: उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेस र एमालेबीच भएको सहमतिका कारण मुलुकमा राजनीतिक स्थायीत्वको वातावरण बन्दै गएको बताएका छन्।
बिहीबार नेपाली कांग्रेस रामेछापले आयोजना गरेको कार्यक्रममा सिंहले दुई दलबीच भएको सात बुँदे सहमतिका कारण ६–६ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको र मुलुकमा राजनीतिक स्थायीत्वको वातावरण बन्दै गएको बताएका हुन्। उनले आफूहरू सत्तामा जान र मन्त्री वा प्रधानमन्त्री हुनमात्रै सातबुँदे सहमति नभएको स्पष्ट पारे।
कांग्रेस नेता समेत रहेका सिंहले पार्टीलाई विधिविधान अनुसार नै संस्थागत गरेर अघि बढाउनुपर्नेमा जोड दिए । उनले कांग्रेसलाई विभिन्न चुनौति सामना गर्न सक्ने गरि पार्टीको नेतृत्व गर्ने चाहना रहेको बताए।
सिंहले आफू पार्टी सभापति र प्रधानमन्त्रीबाहेक सबै पदमा पुगेकाले आफूसँग भएका अनुभव सबैलाई बाड्दै पार्टीलाई बलियो बनाउन लाग्ने जिकिर गरे।