मुख्य समाचार
एउटा डाँडोमा अङ्ग्रेजी शब्द ‘हलिउड’ लेखिएको १०० वर्षभन्दा बढी
एउटा डाँडोमा अङ्ग्रेजी शब्द ‘हलिउड’ लेखिएको १०० वर्षभन्दा बढी

एउटा डाँडोमा अङ्ग्रेजी शब्द ‘हलिउड’ लेखिएको १०० वर्षभन्दा बढी भइसकेको छ । आजको समयमा उक्त ‘हलिउड’ साइन (बोर्ड) वास्तविक जीवन र फिल्मी पर्दा दुवैमा एक ऐतिहासिक प्रतीक बनेको अवस्था छ ।

लस एञ्जल्स शहरमाथिको माउन्ट ली नामक डाँडामा बनाइएको उक्त साइन आज अमेरिकाको सबैभन्दा बढी चिनिने साँस्कृतिक प्रतीकहरूमध्येको एक हो । हलिउडलाई चिनाउने एउटा ल्यान्डमार्क हो ।




उक्त मार्क कहिले स्थापना गरियो भन्नेमा विवाद छ । तर यसको शताब्दी उत्सव १३ जुलाई २०२३ मा मनाइसकिएको छ । त्यसआधारमा यो साता (२०२५ जुलाईमा) हलिउड साइन १०२ वर्ष पूरा भयो ।

आज हलिउड साइन चलचित्र उद्योगको प्रतीक बनेता पनि मूलत : यसका लागि बनाइएको थिएन । सुरुमा जम्मा १८ महिनाका लागि एउटा होर्डिङ बोर्ड बनाइएको थियो । त्यसमा नयाँ ‘हाउजिङ’ (घर/जग्गा सम्बन्धी जानकारी) को विज्ञापन गर्ने उद्देश्य थियो ।



त्यसबेला बोर्डमा १३ वटा अक्षरमा ‘हलिउडल्याण्ड’ लेखिएको थियो- ‘HOLLYWOODLAND’, जुन एउटा रियल स्टेट कम्पनीको नाम थियो । त्यसको प्रत्येक अक्षरको उचाइ ४५ फिट र चौडाइ ३० फिट थियो । काठ र टिन प्रयोग गरेर टेलिफोन पोलहरूको सहारामा उभाइएको उक्त बोर्ड बनाउन तत्कालीन समयमा २३ हजार डलर खर्चनु परेको थियो । जुन आजको मूल्य अनुसार करिब ४ लाख ३० हजार डलर हुन आउँछ ।

त्यस्तै बोर्डलाई आकर्षक बनाउन हरेक खण्डमा चार हजार बढी बत्ती राखिएको थियो । तीन खण्ड ‘HOLLY, WOOD र LAND’ थियो । यसरी सुरुमा ‘हलिउड’ साइन फिल्म उद्योगको विज्ञापनका लागि नभई लस एञ्जल्सवासीलाई एउटा सपनाको जीवनशैली देखाउने उद्देश्यले बनाइएको थियो ।

तर त्यसपछि एलए शहरमा फिल्म उद्योग बढ्दै गयो । यता बोर्ड पनि जहाँको त्यहीँ नै रह्यो । त्यस्तैमा १९३० को दशकमा भएको आर्थिक मन्दीले बोर्डको मर्मत सम्भार रोकियो । फलस्वरूप केही वर्षमै बोर्ड जीर्ण र भत्किएको जस्तो देखिन थाल्यो ।

उक्त बोर्ड जीर्ण मात्रै बनेन । विभिन्न संयोगहरू पनि बनायो ।

‘नेचर ब्वाई ’ नामक गीत लेखेर प्रसिद्ध भएका इडन आहबेज बोर्डको पहिलो ‘L’ मुनि केही समय बस्न गए । २४ वर्षीया अभिनेत्री पेग एन्ट्विसलले करियर राम्रो नभएपछि बोर्डको ‘H’ अक्षरमा चढेर त्यहाँबाट हामफालेर आत्महत्या गरिन् । सन् १९४४ सम्म आइपुग्दा उक्त ‘H’ अक्षर हावाहुरीले भत्काइसकेको थियो ।

त्यसपछि हुँदै नभएपछि उक्त बोर्ड भएको जमिनसहित ४२५ एकड जमिन नगरपालिकालाई हस्तान्तरण गरियो । त्यसको केही समयपछि त बोर्ड नबनाउने निर्णय समेत भएको थियो । तर हलिउड चेम्बर अफ कमर्सले बोर्डलाई फेरि पुनः निर्माण गर्ने निर्णय गर्‍यो ।

त्यसपछि पहिलेको LAND शब्द हटाइयो । र ‘HOLLYWOOD’ मात्र राखियो । तर सन् १९७० को दशकको मध्यसम्म आउँदासम्म बोर्ड पुनः पहिले झैं झुर अवस्थामा पुगिसकेको थियो । सन् १९७८ सम्ममा त हावाहुरीले एच पछिको ‘O’ को माथिल्लो भाग भाँचिदिएको थियो भने डब्लुपछिको दोस्रो ‘O’ लाई पूर्णरूपमा क्षति गरिसकेको थियो । त्यसले गर्दा बोर्डमा मात्र ‘HuLLYWO D’ बाँकी थियो ।

‘सेभ द साइन’ अभियान

एकफेर अमेरिकन रक गायक एलिस कूपर आफैं भत्किएको ‘हलिउड’ बोर्ड मर्मत गर्न तम्सिएका थिए । एउटा कन्सर्ट गरेर त्यसैबाट पैसा जुटाउने योजना पनि बुनेका थिए ।

पछि थाहा भयो बोर्ड त मर्मत गर्न नसकिने अवस्थामा पुगेको रहेछ । त्यसपछि फेरि हलिउड चेम्बर अफ कमर्सले बिल्कुलै नयाँ संरचना बनाउने निर्णय गर्‍यो । यसपटक स्टीलबाट नभई कंक्रीटबाट बनाउने निर्णय गरियो । यसो गर्दा लागत तत्कालीन समयमा डेढ लाख अमेरिकन डलर हुने भयो ।

अनि परियोजना पूरा गर्न सन् १९७८ को मे महिनामा ‘सेभ द साइन’ अभियान सुरु भयो । त्यसको भोलिपल्ट ‘प्लेब्वाई’ पत्रिकाका संस्थापक ह्यु हेफ्नरको घरमा सेलिब्रेटीहरू जम्मा भएर कोष संकलन प्रारम्भ गरे । जसमा एलिस कूपर नै एउटा अक्षरको प्रायोजन गर्ने पहिलो व्यक्ति थिए ।

उनले अन्तिम ‘O’ अक्षरको प्रायोजन गरेका थिए । र, त्यो अक्षर उनले आफ्नो साथी अभिनेता ग्राउचो मार्क्सको सम्झनामा समर्पित गरे । यसरी बनाउँदा प्रत्येक अक्षरको लागत औसतमा २७ हजार डलर परेको थियो । उनी बाहेक एन्डी विलियम्स, वार्नर ब्रदर्स, जीन ओट्री आदि व्यक्ति/संस्था त्यस परियोजनामा संलग्न थिए ।

यसरी कोषमा रकम जुटाएपछि पुरानो बोर्ड भत्काइयो । र, नयाँ ४५० फिट लामो र २४० टन तौल भएको बोर्ड बनाइयो । जुन आज फिल्म उद्योगको एउटा प्रतीक बनेको छ ।

आजसम्ममा यो बोर्ड अर्थक्वेक (१९७४), च्याप्लिन (१९९२), फ्रेन्ड्स विथ वेनेफिट्स (२०११), सुपरम्यान : द मुभि (१९७८), द डे आफ्टर टुमारो (२००४), सान आन्द्रेस (२०१५) लगायतका धेरै फिल्महरूमा देखिइसकेको छ । भनौं न, यो बोर्ड सिनेमाको मौन अभिनेता बनिसकेको छ ।

त्यस्तै बोर्ड पनि समयअनुसार परिमार्जन हुँदै आएको छ । सन् १९७६ मा ड्यानी फाइनगुड नामका एक विद्यार्थीले गाँजा सम्बन्धी नियमहरू खुकुलो बनाइएको मौकामा ‘HOLLYWeeD’ बनाइदिएका थिए ।

सन् १९८७ मा लस एञ्जलसमा पोप जोन पल द्वितीय आउँदा बोर्डलाई ‘HOLYWOOD’ बनाइएको थियो । सोही वर्ष इरान-कन्ट्रा काण्ड हुँदा ‘OLLYWOOD’ मा बनाइएको थियो ।

नयाँ सहस्राब्दीको स्वागतमा सन् १९९९ को डिसेम्बर ३१ मा ६० वर्षपछि बोर्डलाई पहिलोपटक उज्यालो बनाइएको थियो । सन् २०२४ को पेरिस ओलम्पिकको समापन समारोहमा यसका दुईवटा ‘O’ अक्षरलाई ओलम्पिकको लोगोको भाव दिन प्रयोग गरिएको थियो ।

यीबाहेक यस बोर्डले नेपालमा समेत प्रभाव पारेको देखिन्छ । किनकि ‘हलिउड साइन’ शैलीमा नेपालका विभिन्न स्थानहरूको नाम लेखिएको छ । यसरी एउटा डाँडाको टुप्पोमा बनाइएको बोर्डले सिने जगतलाई त प्रभाव पार्‍यो नै, सँगै ठाउँको चिनारीका लागि पनि प्रेरकका रूपमा काम गर्‍यो । के यो कुनै अभिनेताभन्दा कम छ र ?

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...
— नेपालमा भर्चुअल सम्पत्तिको कारोबार पूर्ण प्रतिबन्धित भए पनि पछिल्ला पाँच वर्षमा यससम्बन्धी गतिविधिमा भने उल्लेख्य वृद्धि भएको छ । भर्चुअल एसेटसम्बन्धी गतिविधिको रिपोर्टिङ सन् २०२१ को तुलनामा सन् २०२४ मा करिब १९ गुणाभन्दा बढीले वृद्धि भएको देखिन्छ । सन् २०२१ मा राष्ट्र बैंकले १३ वटा यस्ता शंकास्पद गतिविधि वा कारोबार रिपोर्ट (उजुरी) प्राप्त गरेको थियो । सन् २०२४ ...