मुख्य समाचार
पञ्चकन्या ग्रुपले रुपन्देहीको सियारीमा नेपालकै ठूलो यूपीभीसी उद्योग ‘पञ्चकन्या डिमेक्स’स्थापना
पञ्चकन्या ग्रुपले रुपन्देहीको सियारीमा नेपालकै ठूलो यूपीभीसी उद्योग ‘पञ्चकन्या डिमेक्स’स्थापना

। मुलुककै अग्रणी मध्येको औद्योगिक घराना पञ्चकन्या ग्रुपले रुपन्देहीको सियारीमा नेपालकै ठूलो यूपीभीसी उद्योग ‘पञ्चकन्या डिमेक्स’स्थापना गरेको छ ।

उद्योगबाट उत्पादित यूपीभीसीका झ्याल–ढोका एक वर्षदेखि बिक्रीवितरण गर्दै आएको कम्पनीले सोमबार औपचारिक रुपमा आफ्ना चार ब्राण्डका उत्पादन सार्वजनिक गरेको छ ।




उद्योगले सोमबार अनलाइनखबर डटकम मार्फत पञ्चकन्या डिमेक्स, निओ प्लास्ट, टोनिस र साल गरी चार थरिका यूपीभीसी प्रोफाइलको अफिसियल लञ्च गरेको हो । उद्योगले आफ्नो उत्पादनमा २० वर्ष वारेन्टी दिएको छ ।

मुलुककै अग्रणी मध्येको औद्योगिक घराना पञ्चकन्या ग्रुपले नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तर र डिजाइनका उडन, ग्रे, वालनट र ब्ल्याक कलरका प्रोफाइल उत्पादन गरेको जनाएको छ । अन्य उद्योगले हालसम्म सेतो रंगका प्रोफाइल मात्रै उत्पादन गरिरहेका छन् ।


आफ्नै स्वामित्वको २ बिघा जग्गामा ८० करोड लगानी गरी सञ्चालन भएको यो उद्योग नेपालकै ठूलो यूपीभीसी उद्योग हो । उद्योगले हाल ६५ जना बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

फलामे छड, खानेपानीका पाइप, पीभीसी पाइप, रेडिमेड कंक्रिट सहितका उत्पादनमा संलग्न पञ्चकन्या ग्रुपले निर्माण उद्योगको ‘वान विन्डो सोलुसन’ बन्न यूपीभीसी प्रोफाइल उद्योग पनि सञ्चालनमा ल्याएको उद्योगका अध्यक्ष उज्ज्वलकुमार श्रेष्ठले बताए ।



उद्योगबाट उत्पादित यूपीभीसी प्रोफाइलबाट बनेका झ्याल र ढोका निजी प्रयोजनका घरदेखि नेपालकै ठूलो हाउजिङ कम्पनी होराइजन अपार्टमेन्ट, तारे होटेल, अफिसहरुमा माग भइरहेको श्रेष्ठले बताए ।

युरोपियन प्रविधिको प्लान्ट जडित उद्योगले अन्तर्राष्ट्रिय गुणस्तरका यूपीभीसी उत्पादन गरेकाले जर्मनको प्रख्यात एसकेजेड संस्थाले गुणस्तर प्रमाण चिह्न प्रदान गरिसकेको श्रेष्ठले बताए ।

पञ्चकन्या डिमेक्स प्रोफाइलको अर्को महत्वपूर्ण विशेषता यसमा प्रयोग हुने टीपीई ग्यासकेट (रबर) हो । जुन अन्तर्राष्ट्रिय गुणस्तरको भएकाले अरु जस्तो छिटै टुटफुट नहुने, नबिग्रिने र लामो समयसम्म टिकाउ हुने दाबी गरिएको छ ।

दुई वर्षको अध्ययनले नेपालमा वार्षिक १० हजार मेट्रिक टनसम्म अर्थात नेपालमा खपत हुने कूल यूपीभीसी बजारको ९० प्रतिशत हिस्सा चीन र भारतबाट आयात भएको देखेपछि यसमा राम्रो सम्भावना देखेर आयात प्रतिस्थापन र भविष्यमा निर्यात पनि गर्ने लक्ष्य सहित नयाँ उद्योगमा लगानी गरेको अध्यक्ष श्रेष्ठले बताए ।



श्रेष्ठका अनुसार हाल आयात हुने यूपीभीसी परिमाणमध्ये ९० प्रतिशत चीन र १० प्रतिशत भारतबाट हुने गर्छ । ‘पाँच दशकदेखि उद्योग र उत्पादनको अनुभव बटुल्दै अघि बढ्ने क्रममा नेपालमा चीन र भारतबाट यूपीभीसी आयातको दर तीब्र गतिमा बढेको देखेपछि दुई वर्ष अध्ययन गर्दा राम्रो सम्भावना देखेर स्वदेशमै उत्पादन गरी आत्मनिर्भर बन्ने र आयात प्रतिस्थापन गर्ने उद्देश्यले लगानी गरेका हौं’ श्रेष्ठले भने, ‘अन्य उत्पादनमा पञ्चकन्या ब्राण्डको जुन जनविश्वास छ, त्यसलाई यूपीभीसी प्रोफाइलबाट थप उचाइमा पुर्‍याउने संकल्प सहित गुणस्तर र डिजाइनमा ध्यान दिएका छौं ।’

वार्षिक उत्पादन क्षमता ६ हजार मेट्रिक टन

उद्योगमा पञ्चकन्या ग्रुपको ५० प्रतिशत तथा बुटवलका युवा व्यवसायी रितेश सिलवाल र नारायण केसीको २५–२५ गरी ५० प्रतिशत लागत साझेदारी छ । सिलवाल र केसी टायल, मार्बल, बाथवेयर लगायत भवनको इन्टेरियर डेकोर सामग्रीका थोक विक्रेता कम्पनी सिद्धार्थभूमि इन्टरनेसनलका सञ्चालक हुन् । समान प्रकृतिको व्यवसायिक अनुभव भएकाले पञ्चकन्याले उनीहरुसँग लगानी साझेदारी गरेको हो ।





उद्योगको वार्षिक उत्पादन क्षमता ६ हजार मेट्रिक टन छ । यो नेपालको कूल यूपीभीसी बजारको ५० प्रतिशत हिस्सा हो ।

उद्योगले भविष्यमा उत्पादन वृद्धि गरेर आगामी दुई वर्षमा बजारको ३५ प्रतिशत हिस्सा ओगट्ने लक्ष्य राखेको अध्यक्ष श्रेष्ठले बताए । ‘चालु आर्थिक वर्षमा १५ प्रतिशत हिस्सा ओगट्ने लक्ष्य छ, अर्को वर्षसम्म ३५ प्रतिशत हुँदै ५ वर्षमा ५० प्रतिशत हिस्सा पञ्चकन्या डिमेक्सको पुर्‍याउँछौं,’ उद्योगका अध्यक्ष श्रेष्ठले भने, ‘हाम्रा अन्य उद्योगका उत्पादनको गुणस्तरले उपभोक्ताको विश्वास जितेका छौं, यो नयाँ उत्पादनमा पनि उस्तै विश्वास र माया पाउँछौं भन्नेमा विश्वस्त छौं ।’

उद्योगले अमेरिका, जापान, जर्मनी, चीन, भियतनाम, भारत लगायत देशबाट कच्चा पदार्थ आयात गर्छ । कच्चा पदार्थ आयातमा १० प्रतिशत भन्सार र तयारी यूपीभीसी प्रोफाइल आयातमा ३० प्रतिशत भन्सार दर हुँदा प्रतिस्पर्धा गर्न कठिन भएकाले कच्चा पदार्थ आयातमा भन्सार दर ५ प्रतिशत हुनुपर्ने सरकारलाई अध्यक्ष श्रेष्ठको आग्रह छ ।



पछिल्लो समय मुख्य शहर, बजार क्षेत्रमा यूपीभीसीका झ्याल ढोका प्रयोगको हिस्सा ४५ प्रतिशत पुगेको र यो अझै बढ्ने श्रेष्ठले बताए ।

‘सहजै पाइने, छिटो छरितो जडान हुने, हेर्दा आकर्षक, हलुंगो र मूल्य पनि काठभन्दा किफायती हुने भएकाले यूपीभीसीप्रति सामान्यदेखि सम्भ्रान्त वर्गसम्मका उपभोक्ताको आकर्षण बढ्दो क्रममा पाएका छौं’ श्रेष्ठले भन्छन्, ‘पञ्चकन्या डिमेक्सले थरिथरिका कलर रोजाइको सुविधा र युरोपियन स्टाण्डर्ड दिएपछि नेपालमा मात्र नभई भविष्यमा विदेश निर्यात पनि गर्न सक्छौं, त्यसका लागि अझ एक बिघा जग्गामा उद्योग विस्तार गर्न सकिन्छ ।’

मिस्त्री र बिक्रेतालाई तालिम

उद्योगले पञ्चकन्या डिमेक्स प्रोफाइलको गुणस्तर र विशेषताबारे जानकारी गराउन चालु वर्षदेखि यूपीभीसीको काम गर्ने मिस्त्री (फेब्रिकेटर) र विक्रेता–व्यवसायीलाई तालिम तथा परामर्श दिने योजना बनाएको छ ।



पञ्चकन्या डिमेक्सका उत्पादनहरु वातावरणमैत्री र ३० प्रतिशत विद्युत खपत कम गर्ने विशेषता भएका भए पनि आम उपभोक्ता, मिस्त्री र व्यवसायीलाई यो तथ्य जानकारी नभएकाले उपभोक्तामा जागरण ल्याउने अभियान थाल्ने उद्योगका म्यानेजिङ डाइरेक्टर रितेश सिलवालले बताए ।

‘गुणस्तरीय उत्पादन एउटा पाटो हो, हाम्रो उत्पादन उपभोक्तासम्म पुर्‍याउने मुख्य भूमिका फेब्रिकेटर र विक्रेताको हो, अब हामी उनीहरुसम्म पुग्छौं’ सिलवालले भने, ‘उहाँहरुलाई तालिम र परामर्श दिन बुटवल र काठमाडौंमा केन्द्र स्थापना गर्छौं ।’

फेब्रिकेटरलाई तालिम दिएर दक्ष बनाई सर्टिफाइड गरेर मात्र आफ्ना उत्पादनको सही तरिकाले जडान र फिटिङ गर्न पठाउने योजना रहेको सिलवालले बताए । उनका अनुसार अब हुने करिब २५ करोड लगानीको केही हिस्सा यसमै खर्च गर्ने कम्पनीको योजना छ ।

नेपालमा हाल यूपीभीसीको काम गर्ने करिब ८ सय जना मिस्त्री र ४७ व्यवसायी छन् । ८ सयमध्ये २ सय जना पञ्चकन्या डिमेक्ससँग जोडिइसकेका सिलवालले बताए । उत्पादनको गुणस्तर सुनिश्चित गर्न उद्योगमै प्रयोगशाला रहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बाढी र पहिरोले पुर्‍याएको क्षतिपछि सञ्चालन गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा करिब ९.५ अर्ब रुपैयाँ सहयोग रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांकअनुसार स्वदेशी बैंकहरूमा करिब ७.८९ अर्ब रुपैयाँ र डलर खातामा थप ६१.४ लाख अमेरिकी डलर (करिब ८४.१ करोड रुपैयाँ) संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ। बाढी आउनुअघि ...
। वर्षा र पहिरोका कारण राजमार्गमा रोकिएका ग्यासका गाडी काठमाडौं आइपुगेका छन् । ग्यास उद्योगी तथा नेपाल एलपी ग्यास उद्योग संघ पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार हिजो सोमबार रातिदेखि बाटोमा अलपत्र ग्यासका गाडी आज दिउँसो राजधानी प्रवेश गरेका हुन् । ‘हिजोदेखि अड्किएर बसेका सुगम र एभरेस्ट ग्यासका १४ वटा गाडी आज दिउँसो २/३ बजेतिर काठमाडौं आइपुगेका छन्,’ पूर्वअध्यक्ष ...
। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्। २०८२ फागुनदेखि ...
— मुलुकको प्रमुख स्थल भन्सार वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व असुलीको लक्ष्य भेट्न सकेन। कार्यालयले साउनमा तोकिएको लक्ष्यको ९० दशमलव ९७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयले साउनमा २० अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। तर लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा कार्यालयले १८ ...
। भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो । उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित ...