महिलासहितका कमजोर समूह तथा युवाहरूको समावेशीकरण जस्ता विकास चुनौतीको सामना गरिरहेको छ,’ विश्व बैंकको दस्तावेजमा उल्लेख छ ।

अन्तर्राष्ट्रि मुद्राकोष (आईएमएफ)ले पाकिस्तान र अफगानिस्तानलाई आफ्नो मध्यपूर्व र मध्य एसिया भन्ने समूहमा राखेको छ भने बाँकी दक्षिण एसियाली मुलुकहरु एसिया तथा प्यासिफिक भन्ने समूहमा पर्छन् ।

त्यस्तै, विश्वबैंक अन्तर्गतकै अन्तर्राष्ट्रिय वित्त निगमले मध्यपूर्व, मध्य एसिया, टर्की, अफगानिस्तान र पाकिस्तान भनेर त्यस क्षेत्रका देशहरुको समूह बनाएको छ भने भारत नेपाललगायतलाई दक्षिण एसिया समूहमा राखेको छ ।

एसियाली विकास बैंकले पनि पाकिस्तान र अफगानिस्तानलाई मध्य तथा पश्चिम एसिया समूहमा राखेको छ भने बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकालाई दक्षिण एसिया क्षेत्रमा राखेको छ ।

अन्य धेरै दाताले पाकिस्तान र अफगानिस्तानलाई मध्यपूर्व तथा मध्य एसियाको समूहमा लगिसकेकोमा विश्वबैंकले पनि त्यसो गरेको थिएन । अब भने विश्वबैंकले पनि यी दुई मुलुकलाई दक्षिण एसियाबाट अलग गरेको हो ।

दक्षिण एसियाका ८ मुलुक सदस्य भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) वर्षाैंदेखि निस्क्रिय छ । यस क्षेत्रको सबैभन्दा ठूलो मुलुक भारतले सार्कको उपादेयता समाप्त भइसकेको घोषणा गरेको छ । सार्कको अध्यक्षता नेपालले गरिरहेको भए पनि वर्षौंदेखि यसको शिखर सम्मेलन आयोजना हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गरेका छन् । अमेरिकी टेलिभिजन एबीएस न्यूजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान सम्झौताका लागि उत्सुक रहेको दाबी गरेका हुन् । उनले भने, ‘निश्चय नै उनीहरूले भन्ने छैनन्, उनीहरूले यस्तो भन्नु पनि हुँदैन, कुनै पनि कुशल वार्ताकारले यस्तो भन्दैनन् तर, इरान सम्झौताका लागि निकै उत्सुक छ ।’ हालैका ...
। भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले व्यवसायी अनिल अम्बानीको स्वामित्वमा रहेका रिलायन्स ग्रुप सम्बन्धित करिब ३ हजार ८४ करोड रुपैयाँ भारु मूल्य बराबरको सम्पत्ति जफत गरेको छ । ईडीले सम्पत्ति शुद्धीकरणको मुद्दामा रिलायन्स ग्रुप अन्तर्गतका ४० वटा कम्पनीको सम्पत्ति जफत गरेको इन्डियन एक्सप्रेस जनाएको हो । ईडीले मुम्बईस्थित अनिल अम्बानीको निजी घर, दिल्लीको रिलायन्स सेन्टर, र दिल्ली, ...
। बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उम्मेदवारी दिने सो पार्टीका नेताहरुले बताएका छन् । ८० वर्षीया खालिदा जियाले चुनाव लड्ने जानकारी बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले दिएका हुन् । जियाले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने उनको भनाइ छ। उनको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको ...
— मलेसियामा विदेशी श्रमिकको संख्या गत वर्षको तुलनामा १३ प्रतिशतले घटेको छ । मलेसियाले २०२४ को जुनबाट नेपालसहित स्राेत देशबाट आंशिक रुपमा मात्रै श्रमिकलाई भर्ना गरेको छ । मानव संशाधन उपमन्त्री दातुक सेरी अब्दुल रहमान मोहम्मदले सोमबार संसद्लाई जानकारी दिँदै अक्टाेबर १५ सम्म विदेशी श्रमिक घट्दै गइरहेको जनाएका हुन् । उनका अनुसार अक्टोबर १५ सम्म मलेसियामा ...
: उत्तरी अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या २० पुगेको छ। स्थानीय अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन्। भूकम्प प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमान अमरले भूकम्पमा २० भन्दा बढीको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएको बताएका छन्। ...