। पार्टी नीति बारे नयाँ पुस्तालाई जानकारी गराउन नेपाली कांग्रेसले छुट्टै पाठ्यक्रम तयार गर्ने भएको छ । १६ देखि २६ वर्षको उमेर समूहलाई लक्षित गरी पाठ्य सामग्री बनाउन लागिएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी गराए ।
पार्टी केन्द्रीय समितिमा बोल्ने क्रममा नीति,अनुसन्धान प्रतिष्ठानका प्रमुख समेत रहेका खड्काले एक–डेढ महिना भित्रमा एउटा जेनेरेसनका लागि पाठ्यक्रम बनाउने बताए ।
‘१६ वर्षदेखि २५÷२६ वर्ष सम्मको उमेर समूहलाई लक्षित गरेर छुट्टै पाठ्यक्रम तयारी गर्दैछौं । त्यो जेनेरेसनलाई लक्षित गरेर विभिन्न प्रशिक्षणका सामग्रीहरु तयार गर्दैछौं,’ खड्काले भने, । खड्काले यो अवधिमा नीति प्रतिष्ठानले देशका विभिन्न भागमा चलाएको अभिमुखीकरणको बारेमा जानकारी गराएका थिए ।
खड्काले पार्टीभित्र रहेको कमजोरीहरु स्वीकार्नुपर्ने बताए । कमजोरीहरुलाई स्वीकार्छौं सुध्रिनुपर्ने खड्काको जोड थियो । ‘गल्तीहरु दोहोर्याउदैनौं । पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीलाई अगाडिको जमाना अनुसारको सुधार गर्दै लिएर जान्छौं भन्ने संकल्प गर्न कति सक्छौं ?’ खड्काले भने,‘नयाँ युवा पुस्तालाई जोडेर लिएर जाने कुरामा अगाडि जान सक्छौं? वा, एक–अर्कालाई खुइल्याउने कुरा मिडियामा र पार्टीको कार्यक्रममा जान्छौं ?’