मुख्य समाचार
विश्व फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाए
विश्व फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाए

। विश्व फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको छ । आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै फिफाले १५ मार्च २०२१ मा अखिल नेपाल फुटबल संघ (एन्फा)माथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो ।

जसअन्तर्गत फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिन्थ्यो ।




चार वर्षपछि गत बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जीएसीसी) को बैठकले नेपालमाथि लगाइएको उक्त बन्देज हटाएको एन्फाले जानकारी दिएको छ ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वमा कार्यरत कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देजात्मक प्रणाली हटेको व्यहोराको पत्र पठाएको छ ।



फिफाको पछिल्लो निर्णयसँगै अब एन्फाले स्वतन्त्र रूपमा फिफाको आर्थिक सहयोग उपयोग गर्न सक्ने भएको छ । एन्फाले फिफाको निर्णयलाई नेतृत्वको प्रतिबद्धताको सफल कार्यान्वयनको रूपमा व्याख्या गरेको छ ।

यसअघि सन् २०२४ को अक्टोबर २९ मा एन्फालाई एएफसी मेम्बर एसोसिएसन अफ द इयर (गोल्ड) अवार्ड २०२४ बाट पनि सम्मान गरिएको थियो ।

एन्फाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन पश्चात संस्था सुधार, भद्रगोल व्यवस्थाको अन्त्य र पारदर्शिता कायम गर्ने लक्ष्यका साथ थालिएको यात्रा आज सकारात्मक मोडमा आइपुगेको छ ।’

आर्थिक प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको लेखा प्रणालीमा रुपान्तरण गर्न फिफासँगको सहकार्य महत्वपूर्ण भएको एन्फाको दाबी छ ।

अध्यक्ष नेम्वाङ र सचिवालयले काम गरिरहेको बेला भएको आलोचनाको भने एन्फाले बचाउ गरेको छ । आलोचनाको जवाफ कामबाट दिइएको एन्फाको जिकिर छ ।

‘विभिन्न पूर्वाग्रही र स्वार्थ समूहहरूले फुटबल विकासमा अवरोध ल्याउन खोजे पनि सत्यताले विजय पाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

हालै सम्पन्न महिला राष्ट्रिय फुटबल टोलीको उज्वेकिस्तान भ्रमण र यू–२० महिला टोलीको बंगलादेशमा जारी साफ प्रतियोगितामा गरेको प्रदर्शनले महिला विश्वकप २०३१ मा नेपालको सहभागिताको सम्भावना बलियो बनाएको एन्फाको भनाइ छ ।

पुरुष फुटबल टोलीले पनि सिंगापुर र अफगानिस्तानमाथि ऐतिहासिक जित हात पार्दै भविष्यका लागि आशा जगाएको एन्फाको विश्वास छ ।

फिफाले आर्थिक बन्देज हटाएसँगै एन्फाले अब ग्रासरुट फुटबल, स्कूलस्तरीय प्रतियोगिता, उमेर समूह प्रतियोगिता, महिला तथा पुरुष लिगहरू, प्रेसिडेन्ट लिग, ए डिभिजन लिग लगायतका प्रतियोगिता समयमै सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।

काठमाडौंमा प्रस्तावित रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले सहयोगको प्रतिबद्धता जनाएको उल्लेख गर्दै एन्फाले आभार प्रकट गरेको छ ।

निकट भविष्यमा आफ्नै रंगशाला निर्माणको कार्य अघि बढाउने भन्दै एन्फाले आर्थिक पारदर्शिता र सुशासन कायम गर्दै फिफा तथा एएफसीको विश्वास जित्दै जाने प्रतिवद्धता दोहोर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इंग्लिस प्रिमियर लिगमा खेल भइरहेको छ। मैदानमा खेल भइरहँदा मैदानबाहिरको खेलको चर्चा पनि उत्तिकै छ। लिभरपुललाई उसकै मैदानमा ३–० ले हराउँदै म्यानचेस्टर सिटीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ। एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीको गोलमा सिटीले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता बनायो। तर मैदानमा सिटीको प्रदर्शन जति प्रभावशाली देखियो, मैदानबाहिरको आर्थिक ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने ...
: आइसीसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम शृंखलाको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले क्यानडालाई २४ रनले पराजित गरेको हो। ओमानस्थित एल अमेरत क्रिकेट मैदान(ट्रफ-१)मा नेपालले क्यानडालाई २११ रनमा अलआउट गरेको हो। क्यानडाका लागि आरोन जहन्सनले सर्वाधिक ४४ रन बनाए। त्यस्तै समित गोहेलले ३५, हम्जा तारिकले २६, श्रेयस मुफाले २६ र अखिल कुमार ३० रनमा अविजित ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) एकदिवसीय पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमरातस्थित ओमान क्रिकेट मैदानमा हुने लिग–२ को अन्तिम शृंखला नेपालका लागि अंक तालिकामा आफ्नो अवस्था सुधार्ने र विश्वकप छनोटको सम्भावना बलियो बनाउने महत्त्वपूर्ण अवसर हो। यसअघिका शृंखलामा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाललाई अबका खेलमा नतिजामुखी प्रदर्शन आवश्यक छ। नेपाल ...
: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको सहभागिता र पदकको सम्भावना बढाउन खेलाडी छनोटदेखि बन्द प्रशिक्षणसम्मको तयारीलाई व्यवस्थित रुपमा अघि बढाइएको छ। छनोटमा ९ हजारभन्दा बढी खेलाडी सहभागी छन्। प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी पहिचान गर्ने प्रतिस्पर्धा सुरु भएको हो। छनोटका विभिन्न चरण पार गरेर यकिन गरिएका ...