मुख्य समाचार
जगदम्बा स्टिल्सको भट्टी विष्फोट प्रकरणः राजनीतिक दलले गुहारे सीडीओ
जगदम्बा स्टिल्सको भट्टी विष्फोट प्रकरणः राजनीतिक दलले गुहारे सीडीओ

सिमराः जगदम्बा स्टिल्सको जोखिमपूर्ण भट्टी सञ्चालनमा रोक लगाउन माग गर्दै आएका राजनीतिक दलका स्थानीय नेताले सोमबार बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई ज्ञापनपत्र बुझाएका छन्।



जिल्ला प्रशासन कार्यालय बारा पुगेर सात राजनीतिक दलको जितपुरसिमराका नेताले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन्। बस्तीको बीचमा मानव स्वास्थ्य र वातावरणलाई जोखिम हुने गरी उद्योगले सञ्चालन गरेको भट्टी तत्काल रोकिनुपर्ने माग उनीहरूको छ। असार १८ गते राति उद्योगको सिसिएम प्लान्टमा भएको भट्टी विष्फोटको घटनायता राजनीतिक दल विरोधमा छन्।



जगदम्बाको पछिल्लो घटनाविरुद्ध सात राजनीतिक दल एकै ठाउँमा उभिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टीले सीडीओलाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा कांग्रेस सभापति छविलाल शर्मा, एमाले अध्यक्ष त्रिलोकविक्रम शाह, माओवादी अध्यक्ष प्रेम बराल, रास्वपा सभापति सुरेशराज केसी, समाजवादीका अध्यक्ष सञ्जय पटेल, लोसपाका अध्यक्ष सरोज पटेल र जनमतका अध्यक्ष मनोहर साहले हस्ताक्षर गरेका छन्।




ज्ञापनपत्रमार्फत उनीहरूले स्थानीयको स्वास्थ्यमाथि उद्योगले गर्दै आएको ज्यादती तत्काल नियन्त्रण गर्न माग राख्दै प्लान्टमा भएको विष्फोट घटनाको छानविन गर्न समेत माग गरेको छ। उनीहरूले घटनापछिको त्रासदीपूर्ण वातावरणलाई गम्भीरताका साथ लिन स्थानीय प्रशासनसँग आग्रह गरेको छ।

असार १८ गते कच्चा पदार्थ पगाल्ने भट्टी विष्फोट हुँदा उद्योग वरपरको घर समेत हल्लिएको थियो। उक्त विष्फोटमा एक जना मजदुर घाइते भएको उद्योगको भनाई छ। तर भूकम्पको महसुस हुने गरी घर हल्लिँदा भएको भट्टी विष्फोटको घटनामा ठूलै क्षति भएको हुनसक्ने अनुमान स्थानीयको छ।

उक्त उद्योगमा यसअघि पनि पटक-पटक जनधनको क्षति हुने गरी विष्फोटको घटना हुँदै आएको छ। स्थानीय सरकार र स्थानीयवासीले यसअघि पनि उद्योग भित्रको जोखिमपूर्ण भट्टी सञ्चालनमा रोक लगाउन माग गर्दै आएका थिए। तर उद्योगले अटेर गरेर भट्टी सञ्चालन गरेको राजनीतिक दलको ठहर छ।

उद्योगले वातावरण समेत प्रदूषित बनाइरहेको छ। वातावरण प्रदूषण नियन्त्रणमा उद्योग प्रशासन गम्भीर देखिँदैन। उद्योगले गर्दै आएको प्रदूषण रोक्न जितपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले समेत चासो नदेखाएको स्थानीयको गुनासो छ। उद्योगको जोखिमपूर्ण भट्टी र वातावरण प्रदूषण नियन्त्रण गरी स्थानीयवासीको हितमा काम गर्न/गराउनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको एमाले नगर अध्यक्ष शाहले बताए।

राजनीतिक दलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघ र प्रदेशको उद्योग मन्त्रालय, संसदको उद्योग समिति, मधेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, उद्योग विभागलाई समेत ज्ञापनपत्रको बोधार्थमा समेटेको छ। राजनीतिक दलले यसअघि आइतबार जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेललाई समेत ज्ञापनपत्र बुझाएका थिए।

उद्योगमा भएको भट्टी विष्फोटको घटनामा बारा क्षेत्र नं. ४ का सांसद एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) र मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले समेत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टी सञ्चालनमा रोक लगाउन माग गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा रामेछापको उमाकुण्ड गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ३२ वर्षीय रोहन भन्ने फिन्चु लामा र संखुवासभाको खाँदबारी नगरपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २९ वर्षीय उत्तम खड्का रहेका छन्। पक्राउमध्ये ...
। नेपाली कांग्रेस केन्द्रीय समितिले संविधान संशोधनका लागि पार्टी इमान्दार र दृढ रहेको जनाएको छ । १६ असारदेखि सुरु भएर सोमबार सकिएको केन्द्रीय समिति बैठकले कांग्रेस र एमालेको सरकार गठन गर्दा गरिएको साँत बुँदेमा उल्लेखित संविधान संशोधनको पक्षमा पुन: प्रतिबद्धता सहितको निर्णय गरेको छ । सात बुँदे सहमतिमा ‘संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखा परेका सबल पक्ष ...
: पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन्। सोमबार आफ्नो जन्मदिनका अवसरमा निर्मल निवासमा शुभेच्छुकको शुभकामना लिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराजा शाहले आफूलाई शुभकामना दिन आउनेलाई धन्यवाद दिँदै अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका हुन् । उनले नेपालमा जन्मिएर मात्र नेपाली नहुने उल्लेख ...
। पार्टी नीति बारे नयाँ पुस्तालाई जानकारी गराउन नेपाली कांग्रेसले छुट्टै पाठ्यक्रम तयार गर्ने भएको छ । १६ देखि २६ वर्षको उमेर समूहलाई लक्षित गरी पाठ्य सामग्री बनाउन लागिएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी गराए । पार्टी केन्द्रीय समितिमा बोल्ने क्रममा नीति,अनुसन्धान प्रतिष्ठानका प्रमुख समेत रहेका खड्काले एक–डेढ महिना भित्रमा एउटा जेनेरेसनका लागि पाठ्यक्रम बनाउने बताए । ‘१६ ...
: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औं महाधिवेशनको मिति तोक्नुपर्ने बताउँदै आएका नेताहरूलाई समय छ, ६ महिना अझै थप्न मिल्छ भनेका छन् । सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सोमबार नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले चार वर्षे नियमित कार्यकाल भए पनि विधानअनुसार एक वर्ष थप्न पाउने र संविधानअनुसार अरू ६ महिना कार्यकाल लम्ब्याउन ...