: झापाको कचनकवलमा सिचाईंको मोटरमा तार जोडने क्रममा करेन्ट लाग्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ सितागढी निवासी ५५ वर्षीय अरुण राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज बिहान उनको शव घर नजिकैको खेतबारीमा फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको मृत्यु मोटरमा तार जोडने क्रममा भएको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । मृतक राजवंशीको दुवै छोरा वैदेशिक रोजगारीमा रहेका छन् भने श्रीमती घरेलु झगडाका कारण माइतीघर गएकी थिइन्। उनी घरमा एक्लै बस्दै आएका थिए।