मुख्य समाचार
बहराइनको तेलखानी : एकै कम्पनीमा ३ हजारभन्दा बढी नेपाली श्रमिक
बहराइनको तेलखानी : एकै कम्पनीमा ३ हजारभन्दा बढी नेपाली श्रमिक

— जमिनमुनिबाट कच्चा तेलको लेदो (क्रुड) तान्ने मेसिन (डगी पम्प) निरन्तर चलिरहेको छ । ढिकीले धान कुटेझैं मेसिनले तेल तान्दै प्रशोधनका लागि पाइपमार्फत ट्यांकीतिर पठाइरहन्छ । मेसिन सुरुमा ‘स्टार्ट’ गर्न मात्र बिजुली आवश्यक पर्छ, त्यसपछि आफैं चलिरहन्छ । मेसिनले एक पटक जमिनमुनिबाट तेल तानेर पाइपमा फाल्न १० सेकेन्ड लाग्छ । यही गतिमा मेसिन २४ घण्टै चलिरहन्छ ।


यो दृश्य बहराइनको राजधानी मन्माबाट करिब ३० किलोमिटर टाढा रहेका जेवेल, दुखानको हो । जहाँ पहिलो पटक सन् १९३१ मा तेल उत्खनन थालिएको थियो । उतिखेर प्रयोग गरिएको परम्परागत प्रविधि अहिलेसम्म पनि प्रयोगमा छ । साथै, बहराइनले तेल प्रशोधनमा आधुनिक प्रविधि पनि प्रयोग गर्ने गरेको छ । यहाँ मेसिन मात्र २४ घण्टा चल्दैन, श्रमिक पनि २४ घण्टै खटिन्छन् ।

गत १९ असारको बिहान ४ बजे सर्लाही, ईश्वरपुर–१ का २७ वर्षीय लालसिंह मोक्तानसहितको टोली ‘साइट’ मा पुगिसकेको थियो । बहराइनमा बिहान ११ः३० देखि ३ बजेसम्म सिधै घाम पर्ने ठाउँमा काम गर्न नपाइने नियम छ । जुनदेखि सेप्टेम्बरसम्म त श्रमिकलाई दिउँसो काममा लगाउनै पाइँदैन । त्यतिबेला ड्युटीको समय फेरिएको हुन्छ । त्यसैले पनि श्रमिकहरू बिहान ४ बजे नै साइट पुग्नुपर्छ ।

लालसिंह साढे तीन वर्षदेखि बहराइन पेट्रोलियम कम्पनी (वाप्को) मा ठूलो संरचनाहरूमा पाइपहरू जोड्ने स्काफोल्डिङको काम गरिरहेका छन् । ‘म अफिस ब्वायमा आएको थिएँ । त्यसमा मन लागेन । त्यसपछि स्काफोल्डिङको तालिम लिएँ । योसम्बन्धी सबै जान्नुपर्ने, बुझ्नुपर्ने, सेफ्टीको प्रोटोकल परीक्षा दिएपछि स्काफोल्डिङको लाइसेन्स पाएँ,’ उनले भने, ‘त्यसपछि मात्रै तेल तथा ग्यास क्षेत्रभित्रको स्काफोल्डिङमा काम गर्न पाइन्छ ।’

स्काफोल्डिङलाई कडा कामका रूपमा लिन्छ । बिहान ४ बजे साइटमा पुग्न तीन बजे नै उठेर तयार हुनुपर्ने हुन्छ । काम सुरु हुनुअघि मिटिङ हुन्छ । कसले कहाँ के गर्ने भनेर कामको बाँडफाँट हुन्छ । सुपरभाइजरले त्यस दिन लालसिंहको टोलीलाई ‘कन्फाइन्ड स्पेस’ (ट्यांकीभित्र) स्काफोल्डिङ खोल्ने जिम्मा दिए ।

ट्यांकीभित्रको कामलाई निकै जोखिमपूर्ण मानिन्छ । खतराको हिसाबले यस्तो कामलाई ‘रिस्क टु’ मा राखिन्छ । त्यसमाथि अत्यधिक ताप ‘हिट स्ट्रेस’ त छँदै छ ।


‘कन्फाइन्ड स्पेस’ प्रवेश गर्न अनुमति अनिवार्य मानिन्छ । सुरक्षा मापदण्डहरू पूरा गरेपछि मात्र प्रवेश अनुमति दिइन्छ । ‘कन्फाइन्ड स्पेसभित्र चार वटै भित्ताहरू बन्द हुन्छन् । मान्छे छिर्ने सानो प्वाल हुन्छ । ढकनी लगाएर बन्द इनारभित्र पसेजस्तै हुन्छ । कतिखेर कहाँबाट विषालु ग्यास (एचटुएस) चुहिन्छ पत्तो हुँदैन,’ उनले भने, ‘त्यहाँभित्र हावाको मात्रा न्यून हुन्छ, निसास्सिएको महसुस हुन्छ । गर्मी अत्यधिक हुँदा हिट स्ट्रेसका कारण बेहोस हुने, हातखुट्टा बटारिनेजस्ता समस्या देखिन्छन् । भित्रै मरिन्छ कि भन्ने डर लाग्छ ।’

ट्यांकीभित्र जानुअघि लालसिंहसहितका श्रमिकले उपकरण बोक्छन् । उद्धारका लागि स्ट्रेचर, हावामा कुन ग्यास मिसिएको छ भनेर थाहा पाउन मल्टीग्यास डिटेक्टर, अक्सिजनका लागि ‘सेल्फ कन्टेन्ड ब्रिथिङ अपरेटस’ (स्काबा), दुई वटा अक्सिजन सिलिन्डर, सिट्ठी, हार्नेस, ट्राइपड आदिसहित तयारी राखिएको थियो । ‘कोही भित्र बेहोस भइहाल्यो भने त्यत्तिकै जान मिलेन । पहिला आफ्नै सुरक्षाको सुनिश्चित गर्नुपर्छ । त्यसका लागि दुई वटा अक्सिजन सिलिन्डर अनिवार्य बोक्नुपर्छ,’ उनले भने, ‘आपत् परेको जानकारी दिन सिट्ठी, खस्नबाट जोगिन हार्नेस र मान्छेलाई तान्न ट्राइपड बोक्छौं ।’

लालसिंहका अनुसार यो ग्यास र तापक्रमसँगको लडाइँ हो । कार्यक्षेत्रअनुसारको जोखिम फरक–फरक हुने उनले बताए । बिहान ६ बजेसम्म उनीहरूले तयारी सकेका थिए, तर अनुमति लिएका थिएनन् । अनुमतिबिना भित्र छिर्न पाइँदैन ।

६ बजेपछि तापक्रम बिस्तारै उकालो लाग्न थाल्यो । ट्यांकीभित्र जाने अनुमति आउन ढिलो भएपछि सुपरभाइजरले टोलीलाई तेल जम्मा हुने ट्यांकीमा बनाइएको स्काफोल्डिङ खोल्न लगाए । त्यो काममा ११ जना नेपाली संलग्न थिए । तीन जनाले खोल्न थाले, अरूले पाइप समात्ने, गाडीमा हाल्ने गरे । स्काफोल्डिङ खोल्दा ७ः३० बजेको थियो ।

त्यसको केहीबेरमा वर्क परमिट आयो । तर, घाम चर्किसकेको थियो । पसिनाले मोजासम्म भिज्ने अवस्था थियो । ‘कन्फाइन्ड स्पेस’का लागि लालसिंहको नेतृत्वमा विरहम लिम्बू, गुञ्जामान तामाङ, कृष्णबहादुर तामाङ, विकास मोक्तान, प्रकाश बोहरा, मुकेश झा, शिव खुलाल र गाडी चालक ऋषिराज पन्त तोकिए । सबैभन्दा खतरा (रिस्क टु) मानिएको ठाउँमा उनीहरू पुगे । लालसिंह ‘जब वाचर’ को भूमिकामा थिए । संगीत कुमार ‘परमिट रिसिभर’ को भूमिकामा थिए ।

उनीहरूले ‘कन्फाइन्ड स्पेस’ मा ग्यास रहे–नरहेको परीक्षण गरे । अक्सिजन २०.७ पीपीए, कार्बनडाइअक्साइड शून्य, हाइड्रोजन सल्फाइड (एचटुएस) शून्य देखियो । अर्को काम प्रज्ज्वलनशील ग्यासको न्यूनतम लिमिट (एलइएल) ग्यासको मापन गर्नु थियो । परीक्षण गर्दा त्यो जोखिमभन्दा तलै थियो । फलामको काममा सानो झिल्को निस्किँदा समेत आगो लाग्न सक्ने भएकाले एलईएलको स्तर मापन गर्नु अनिवार्य मानिन्छ । एचटुएस ग्यासले मान्छे मृत्यु भएका घटना पर्याप्त छन् ।

ग्यास डिटेक्टरलाई डोरीको मद्दतले भित्र छिराएर परीक्षण गर्दा एसटुएस र कार्बनडाइअक्साइड शून्य देखियो । दुवै ग्यासको चुहावट नदेखिएपछि को भित्र छिर्ने र कोही बाहिर बस्ने तय गरियो । विरहम लिम्बू, गुञ्जामान तामाङ, कृष्णबहादुर तामाङ र विकास मोक्तान भित्र छिरे । उद्धारको तयारीमा प्रकाश बोहोरा, मुकेश झा, शिव खुलाल बाहिर तयार रहे । ड्राइभर पन्त गाडीमै कुरिरहे ।

कन्फाइन्ड स्पेसभित्र बनाइएको स्काफोल्डिङको संरचना खोल्नु थियो । एक्कासि भुइँमा नबजारियोस् भनेर हार्नेस लगाएर पालैपालो भित्र जान थाले । लालसिंह कमजोर भएको महसुस भएको थाहा पाउनेबित्तिकै तुरुन्तै खबर गर्नु भन्दै साथीहरूलाई सम्झाइरहेका थिए । भित्र स्काफोल्डिङ खोल्ने क्रम सुरु हुँदै थियो, वाप्को कम्पनीका सुपरभाइजर आएर ‘वर्क परमिट’ मागे । लालसिंहले अनुमति देखाए ।

तर, सुपरभाइजरले काम गर्ने अनुमति दिएनन् । त्यहाँभित्र भल्भ फेर्न बाँकी रहेछ । तीन इन्चको भल्भ लगाउनुपर्नेमा ५ इन्चको लगाइएको रहेछ । जसका कारण तेल तान्न प्रेसर नपुगेको भन्दै सुपरभाइजर आइपुगेका थिए । भित्र काम गरिरहेका चार जनालाई नै बाहिर बोलाए । भल्भ नफेरेसम्म लालसिंहहरूको काम रोकियो ।त्यतिबेलासम्म बिहानको ८ बजेर ३० मिनेट भइसकेको थियो ।

उनीहरू नजिकै घाम छल्न बनाइएको छहारीमा गएर आराम गर्न थाले । यो ठाउँ श्रमिकहरूलाई सुस्ताउन पनि बनाइएको हो । त्यहाँ २५–२५ लिटरको पानीको जार राखिएको थियो । तापक्रम बढ्दै गएपछि हरेक १५–१५ मिनेटमा एक गिलास पिउनुपर्ने नियम छ । तर, यसलाई अधिकांशले पालना गरेको देखिँदैन । बिहानै गर्मीसँगै तातो हावा त्यत्तिकै बहिरहेको थियो ।

खुला मरुभूमिमा चलेको हावामा बालुवाका कणहरू पनि मिसिन्छन् । एकातिर तातो घाम, अर्कोतिर धूलो मिसिएको हावाले आरामसँग बस्ने अवस्था थिएन । खाना ल्याएकाहरू खाना खान गाडीभित्र गए । अधिकांशले रोटी र तरकारी ल्याएका थिए ।


अर्को टोलीले एक घण्टाभित्र भल्भ फेरिदियो । त्यसपछि लालसिंहहरूको पालो आयो । भित्र छिर्ने बेलामा फेरि ग्यासको परीक्षण भयो । सबै स्थिति सामान्य देखियो । त्यसपछि श्रमिकहरू भित्र छिर्न थाले । लालसिंह ट्यांकीबाट भित्र छिर्ने प्वालमा बसेर तल हेरिरहेका थिए । छिनछिनमा वाकीटकीबाट सोधपुछ गरिरहेका थिए । खोल्दै गरेको स्काफोल्डिङलाई बाहिर निकालिरहेका थिए । त्यहाँ पानी नपिउन भनिरहेका थिए । ‘भित्र पानी पिउन रिस्क हुन्छ । एचटुएस पानीसँग मिसिएर आएको हुन्छ,’ उनले भने ।

बाहिरभन्दा भित्र तीन गुणा गर्मी हुन्थ्यो । अत्यधिक पसिना बगेर कतिखेर ढल्छ भन्ने जोखिम उच्च हुन्थ्यो । १० बजेतिर फेरि अर्को टिम आइपुग्यो । उनीहरूले पाइपमा फर्म हाल्न छुटेछ भन्दै खोलिसकेको स्काफोल्डिङ फेरि गाँसिदिन भने । ‘हामी सक्दैनौं । बिहानदेखि हाम्रो काममा बाधा पुगिरहेको छ । सुपरभाइजरलाई भन्नुस्,’ लालसिंहले टोलीलाई भने ।

टोलीले सुपरभाइजरलाई फोन गर्दै अनुरोध गर्‍यो । सुपरभाइजरको निर्देशनपछि लालसिंहको टोलीले फेरि खोलिसकेको स्काफोल्डिङ जोड्न थाले । त्यसपछि फेरि बाहिर आएर आराम गर्न थाले । अर्को टोलीले १५ मिनेटमै फर्म हालेर निस्किए । त्यसपछि फेरि चारै जना भित्र छिरे । उनीहरूले सतर्कतापूर्वक स्काफोल्डिङ खोल्दै गए । सबै खोल्न एक घण्टा जति लाग्यो । त्यसपछि सबै फलामका डन्डी निकालेर बाहिर निस्किए । ९ जना नै मिलेर गाडीमा लोड गरे । सामान छोडिएको छ कि छैन भनेर जाँच गरे ।

‘कन्फाइन्ड स्पेस’ को ढकनी लाग्दा १२ बजिसकेको थियो । उनीहरू त्यसपछि क्याम्पतिर फर्के । ‘जुनदेखि सेप्टेम्बर महिनासम्म ड्युटीको बीचमा हामीलाई ब्रेक हुँदैन । खानाका लागि छुट्टै समय छुट्टाइएको हुँदैन । फुर्सद मिल्ने बेला खाने हो,’ लालसिंहले भने, ‘अब हामी क्याम्पमै गएर खाना पकाएर खाने हो ।’


लालसिंह र उनका साथीहरू हरेक दिन यस्तो जोखिम मोलेर ड्युटी गरिरहेका छन् । वाप्को आयोजनाभित्र लालसिंहहरूले जस्तै जोखिम मोलेर स्काफोल्डिङमा काम गर्ने नेपाली श्रमिक तीन हजारभन्दा बढी छन् । ‘कहिलेकाहीँ म किन जीवनसँग खेलिरहेको छु भन्ने पनि लाग्छ । ज्यानको बाजी लगाएर कमाइरहेको छु,’ लालसिंहले भने, ‘यो सबै परिवारका लागि हो ।

गाउँमा बोल्न नसक्ने बाबुआमा हुनुहुन्छ । हामी दुई दाजुभाइ भाग्यमानी छौं । हाम्रो बोली फुटेको छ । मेरो यही कामले बाबुआमाको दैनिक गुजारा चलिरहेको छ । यसमै म खुसी छु ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विदेशमा रहेका नेपाली कामदारको पहिलो मासिक आम्दानी ५४ हजार ४०३ रुपैयाँ बराबर रहेको सरकारी सर्वेक्षणले देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को प्राविधिक सहयोगमा नेपालमा पहिलो पटक आप्रवासी भर्ना लागत सर्वेक्षण २०२३ सञ्चालन गरेको हो । सो सर्वेक्षणको नतिजा कार्यालयले मंगलबार सार्वजनिक गरेको हो । सर्वेक्षणमा विदेश पुगेर नेपाल फर्किएका आप्रवासी कामदारसँग ...
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...
: साउदी अरब सरकारले ३३ जना नेपाली कैदीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले साउदी अरब सरकारको यस निर्णयप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण ...
: दक्षिण कोरियामा पछिल्लो एक महिनाको अवधिमा तीन नेपालीले विभिन्न घटनामा ज्यान गुमाएका छन् । २०८३ जेठ १५ देखि असार १३ सम्मको अवधिमा तीन जनाको मृत्यु भएको कोरियास्थित नेपाली राजदूतावासले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–१०, प्रकाशपुर स्थायी घर भएका प्रकाश राई र ओखलढुंगाको मोलुङ गाउँपालिका–७ स्थायी घर भएका २९ वर्षीय गणेश थापाको सवारी दुर्घटनामा ...
। कतारको रास लाफान औद्योगिक क्षेत्रस्थित बरजान ग्यास आपूर्ति केन्द्रमा भएको विस्फोटमा घाइते भएका पाँच नेपालीमध्ये तीन जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार राति भएको विस्फोट र त्यसपछिको आगलागीमा १३ जनाको मृत्यु हुनुका साथै ६६ जना श्रमिक घाइते भएका थिए । मृत्यु हुनेमध्ये १२ जना भारतीय र एक जना पाकिस्तानी नागरिक रहेका छन् । परराष्ट्र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम