— अख्तियारले देखाएको सक्रियता, ५२ संवैधानिक पदाधिकारी नियुक्तिबारे सर्वोच्च अदालतले दिएको फैसला र सरकारले गरेका केही राजनीतिक नियुक्तिका कारण कांग्रेस सभापति शेरबहादुर देउवा झस्किइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।
नागरिक उन्मुक्ति पार्टीले सरकारबाट अलग हुँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने भएको हो । यसै सन्दर्भमा कांग्रेस प्रवक्ता प्रकाशशरण महतसँगको कुराकानी :
सत्ता गठबन्धन अघि बढाउन केही आधार हुनुपर्छ भन्दै आउनुभएको छ । यो भनेको के हो ?
गठबन्धन भइसकेपछि एउटा दलले मात्रै चाहेअनुसार अघि बढ्न सकिँदैन । एउटै दलको पूर्ण बहुमत नभएको अवस्थामा हामीले भनेजस्तो सबै हुँदैन, अर्को दलले भनेजस्तो पनि हुँदैन । यसलाई हामी सबैले स्वीकार गर्नुपर्छ । अहिले हाम्रो पार्टीमा पनि यो भएन, त्यो भएन भन्ने छ ।
एउटा प्रमुख हिस्सेदार भएको नाताले हामीले एउटा बटमलाइन बनाउनुपर्छ– यो यो कुराको सुनुवाइ हुनुपर्छ भनेर । त्यसरी तय भएको न्यूनतम बटमलाइन पालना हुनुपर्छ । गठबन्धनको दिगोपन र निरन्तरताका लागि पनि बटमलाइन बनाउनुपर्छ । यो कुरा गठबन्धनको अर्को साझेदारले पनि बुझ्नुपर्छ ।
एक सातादेखि चलेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गठबन्धनका विषयमा प्रश्न कति आए ?
गठबन्धनको विकल्पमा जानुपर्छ भन्ने कुरा आएन । साझेदार दलले हैसियतअनुसार साझेदारी गरेर सरकारलाई अघि बढाउनुपर्छ भन्ने छ । हाम्रा कार्यकर्ता र नेताहरूले पनि प्रभावकारी काम गर्नुपर्छ भन्ने दबाब छ ।
पछिल्ला केही घटनाक्रमले भने नेताहरूमा संशय बढेको हो ?
त्यो त अवश्य पनि छ । भिजिट भिसा प्रकरण, पतञ्जलि प्रकरण, सरकारको आफ्नो प्रभुत्व, नीतिहरूमा आफ्नो हात माथि पार्ने, अरू खालका कतिपय कुरा जति भइरहेका छन्, त्यसले केही असहज भएको छ । त्यो भनेर एकदमै छाडेर हिँड्ने कुरा आएन ।
सरकारबाट नागरिक उन्मुक्ति बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था बनेको छ । यो बीचमा चलखेल हुने त होइन ?
त्यसबारे कुरा निस्केको छैन, पछि कुराकानी होला । तर गठबन्धन भोलि नै छोड्नुपर्छ भन्ने कुरा अहिले छैन । सरकारलाई प्रभावकारी बनाउने र कांग्रेसले पनि श्रेय लिने गरी काम गर्न नेतृत्वलाई सचेत बनाउने कुरा बढी छ ।
गठबन्धनप्रति तपाईंको आफ्नै धारणाचाहिँ के छ त ?
गठबन्धनको सन्दर्भमा यो सीमा नाघ्यो भने हुँदैन भनेर प्रस्ट बटमलाइन बनाउनुपर्छ । हरेक मुद्दामा बार्गेनिङ गरेर, तनाव लिएर बस्नु हुन्न । हाम्रा कुरा सुनुवाइ हुनुपर्छ, यसरी जानुपर्छ भनेर नेतृत्वले प्रस्ट भन्नुपर्छ । यसो गर्दा भोलि धोका हुँदैन ।
बटमलाइन पूरा भएन भने मात्रै गठबन्धनबारे सोच्न सकिन्छ भन्ने हो ?
गठबन्धनको अर्को साझेदारले औचित्य सिध्याउने गरी काम गर्यो त्यो स्थिति आउने हो । अहिले त्यस्तो अवस्था बनेको छैन ।