— पाँचथरको फालेलुङ गाउँपालिका वडा नं. ३ र ५ लाई सिमाना छुट्याएर बग्ने हेवांखोलास्थित सासुटारमा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ । यहाँ निर्मित पक्की पुल २०८० असार २ गते आएको बाढीले बगाएको थियो ।
पक्की पुल बगेपछि गाउँपालिका र स्थानीयको साझेदारीमा निर्माण गरिएको अस्थायी डाइभर्सनका भरमा रहेको यो खोलामा कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा बेलिब्रिज निर्माण गरिएको हो ।
बेलिब्रिज ४० मिटर लामो छ । यो बेलिब्रिज निर्माणका लागि कोशी प्रदेश सरकारले १ करोड ४० लाख ९ हजार ४ सय २० रुपैंयामा जिआर जेभी उदयपुरसँग ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख शैलेन्द्र सिंहले जानकारी दिए ।
यहाँ बेलिब्रिज नबन्दा फालेलुङ गाउँपालिका ५ र ६ नम्वर वडाका नागरिकलाई गाउँपालिका केन्द्र थकेपुङ जान समस्या थियो ।
यस्तै ५ नम्बर वडाका नागरिकलाई सदरमुकाम फिदिम आउनसमेत कठिन भइरहेको अवस्थामा यो बेलिब्रिजले केही राहत दिएको स्थानीय वडाध्यक्ष भरतकुमार खपाङ्गीले जानकारी दिए ।