मुख्य समाचार
जापानी वैज्ञानिकहरूले सबैभन्दा तीव्र गतिको इन्टरनेटको विकास गरेर नयाँ विश्व कीर्तिमान कायम
जापानी वैज्ञानिकहरूले सबैभन्दा तीव्र गतिको इन्टरनेटको विकास गरेर नयाँ विश्व कीर्तिमान कायम

जापानी वैज्ञानिकहरूले सबैभन्दा तीव्र गतिको इन्टरनेटको विकास गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । उनीहरूले १.०२ पेटाबाइट्स (१० लाख २० हजार गिगाबाइट) प्रति सेकेन्ड गतिको इन्टरनेट विकास गर्न सफल भएका छन् ।

इन्टरनेटको यो गति यतिधेरै उच्च हो कि यसमार्फत नेटफ्लिक्समा रहेका सम्पूर्ण भिडियोहरु एक सेकेन्डमै डाउनलोड गर्न सकिन्छ । त्यस्तै १५० जीबी साइजको वारजोन जस्तो ठूलो भिडियो गेम पनि आँखा झिमिक्क पारुन्जेल डाउनलोड गर्न सकिन्छ । यो उपलब्धिलाई केवल जापानका लागि मात्र होइन, सम्पूर्ण विश्वका लागि डेटा ट्रान्सफर, स्ट्रिमिङ र कनेक्टिभिटीको क्षेत्रमा एक नयाँ युगको सुरुवातको रूपमा हेरिएको छ ।




संसारको अविश्वसनीय गतिको यो इन्टरनेट प्रविधिको विकास जापानको नेशनल इन्स्टिच्युट अफ इन्फर्मेसन एण्ड कम्युनिकेसन्स टेक्नोलोजीका वैज्ञानिकहरूले गरेका हुन् । यसका लागि उनीहरूले अत्याधुनिक फाइबर अप्टिक प्रविधि र उच्चस्तरीय सिग्नल प्रोसेसिङ प्रविधिको प्रयोग गरेका छन् ।

यो गतिको इन्टरनेट अहिले विश्वभर प्रयोग हुने औसत घरेलु इन्टरनेटभन्दा १ लाख गुणा छिटो छ। यस्तो स्पीडले एक सेकेन्डमै १० हजार भन्दा धेरै अल्ट्रा-हाइ डेफिनिशन फोर के फिल्महरू डाउनलोड गर्न सकिन्छ ।



यो प्रविधिले कृत्रिम बुद्धिमत्ता अर्थात एआई, इन्टरनेट अफ थिङ्स र विश्वव्यापी डिजिटलाइजेसनका बढ्दो आवश्यकताहरूलाई पूरा गर्ने दिशामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने वैज्ञानिकहरुको ठम्याइ छ।

साथै यस इन्टरनेट प्रविधिले स्मार्ट सहर निर्माण, दूरस्वास्थ्य सेवा (रिमोट हेल्थकेयर) र अनलाइन शिक्षाजस्ता क्षेत्रहरूमा छिटो र भरपर्दो डेटा ट्रान्सफरका माध्यमबाट अभूतपूर्व प्रगति हुनसक्छ। यसले चिकित्सा, प्रविधि र शिक्षा क्षेत्रमा एक नयाँ युगको सुरुवात गर्नेछ ।

साथै यस प्रविधिबाट सुरक्षा प्रणालीहरूलाई अझ प्रभावकारी र दक्ष बनाउन मद्दत पुग्नेछ।उदाहरणका लागि अस्पतालहरूले व्यापक मात्रामा मेडिकल तथ्यांकहरु वास्तविक समयमा शेयर गर्न सक्नेछन् । जसले भर्चुअल माध्यमबाट शल्यक्रिया तथा रोगको शीघ्र निदान जस्ता विषयलाई सम्भव बनाउनेछ।

स्मार्ट सिटीहरूमा यो प्रविधिले ट्राफिक व्यवस्थापन, ऊर्जा प्रयोग र सुरक्षा प्रणालीहरूलाई अझ कुशल बनाउनेछ। त्यसैगरी विश्वव्यापी व्यापार र संचारमा डेटा ट्रान्सफरको गति बढ्दा उत्पादनशीलतामा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ ।

यद्यपि यो प्रविधि अत्यन्तै शक्तिशाली भएता पनि यसलाई व्यापक रूपमा प्रयोग गर्नका लागि केही चुनौतीहरू विद्यमान छन्। विद्यमान इन्टरनेट नेटवर्कलाई मल्टी-कोर फाइबर र उन्नत हार्डवेयरमा रूपान्तरण गर्न ठूलो लगानी आवश्यक पर्छ ।

साथै यस प्रविधिलाई सर्वसाधारण उपभोक्ताहरूका लागि किफायती बनाउनु र अन्तर्राष्ट्रिय मापदण्डहरू स्थापित गर्नु पनि एउटा कठिन काम हुनेछ। त्यसैले, प्रविधिको विकाससँगै यसको व्यवहारिक उपयोग र पहुँच सुनिश्चित गर्न दीर्घकालीन योजना र सहकार्य आवश्यक हुनेछ ।

स्मरण रहोस्, प्रविधिको मामिलामा जापानको तीव्र प्रगति साँच्चिकै उदाहरणीय छ। गत मे महिनामा प्रकाशित एक रिपोर्ट अनुसार, जापानले फाइभ जी इन्टरनेटभन्दा पाँच गुणा छिटो इन्टरनेट गति उपकरण विकास गरेको दाबी गरेको थियो ।

विश्वका अधिकांस देशमा फाइभ जी इन्टरनेट नै पुग्न नसकेको बेला जापानले विश्वकै पहिलो सिक्स जी डिभाइस तयार गरिसकेको छ। यद्यपि अहिले त्यो केवल प्रोटोटाइप चरणमा मात्र छ तर यसको स्पीड १ सय गिगाबाइट प्रतिसेकेण्ड भन्दा अधिक रहेको बताइएको छ। सिक्स जी प्रविधि हालको फाइभ जी भन्दा कम्तिमा २० गुणा छिटो छ, जसले भविष्यमा इन्टरनेट जगतमा ठूलो छलाङ् ल्याउने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको राजधानी टोकियोमा पछिल्लो समय एउटा अनौठो पसलले सबैको ध्यान तानिरहेको छ। त्यो पसल त्यत्तिकै चर्चित भएको होइन। यो सायद दुनियाँकै एउटामात्रै त्यस्तो पसल हो, जसमा खुलमखुल्ला चोरी गर्न पाइन्छ। उक्त पसलभित्र प्रवेश गरेसँगै जोकोहीलाई सामान चोर्नका लागि ६० सेकेन्डको समय दिइन्छ । त्यो समयभित्रमा पसलमा भएको जुनसुकै सामानहरु उठाउन पाइन्छ। तर आफूलाई मन ...
— जापान सरकारले नयाँ तालिम तथा रोजगारी प्रणालीअन्तर्गत स्वीकार गरिने विदेशी कामदारको संख्या सीमित गर्ने तयारी थालेको छ । क्योदो न्युजका अनुसार सन् २०२७ को आर्थिक वर्षमा कार्यक्रम सुरु भएपछि पहिलो दुई वर्षमा करिब ४ लाख २६ हजार विदेशी कामदार मात्र स्वीकार गर्ने विषयमा जापानी सरकारभित्र छलफल भइरहेको छ । जापानी समाजमा विदेशी नागरिकको संख्या बढ्दै ...
— फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत डडेल्धुराको फैसलाले लागुऔषध मुद्दामा ८ दिन कैद, १० हजार ४०० रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ गरेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उप–महानगरपालिका–३ मिलनचोक बस्ने २२ वर्षीय आयुष सिजापती रहेका छन् । उनलाई डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको छ । प्रहरीका ...
। जापानको ‘स्की’ रिसोर्टमा शुक्रबार भालु देखा परेको रिपोर्ट प्राप्त गरेको बताइएको छ । गत अप्रिल देखि देशभर भालुको आक्रमणद्वारा १३ जनाको मृत्यु भएको रेकर्ड गरिएको छ भने भालुहरू घर भित्र प्रवेश गर्ने, विद्यालयहरू नजिकै घुम्ने र सुपरमार्केटहरूमा तोडफोड गर्ने घटनाहरू नियमित रूपमा रिपोर्ट गरिएको छ । नागानो क्षेत्रको हकुबा ४७ माउन्टेन स्पोट्र्स पार्ककी काजुया शिराकावालाई ...
— जापानको उत्तरपूर्वी क्षेत्रमा सोबार राति गएको ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तिमा ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो । यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० ...